अपडेट 
२०७९ पुष २०, बुधबार ०८:५६

नेपाल भारत खुला सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणसहित शान्ति सुरक्षाको विषय पहिलो प्राथमिकतामा राखेर काम गर्ने धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड् काले प्रतिवद्धता व्यक्त गरेका छन् ।

मंगलवार पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले तस्करी गर्न बिचौलियाहरुले गरेको सेटिङ्ग पनि तोड्ने प्रष्ट पारे । ‘नेपाल सरकारको राजस्वमा गिरावट आएको कुराले पनि तस्करी भइरहेको संकेत गर्छ,’उनले भने,‘यस प्रकारको गतिविधि नियन्त्रण भए अपराध कम हुनुको साथै राजस्वमा पनि वृद्धि हुन्छ । त्यसकारण यो मुद्दासहित शान्ति सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्छु ।’ कानून नबुझ्ने व्यक्तिहरु प्रायः अपराधमा संलग्न रहेको हुनाले जनचेतना फैलाउने कामलाई पनि तीव्रता दिइनु पर्ने उनले बताए । सीमामा सुरक्षा चेकजाँचमा कडाई गर्न प्रहरी सक्रीय राख्ने उनले स्पष्ट पारे । ‘प्रहरीले सीमामा नै अपराध गर्नेहरूलाई रोकिदिने हो भने अर्को अपराध हुनबाट जोगिन्छ,’उनले प्रष्ट पारे,‘तस्करी नियन्त्रणलाई राजश्वसँग मात्र जोडेर हेर्नु हुँदैन, यो शान्ति सुरक्षासँग पनि जोडिएको विषय हो, अवैध रूपमा कमाएको पैसा अवैध तरिकाबाटै खर्च हुने गर्छ, अन्ततः यसले नै अपराध निम्त्याउँछ ।’ जनकपुरधाम नगर क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि आवश्यक निर्देशन दिइसकेको भन्दै उनले थप सुदृढ पार्न सबैको सहयोगमा काम गर्ने उल्लेख गरे । काज सरुवा भएर आएको दश दिनभित्रै रामानन्द चोकको ट्राफिक व्यवथापन चुस्त पारिएको बताउँदै उनले अस्पतालसहित मधेश प्रदेशको राजधानीको छाडा चौपाया र ट्राफिक व्यवस्थापनका लागि ठोस योजना बनाएर काम गर्नुपर्ने बताए । सबै क्षेत्रका अगुवासँग परार्मश गरिरहेको र उनीहरुको सुझाव अनुसार कार्य योजना बनाएर काम गर्ने जानकारी समेत उनले दिए । लागू औषधका ओसार–पोसार र खरिद बिक्री रोक्न सबैले आफ् नो दायित्व पूरा गर्नुपर्ने आवश्यक्ता रहेको उनले औल्याए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सूरक्षा कार्यालय काठमाण्डुबाट जिल्ला प्रहरी कार्यालय धनुषामा काज सरुवा भई खड्का धनुषामा आएका हुन् । यसअघि धनुषाका प्रहरी प्रमुखमा वसन्त रजौरे थिए । यहाँ १४ महिना बसाईपछि उनी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा सरुवा भएका छन् ।

Comment

Related News

Latest News

Trending News