अपडेट 
२०७९ पुष २०, बुधबार ०७:५४

जनता समाजवादी पार्टी(जसपा)को राजनीतिक समितिले सरकारमा सहभागी हुन सरकारको न्यूनतम साझा कार्यक्रममा एजेण्डा समावेश हुनुपर्ने निर्णय गरेको छ ।

न्यूनतम कार्यक्रममा जसपाको एजेण्डालाई समावेश गरिए सरकारमा सहभागी हुने निर्णय भएको सहभागी एकजना नेताले जनाए । सम्मानजनक रुपमा शक्ति बाँडफाँट भए सरकारमा जाने निर्णय गरेको जसपाले त्यसो नभए सरकारलाई बाहिरबाट समर्थन गर्ने निर्णय गरेको छ । आमनिर्वाचन सम्पन्न भएपछि पहिलो पटक बसेको राजनीतिक समितिको बैठकमा अधिकांश सदस्यहरुले सरकारमा सहभागी हुनुपर्ने धारणा राखेको बताइएको छ । सरकारमा जानुपर्ने पक्षमा अधिकांश सदस्यहरु देखिएपछि सम्मानजनक शक्ति बाँडफाँट र सरकारको नीति तथा कार्यक्रममा परिवर्तनका एजेण्डाहरु समावेश भए सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

पार्टी प्रवक्ता मनिष कुमार सुमनले जसपाको मुद्दालाई सरकारले न्यूनतम साझा कार्यक्रममा समावेश गर्नुपर्ने निर्णय भएको बताए । बैठकमा अध्यक्ष उपेन्द्र यादवले मौखिक प्रस्तुत गरेको प्रतिनिधि र प्रदेशसभा निर्वाचन सम्बन्धी प्रतिवेदनमा नेकपा एमालेसित गरिएको चुनावी तालमेल उपयुक्त रहे पनि पार्टीको आन्तरिक कारणले चुनावमा अपेक्षित नतिजा प्राप्त हुन नसकेको बताए । उनले कुनै नेताको नाम नलिईकनै आफ्नो पराजयमा समेत पार्टीका नेताहरुको भूमिका रहेको आरोप लगाए । कतिपय क्षेत्रमा पार्टीका नेताहरु खुलेर विरोधीलाई सघाए भने कतिपय क्षेत्रमा आन्तरिक रुपमा नै पार्टीका नेता विरुद्ध सक्रिय भूमिका निर्वाह गरेको अध्यक्ष यादवको प्रतिवेदनमा उल्लेख छ । उनले एमालेसितको तालमेलमा कुनै कमी नरहेको बताउँदै भने, तर आफ्नो पार्टी(जसपा)मा समन्वय नहुँदा चुनावको परिणाम पक्षमा आउन सकेन् । एमालेका नेता, कार्यकर्ताहरु एकजुट भएर लागेकै कारण उनीहरुले अपेक्षा भन्दा राम्रो नतिजा ल्याएको जनाउँदै उनले भने, हाम्रो सहयोगको एमालेले पूरा उपयोग गरे पनि हामी चुक्यौं । संघीय परिषद्का अध्यक्ष अशोक राईले पनि एमालेसितको तालमेलले नै हालको नतिजा प्राप्त भएको दाबी गरे । उनले एमालेसित तालमेल नभएको भए चुनावमा अहिलेको भन्दा पनि खराब अवस्था हुने बताए । बैठकमा एमालेसितको तालमेललाई पक्षपोषण गर्ने विरुद्ध पनि सदस्यहरुले धारणा राखेका थिए ।

बैठकका सहभागीहरुले एमालेसित चुनावमा गरिएको तालमेलमा उनीहरुबाट धोका भएको बताए । कयौं क्षेत्रमा एमालेकै कारण चुनावको परिणाम विपरीत भएको उनीहरुले धारणा राखेको सहभागी एकजना सदस्यले जनाए । चुनावमा सहयोग नगर्ने कार्यकारिणी सदस्य, राजनीतिक समिति सदस्य, केन्द्रीय सदस्यहरुलाई कारबाही गर्न बैठकमा सहभागीहरुले सुझाव दिए । अनुशासन उल्लंघन गरेको भन्दै धनुषाबाट कार्यकारिणी सदस्य रहेका गजाधर यादवलाई पार्टीको बैठकमा बोलाउन छाडिएको छ । बैठकबारे यादवलाई पार्टीले सूचना दिन बन्द गरेको स्रोतले जनाए । जसपाले नेकपा एकीकृत समाजवादी पार्टीसित एकता गर्ने विषयमा छलफल चलिरहेको बेला राजनीतिक समितिको बैठकले राजेन्द्र श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोंग र गोविन्द चौघरी सदस्य रहेको ३ सदस्यीय वार्ता समिति गठन गरेको प्रवक्ता सुमनले बताए । उनले जनाए अनुसार माघ मसान्त भित्र पार्टीका निष्कृय संगठनहरूलाई क्रियाशील बनाउने र विगतमा सम्पन्न भएका निर्वाचनहरूमा पार्टीका आघिकारिक उम्मेदवार विरूद्घ उम्मेदवारी दिने , अन्तर्घात गर्नेलाई तत सम्बन्धित समितिहरूले विधान अनुसार कारबाही अधिकार दिने निर्णय बैठकले गरेको छ ।

संघीय परिषद् र केन्द्रीय समितिका सदस्यहरूको हकमा जाँचबुझ/छानविन गरी कारबाहीको प्रक्रिया अगाडि बढाउन शिवलाल थापा मगरको संयोजकत्वमा देव बहादुर दुर, बालकिशोर यादव, अशोक अग्रवाल र प्रमिला यादव सदस्य रहेका छन् । छानविन समितिले माघ मसान्त भित्र रिर्पोट दिने निर्णय गरिएको छ । त्यसैगरी,विधान अधिवेशनका लागि पार्टीको विधानको मस्यौदा गर्न विधान मस्यौदा समिति अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा गठन गरिएको छ । सो समितिको सदस्यहरुमा राजेन्द्र श्रेष्ठ , रकम चेम्जोंग , शुशिला श्रेष्ठ,शिवलाल थापा मगर,लालबाबु राउत , दीपेन्द्र झा , दीपक राई , पंचलाल महर्जन , वीरेन्द्र ठाकुर र भगवती सुवेदी रहेको प्रवक्ता सुमनले बताए ।

जसपामा चरम असन्तुष्टि
जसपाको राजनीतिक समितिको बैठकमा नेतृत्वप्रति चरम असन्तुष्टि देखिएको सहभागी एकजना नेताले जनाएका छन् ।

संघीय परिषद अध्यक्ष रहेका सांसद अशोक राईलाई संसदीय दलको नेता किन नबनाएको भन्ने व्यापक आवाज उठेको थियो । दलको नेतामा रामसहाय यादव सर्वसम्मतिले चयन भएका छन् ।तर राई नेता बन्ने चाहना राखेका थिए ।दलको बैठकमा उनको पक्ष कमजोर देखिएपछि यादवलाई सर्वसम्मत नेता बनाइएको थियो । अध्यक्षको क्रियाकलापबाट राष्ट्रिय सभा सदस्य एवम् पूर्व मन्त्री मृगेन्द्रकुमार सिंह यादव, पार्टीमा प्रभावशाली नेतृ रेणु यादव लगायतका नेताहरु असन्तुष्ट देखिएका छन् । बैठकमा उनीहरुको असन्तुष्टि देखिएको सहभागीहरुले जनाए ।राई लगायत केही सांसदहरुले पार्टी विभाजन गरी अलग्गिन सक्ने सम्भावना देखिएको छ ।

Comment

Related News

Latest News

Trending News