अपडेट 
२०७९ पुष २१, बिहीबार ०६:५३

नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई छाडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले एमालेसित गठबन्धनगर्दा अलपत्र परेका नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसित बुधवार सिंहदरवारमा भेटवार्ता गरेका छन् ।

नेकपा एसको हालै सम्पन्न स्थायी कमिटी र पोलिटब्यूरो बैठकले सरकारमा सहभागी हुने, सरकारलाई समर्थन गर्ने विषयमा निर्णय लिन सकेन् ।एस निकटका एकजना नेताका अनुसार प्रचण्डले सरकार विरुद्ध निर्णय नगर्न नेपाललाई आग्रह गरेका थिए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासितको गठबन्धनको अन्तिम बैठकबाट प्रचण्ड बाहिरिएर सोझै एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुग्दा नेपाललाई फोनसमेत गरेका थिएनन् ।अन्योलमा रहेका नेपालसित भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतमा सहयोग मागेको बताइएको छ । ‘सम्माननीय प्रधानमन्त्रीज्यूले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई नेकपा (माओवादी केन्द्र) को दलको कार्यालय सिंहदरबारमा भेटी सरकारलाई विश्वासको मत प्रदान गर्न आग्रह गर्नुभएको छ,’ दाहालका सहयोगी रमेश मल्लले भने, सबै दललाई विश्वासका मतका लागि आग्रह गर्ने क्रममा नेकपा एसका अध्यक्षज्यूसित पनि आग्रह गरिएको हो । सरकारमा एकीकृत समाजवादीको सहभागिताका बारेमा पनि दुई नेता बीचको भेटमा छलफल भएको उच्चस्रोतले जनाए । प्रधानमन्त्रीमा नियुक्त भएसँगै दाहाल एकीकृत समाजवादीलाई पनि सरकारमा सामेल गराउन सकारात्मक छन् । अध्यक्ष नेपाललाई पनि पार्टी भित्रैबाट सरकारमा सहभागी हुनका लागि दबाब आइरहेको छ । अध्यक्ष नेपालले भने सरकारको नीति तथा कार्यक्रम हेरेर मात्रै सरकारमा सामेल हुने वा नहुने निर्णय गर्ने बताएका छन् । बुधवार आयोजित एउटा कार्यक्रममा अध्यक्ष नेपालले २६ गते अगावै सरकारलाई समर्थन गर्ने अथवा नगर्ने विषयमा निर्णय लिने बताएका छन् । यसबारे निर्णय गर्न नेकपा एसले यसअघि नै पार्टी सचिवालयलाई जिम्मा दिइसकेको छ ।

प्रधानमन्त्री दाहालको सरकारलाई हाल संसदमा रहेका सातवटा पार्टीले समर्थन गरेका छन् भने सरकारले संसद्मा विश्वासको मत लिन बाँकी छ । प्रधानमन्त्री दाहाललले यही पुस २६ गते संसद्मा विश्वासको मत लिने कार्यतालिका छ । त्यसअघि नै प्रधानमन्त्री दाहाल एकीकृत समाजवादीलाई पनि सरकारमा सामेल गराउन लागिपरेका छन् । चुनावमा राष्ट्रिय दलको मान्यता पाउन नसकेको नेकपा एसका लागि सांसदलाई जोगाउन पनि चुनौती नै रहेको बताइन्छ ।अध्यक्ष नेपालले सरकारमा जान नचाहे केही सांसदहरु जान सक्ने जोखिम रहेको स्रोतहरुको कथन छ । नेकपा एस र जनता समाजवादी पार्टी( जसपा)बीच एकीकरणको गृहकार्य भइरहेको छ ।जसपाले औपचारिक रुपमा नै समिति बनाएको छ ।एस र जसपाबीच एकीकरणको प्रक्रिया अगाडि बढे माओवादी केन्द्रसित मिल्ने प्रयास हुने स्रोतको कथन छ । तर एसका कतिपय नेताहरुले जसपा र माओवादी केन्द्रसित मिल्नु भन्दा नेकपा एमालेमा नै फर्किनु उपयुक्त हुने तर्क दिइरहेका छन् ।एमालेका नेताहरुसित एसका कतिपय नेताहरु सम्पर्कमा रहेको बताइन्छ । एसले पनि सरकारलाई समर्थन गरे प्रधानमन्त्री प्रचण्ड दुई तिहाई बहुमतको प्रधानमन्त्री हुने छन् ।त्यसका लागि उनले उपप्रधानमन्त्री अझै थप्नु पर्ने हुन्छ । प्रधानमन्त्री प्रचण्डले एमालेका अध्यक्ष ओलीलाई सत्ताच्यूत गर्न गतिलो साथ पाएका थिए ।

कांग्रेसको नेतृत्वमा गठबन्धन गरी माओवादी केन्द्र र नेकपा एससँगै चुनावमा सहभागी भएका थिए ।तर एसले राष्ट्रिय दलको मान्यता पाउन नसकेपछि प्रत्यक्ष निर्वाचित १० सिटमा नै खुम्चिएको छ ।

Comment


Related News