अपडेट 
२०७९ पुष २१, बिहीबार ०६:५६

मधेश प्रदेशमा सबै भन्दा ठूला दल नेकपा एमालेको प्रदेश सभा संसदीय दलको नेतामा सरोज कुमार यादव सर्वसम्मतिबाट चयन भएका छन् । संसदीय दलको बुधवार भएको बैठकमा दलको नेतामा यादव र उपनेतामा दीपेन्द्र ठाकुर चयन भएको घोषणा गरिएको थियो ।

दलको बैठकमा मधेश प्रदेशका इञ्चार्ज समेत रहेका एमालेका केन्द्रीय सचिव रघुवीर महासेठ, सह–इञ्चार्ज एवं मन्त्री ज्वाला साह, पोलिटब्यूरो सदस्य जुली महतो लगायतको सहभागिता रहेको थियो । एमालेको मधेश प्रदेशमा २३ जना सभासद छन् ।सभासदहरुको मंगलवार अबेर राति भएको भेलामा यादवलाई दलको नेता बनाउन सहमति जुटेको थियो । सो बैठकमै ठाकुरलाई पनि उप नेता बनाउन सांसदहरुले सहमति गरेका थिए । एमालेमा विद्यार्थी राजनीतिदेखि सक्रिय रहेका यादव पार्टीको विभिन्न निकाय हुँदै प्रदेश सभामा संसदीय दलको नेतासम्म पुगेका छन् ।उनी महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’बाट चुनाव जितेका हुन् । उप–नेता चुनिएका ठाकुर पहिलो पटक प्रदेशसभामा एमालेको टिकटबाट धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’बाट जितेका हुन् । यादवलाई दलको नेता बनाउन सह–इञ्चार्ज साह सक्रिय थिईन् ।उनलाई महासचिव शंकर पोखरेलले पनि समर्थन गरेका थिए ।तर सचिव महासेठले सप्तरी जिल्लाका राजकुमार लेखीलाई दलको नेता बनाउन चाहेका थिए । मधेश प्रदेशमा महासेठको पक्षमा बहुमत सांसद रहेका छन् ।सहमतिमा उनले दलको नेता यादवलाई दिएर उप–नेता आफ्ना निकट ठाकुरलाई बनाएका छन् । स्रोतहरुका अनुसार संघीय गठबन्धन अनुसार नै प्रदेशमा सरकार गठन भए एमालेले सभामुख पाउने पक्कापक्की जस्तै छ ।

सभामुखका लागि एमालेमा लेखी र रामचन्द्र मण्डलको नाम चर्चामा रहेको छ ।दलको नेता बन्न नसकेका लेखीलाई सभामुख बनाउने आश्वासन नेताहरुले दिएको बताइन्छ । स्रोतहरुका अनुसार एमालेबाट ३ जना मन्त्री हुने संभावना छ ।दलका नेता चयनकै क्रममा सभामुख र मन्त्रीको आश्वासन समेत सांसदहरुलाई दिएको बताइएको छ ।स्रोतहरुका अनुसार दलका नेताले सरकारमा पार्टीको प्रतिनिधित्व गर्ने छन् ।संघीय संसदमा पनि दलको नेताले नै सरकारमा पार्टीको नेतृत्व गर्ने चलन छ । एमालेबाट सरकारमा जाने ३ जना मध्ये एकजना यादव निश्चित नै भएका छन् ।हालको सरकारमा पनि संसदीय दलका नेताहरु नै सहभागी भएका थिए ।

Comment


Related News

Latest News

Trending News