अपडेट 
२०७९ पुष २०, बुधबार ०८:५८

सामान्यतया मधेश प्रदेशमा पर्यटनको धेरै सम्भावना छैन भनिन्छ । केही हदसम्म यो सही पनि होला तर यो पूर्ण सत्य भने होइन । मधेश प्रदेशमा सबै किसिमको पर्यटनको सम्भावना रहेको छ । सबै किसिमको पर्यटन भन्नुको अर्थ वर्तमानमा प्रचालनमा रहेको पर्यटकीयस्थलको निर्माण तथा प्रचार प्रसार, नदी किनारको संरक्षण, धार्मिक क्षेत्रहरुको पर्यटकीय दृष्टिकोणले विकास तथा पर्यटकमैत्री होटल र लजहरुको विकास । यसै गरी हरेक पर्यटकी क्षेत्रमा नजिकका अन्य पर्यटकीय क्षेत्रहरुको बारेमा जानकारी दिनु उचित हुन्छ । मधेशका पर्यटकीय क्षेत्रहरुमा पर्याप्त ठाउँको अभाव देखिन्छ भने अर्कोतिर नवयुवा समुदायको चाहना र आवश्यकता बमोजिम सेल्फी लिने विभिन्न सिनारियो अर्थात् दृश्य र क्षेत्रको निर्माण गरिन सकिएको छैन । मानिसलाई एक दुई घन्टा समय छ भने त्यसलाई शान्तिपूर्वक बिताउने ठाउँको अभाव अब महसुस हुन थालिएको छ । यस प्रकारको व्यवस्था र व्यवस्थापन सबै जसो स्थानीय तहमा सम्भव छ । अधिकांश स्थानीय तहले आफ्नो सीमा क्षेत्रमा पर्यटकीय क्षेत्रको विकासको लागि खासै पहल गरेको देखिँदैन । मधेश प्रदेशमा सबैभन्दा बढी पहल निसन्देह सर्लाहीको बागमती नगरपालिकाले गरेको छ । केही वर्षमा बागमती नगरपालिकाले भरततालको विकास गरेर प्रदेशमा मात्र नभई भारतको विभिन्न जिल्लाको पनि पर्यटक तान्न सफल भएको छ ।

बागमती नगरपालिकाले आन्तरिक आम्दानीको फराकिलो बाटो निर्माण गरिसकेको छ र यस क्षेत्रमा थप पहल गरिरहेको छ । पर्यटन क्षेत्रको विकासले सम्बन्धित ठाउँमा रोजगारीको पनि विकास हुन्छ । स्थानीयले अनेक किसिमले रोजगारी पाइरहेका हुन्छन् । स्वरोजगार हुनेको संख्या धेरै हुन्छ । स्थानीय रुपमा यातायातबाट पनि कमाउने धेरै हुन्छन् । पसल पनि संचालन हुन्छ । खाजा र खानामा पनि धेरैले कमाउने हुन्छन् । यसै गरी कपडादेखि फलफुल तथा अन्य व्यापार र व्यवसाय चल्ने हुन्छ । स्थानीय कला र संस्कृतिको पनि प्रवद्र्धन हुने सम्भावना रहन्छ । स्थानीय तहले चाहने हो भने पर्यटकहरुको लागि स्थानीय कला र संस्कृतिसित सम्बन्धित विभिन्न प्रस्तुतिको व्यवस्था र व्यवस्थापन गर्न सक्छ । यसको लागि चितवनको सौराहामा देखाइने थारु संस्कृतिलाई एउटा नमुनाको रुपमा लिन सकिन्छ । थारु संस्कृति एउटा उदाहरण मात्र हो वास्तवमा हरेक पालिकाले आफ्नो तहमा पहिलेदेखि चलिआएका संस्कृतिहरुको संयुक्त प्रबद्र्धन गर्ने हो भने निश्चय नै कलाकारहरुले काम पाउने हुन्छन् भने अर्कोतिर स्वस्थ मनोरंजनको विकास हुने पनि हुन्छ । कतिपयले प्रश्न गर्ने गरेका छन् कि हाम्रो समुदायका नवयुवाहरु किन बढी मात्रामा मोबाइल र टिकटकमा हराएका छन् ? वास्तवमा यसको उत्तर पनि यहीँबाट दिन सकिन्छ । अहिले प्रतिभा देखाउने एउटा मंच नै यही सामाजिक संजाल रहेको छ तर यदि स्थानीय तहले ध्यान दिने हो भने साँच्चिकै धेरैको ध्यान यसरी स्वस्थ् मनोरंजनतिर जान सकिने देखिन्छ ।

अहिले स्वस्थ्य मनोरंजनको लागि हामीकहाँ थिएटरको विकास भइसकेको छैन । सिनेमा हलहरु करिब बन्दकै अवस्थामा छन् । गाउँघरबाट नाटकहरु करिब हराइसके । यस अवस्थामा स्थानीय पर्यटनको प्रबद्र्धन गर्न स्थानीय रुपमा पहिलेदेखिका सांस्कृतिक झाँकीहरुको एउटा प्रस्तुति पर्यटकीय स्थलमा देखाइने व्यवस्थित थलोको विकास गर्नु उचित हुन्छ । एउटा व्यवस्थित पर्यटकीय झाँकीस्थल हुन सक्यो र स्थानीय कलाकारहरुले आफ् नो प्रतिभा नियमित रुपमा देखाउने मौका पाउने हो भने कलाकारको उत्पादन तथा रोजगारीको अवसर दुवै एक साथ हुने देखिन्छ । कला र संस्कृतिको सम्मान हुन सक्यो भने पर्यटकहरुले पनि स्वस्थ्य मनोरंजन पाउने मात्र नभई विकासको चौतर्फी क्षेत्रमा सहयोग पुग्ने हुन्छ । पर्यटकीय क्षेत्रहरुको विकासले त्यस ठाउँसित अन्य क्षेत्रका मानिसको पनि नाता जोडिन पुग्छ । अन्य क्षेत्रका मानिसको आवतजावत बढ्ने हुँदा त्यस ठाउँको प्रचार प्रसार अन्यत्रसम्म निरन्तर भइरहन्छ । आखिरमा सबै गतिविधिको फाइदा स्थानीय तहलाई नै पुग्ने हुन्छ । वर्तमान परिवेशमा स्थानीय सरकार तथा प्रदेश सरकारले मिलेर मधेश प्रदेशको विभिन्न ठाउँमा यस्ता पर्यटकीय स्थलहरुको विकास गर्नु आवश्यक छ कि पहिलेदेखि नै विभिन्न अवसरमा छिमेकी भारतीय जिल्लाबाट आउने पर्यटकहरुको मुख्य रोजाइमा मधेश प्रदेशकै ठाउँहरु पर्न सकून् । भाषा तथा संस्कृति र अन्य धेरै कुरा मिल्ने भएकाले छिमेकी जिल्लाबाट आउने पर्यटकहरुलाई यहाँ आइरहन मन लाग्छ । एक दिनमै घुमेर जान सकिने वा एक दुई दिन बसेर यहाँका ठाउँहरुको अवलोकन भ्रमण गर्ने र यहाँ आएर शान्तिको अनुभूति गर्ने हुन्छन् । यदि पर्यटकीय स्थलहरुमा मनोरंजनको माध्यम हुन पुग्यो भने पर्यटकलाई सुनमा सुगन्ध हुने हुन्छ ।

हरेक सानातिना अवसरहरुमा मधेशका मुख्य पर्यटकीय गन्तव्यमा छिमेकी भारतीय जिल्लाका पर्यटकहरुको आगमनको अपेक्षा गरिएको हुन्छ । हो, परदेशी जस्तो पनि नलाग्ने तर वास्तवमा अर्कै देशको हुने । सबै संस्कृति मिल्ने तर अपेक्षा भने नयाँ नयाँ हुने । पर्यटनलाई बढावा दिनको लागि यो अनिवार्य छ । आफ्नो गाउँबाहेक हरेक ठाउँ मानिसका लागि नयाँ हुन्छ र यदि आप्नै गाउँ गतिशील छ भने गाउँमा पनि नयाँ नयाँ संरचनाहरु बनिरहेका हुन्छन् । हेर्दाहेर्दै पाँच दश वर्षमा गाउँको भौतिक अनुहार बदलिएको पनि हुन सक्छ । गाउँलाई गाउँकै रुपमा छाडिदिने हो भने पनि अबको केही दशकमा त्यसले अलग्गै आकर्षण बोक्न थाल्छ । यद्यपि पर्यटनका लागि सबै कुरा व्यवस्थित हुने हो भने राम्रो मानिन्छ । कम्तीमा केही सय मानिसले भुइँमै भए पनि बसेर खाने, रमाइलो गर्ने, नाच्ने, गाउने तथा खाना पकाउने ठाउँ हुनुपर्ने हो । यसै गरी फोहोर व्यवस्थित गर्ने ठाउँसहित पानीको राम्रो व्यवस्था भएको र अलिकति एकान्ततिर हुनुपर्छ । यसै गरी माथि नै भनिसकिएजस्तो फोटो खिच्नको लागि प्राकृतिक दृश्य वा प्राकृतिक जस्तो लाग्ने दृश्य, केही नयाँ किसिमको फोटो आउने ठाउँको विकास वा स्थानीयपना झल्किने केही चिजको आकृति बनाउँदा राम्रो हुन्छ । यसै गरी बालबालिकाको लागि केही खेलौना वा पिङ, चिप्लेटी तथा अन्य केही साधनहरु भइदिए साना बालबालिकाहरु प्नि खूब रमाउन पाउँछन् । एकचोटि पुगेपछि फेरि फेरि जान बालबालिकालाई पनि मन लाग्छ । र, बाहिरका मानिसका लागि त्यहाँका लोकल केही खानेकुराहरु राख्ने हो भने पनि धेरै सजिलो हुन्छ । कतिपय मानिस यस्ता पनि छन्, जो जहाँको जे लोकल हुन्छ, त्यसको स्वाद लिन चाहन्छन् । पर्यटनका मुख्य तीन उद्देश्य हुन्छन् पर्यटकका लागि – स्वाद फेर्ने, ठाउँ हेर्ने र मनोरंजन गर्ने । मनोरंजन गर्नुको अर्थ यो पनि हो कि मानसिक शान्ति पाउने, रिफ्रेस हुने ।

दैनिक कामको बोधबाट अलिक फरक किसिमले काम गर्ने र एक ठाउँमा विभिन्न किसिमका रमाइलो गर्ने जहाँ आफ्नै नजिकका साथीहरु हुन्छन् । सम्भव भयो भने आफ्नो परिवेशभन्दा टाढाको ठाउँमा पनि पुगेर पनि मानिस फर्कन चाहन्छन् । टाढाको ठाउँमा जान खोज्नुमा यही नयाँ ठाउँको अवलोकन भ्रमण गर्नु पनि हो । आजभोलि साहित्यको क्षेत्रमा लाग्नेहरुले नियात्रा वा संस्मरण लेख्न थालेका छन् । यस्तो लेखनले अरुलाई पनि आकर्षित गरेको हुन्छ । सामाजिक संजालमा पोस्ट गरिएका सामग्रीले त एक दुई दिनसम्म धेरैको नजर तानिरहन्छ तर पछि त्यो कता हराउँछ ठेगान हुँदैन । यदि साहित्यकारहरुले कुनै ठाउँको बारेमा लेख्न थाल्छन् र पत्रपत्रिका वा अनलाइनमा प्रकाशित हुन्छ भने त्यसको महत्व धेरै हुन्छ । धेरैले पढ्छन् र धेरै समयसम्म टिकाउ पनि रहन्छ । कहिलेकाहीँ आफ्नो ठाउँको बारेमा कसैले लेखिदिए हुन्थ्यो भन्ने लाग्छ कि लाग्दैन । यदि लाग्दैन भने त्यो ठाउँ अझै आकर्षणको लागि पुगेको छैन । यदि लाग्छ भने अब केही समयमा त्यस ठाउँले विकासको नयाँ गतिमा आफूलाई उभिएको पाउला । हरेक उत्सवमा छिमेकी पर्यटकहरु हामीकहाँ आइरहेका छन् । हरेक वर्ष आउने संख्या र क्रम बढेको छ । केही चर्चित व्यक्तित्वहरु पनि यस्ता उत्सव मनाउन आउने गरेका छन् । यसको विपरीत हामीकहाँबाट यस्ता अवसरमा छिमेकमा जाने काम भने निकै कम हुने गरेको छ । हामी झन् उत्तरतिर गइरहेका छौँ । मधेश प्रदेशका मानिसहरु मुख्य गरी साउन र भदौमा भारतको विभिन्न तीर्थस्थलको यात्रा गर्दछन् । लाखौँ मानिस झारखण्ड पुग्दछन् ।

अनेक ठाउँमा जान्छन् धार्मिक पर्यटक बनेर तर हामीकहाँ भने सबै जसो विशेष दिनमा घुम्नका लागि नै आउँछन् हजारौँ मानिस । यो हाम्रो लागि सुखद पक्ष हो र यसलाई अझ विस्तार गरिनु आवश्यक छ । छिमेकीको सौहार्द्रता बनिरहोस् – यसको लागि हामी पनि थप जिम्मेवार हुनु आवश्यक छ । आफ्नो जिम्मेवारी दुई किसिमले बुझ्न सक्छौँ । एक सुविधा दिएर र दोस्रो फेरि फेरि आइरहून् भन्ने किसिमको व्यवहार गरेर । मन त जित्नु पर्छ, मानिसहरु आइरहन्छन् । जति मानिसहरु आउँछन्, त्यत्ति हाम्रो प्रगति हुन्छ । अहिलेको समयमा पर्यटकीय विकासको लागि केही गर्न खोज्ने स्थानीय तहले भोलिको लागि धेरै थोक गरिरहेको अनुभूति हुन्छ । अहिले यदि केही पर्यटक आउन र सेवाबाट सन्तुष्ट भएर फर्केका छन् भने भोलि बढ्दै जाने र सम्बन्धित स्थानीय तहले विकासमा नयाँ फड्को मार्दै जाने हुन्छ ।

Comment

Related News

Latest News

Trending News