अपडेट 
२०७९ पुष २०, बुधबार ०७:४९

मधेश प्रदेश सरकारको पुनः नेतृत्व लिने दाबी गरिरहेको जनता समाजवादी पार्टी (जसपा)लाई दलका नेता चयन गर्न सकस भएको छ । पार्टी भित्रका दलका नेतामा आकांक्षी बढी देखिएपछि जसपाले अहिलेसम्म दलको नेता चयन गर्न सकेको छैन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिएको जसपाले मधेश प्रदेशका दलका नेता र संघीय सरकारमा सहभागी हुने वा नहुने विषयमा पार्टीभित्र गम्भीर छलफल भए पनि अहिलेसम्म कुनै निष्कर्ष निस्कन सकेको छैन । पार्टीले संघका दलका नेतामा रामसहाय यादवलाई सर्वसम्मतले चयन गरिएपनि प्रदेशमा आकांक्षीहरु बढी भएकोले अहिलेसम्म दलका नेताको चयन हुन नसकेको जसपाका साँसदहरुको भनाइ छ ।

दलका नेतामा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोज कुमार यादव, प्रदेश सभामा दोस्रो पटक निर्वाचित रामअशिष यादव, सरोज कुमार सिंह कुशवाहा, समानुपातिक कोटामा निर्वाचित मनिष सुमन र राजकुमार गुप्ता रहेका छन् । पार्टी भित्र दलका नेताहरुमा आकांक्षी बढी देखिएपछि जसपाका केन्द्रीय सदस्य तथा जनकपुरधाम उपमहानगरपालिका पूर्व मेयर लालकिशोर साहको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समितिसमेत चयन गरेको छ । तर समितिले अहिलेसम्म दलका नेताको छनोटका लागि कुनै कार्य अगाडि बढाउन सकेको छैन । जसपाका एक नेताका अनुसार दलका नेता तोक्ने विषयमा यसपटक पार्टी अध्यक्ष उपेन्द्र यादव तटस्थ बसेकाले अहिलेसम्म दलको नेता तोक्न सएिको छैन । यसपटक अध्यक्ष यादवले चुनावी प्रक्रियामै दलको नेता टुंगो लागोस् भन्ने मनसायमा अहिलेसम्म रहेको स्रोतको दाबी छ । यसैबीच,प्रदेश सभामा जसपाको प्रत्यक्षमा ९ र समानुपातिक ७ गरी १६ सिट रहेको छ । सात दलीयमा सहभागी रहेको जसपाले मधेश प्रदेशमा सरकारको नेतृत्व पाउने प्रवल सम्भावना रहेको छ । संसदीय व्यवस्थामा दलका नेताको नेतृत्वमा सरकारमा जाने सम्भावना बढी हुने गरेको छ । यस्तो अवस्थामा जसपाका साँसदहरुको दलको नेताप्रति आकर्षण बढी देखिएको छ ।

जसपाका एक साँसदका अनुसार कतिपय साँसदले अहिले दलको नेतामा दाबी गरे पनि उनीहरुको दृष्टि भने मन्त्रीमा रहेको छ । ‘अहिले दलका नेतामा दाबी गरे, त्यसपछि पार्टीले मन्त्री, त्यो पनि नभएर राज्यमन्त्री सम्म त अवश्यक दिन्छ भनेर दलका नेतामा दावी गरिरहेका छन, एक साँसदले भने,‘ अहिले नै बार्गेनिङ्ग गर्न पनि कतिपय साँसदले नेतामा दाबी गरेका छन् ।’ दलका नेतामा धेरै साँसदले दाबी गरिरहेका छन,उनले भने,‘ तर दुई÷तीन जना बाहेकले दलको नेताको लागि प्रस्तावक र समर्थक पनि पाउदैनन् ।’ मधेश प्रदेशमा दलका नेतामा आधि दर्जन साँसदहरु आकांक्षी रहे पनि वर्तमान मुख्यमन्त्री लालबाबु राउत र निवर्तमान प्रदेश सभामुख सरोज कुमार यादव मुख्य प्रतिस्पर्धी रहेका जसपाका साँसदहरु बताउँछन् । तत्कालीन राजपाबाट प्रदेश सभामुख बनेका सरोज कुमार यादव जसपा विभाजन भइ लोसपा छुट्टिएपछि उनी जसपामै बसे । यादवले पार्टी अध्यक्ष उपेन्द्र यादवले आफूलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि मात्रै जसपामा बसेको दावी गर्दै आएका छन् । तर यादवको दावीलाई जसपाकै साँसदहरुले खण्डन गर्दै आएका छन्ल । जसपामा बसेर यादवले आफ्नो सभामुखको पद जोगाएको जसपाका एक साँसदले बताए ।

जसपाका एक नेताका अनुसार केही दिन अघि यादवले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई आफूलाई दलको नेताको रुपमा चयन गर्न प्रस्ताव गरेका थिए । तर अध्यक्ष यादवले, यादवको सो प्रस्तावलाई अस्विकार गर्दै दलको नेताको निर्णय प्रदेशका संसदीय दलले गर्ने भनेर फर्काए । यादवको एक समर्थकले यस पटक अध्यक्ष यादवले निवर्तमान सभामुख यादवलाई संसदीय दलको नेता बनाउने दाबी गरे । ‘जसपालाई यादवको पार्टी भनेर बदनाम गरिन्छ, उनले भने,‘ पद दिने बेलामा अन्य जातिले अवसर पाउने गर्छन,त्यसकारण यस पटक अध्यक्षजीले यादवलाई दलको नेता बनाउनेमा हामी ढुक्क छौ ।’ यता, मुख्यमन्त्री लालबाबु राउतका समर्थकहरुले पुनः दलका नेतामा राउत नै चयन हुने दाबी गर्दै आएका छन् । अन्य उम्मेदवारभन्दा राउत पार्टीका वरिष्ठ नेता रहेको र पछिल्लो पाँच वर्ष सफल रुपमा प्रदेश सरकार संचालन गरेकोले यस पटक पुनः दलको नेता हुने उनीहरुको भनाइ छ । मुख्यमन्त्री राउत पार्टीका कार्यकारिणी समिति र राजनीतिक समितिका सदस्य रहेका छन् । । यादव भने पार्टीका केन्द्रीय सदस्य छन् ।

मुख्यमन्त्री राउत निकट एक साँसदले भने,‘ सर्वसहमतिमा दोस्रो पटक उहाँ नै दलका नेतामा चयन हुने र त्यो सम्भव नभए, चुनावी प्रक्रियाबाट पनि उहाँ नै चुनिने हो ।’ आफूहरुसंग् ८० प्रतिशत साँसदको समर्थन रहेको उनले दाबी गरे । यता पूर्व सभामुख सरोज कुमार यादव पक्षधर साँसदहरुले राउत पूर्णतः असफल भइसकेकोले यादव नै दलका नेतामा चयन हुने ठोकुवा गरेका छन् ।

Comment

Related News

Latest News

Trending News