अपडेट 
२०७९ पुष २१, बिहीबार ०७:४५

रौतहट जिल्लाको दुई पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । नेपाल सरकारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यी दुबै नगरपालिकाको कामकाज गर्न अधिकृत किरण निधि तिवारीलाई जिम्मेवारी तोकेको छ तर अधिकृत तिवारी दुबै पालिकामा काम गर्न असमर्थता देखाएकोले दुबै पालिका प्रशासकीय अधिकृतविहीन बनेको छ ।

जिल्लाको कटहरिया नगरपालिका र माधव नारायण नगरपालिका अहिले निमित्तको भरमा सञ्चालनमा रहेको छ । कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालसंग तिवारीको तालमेल नमिल्दा निमित्त दिएर कार्यालय बाहिर रहेको बुझिएको छ । कार्यालय प्रमुख नै नभएपछि विकास निर्माण लगायतको विभिन्न कामकाज प्रभावित भएको छ । लेखा अधिकृत राम प्रकाश साह निमित्तमा भए पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतको हैसियतले कार्यालयको कामकाजी कागजपत्रमा हरिन्द्र यादवले हस्ताक्षर गर्ने गरेका छन् । निमित्त प्रमुख प्रसाशकीय अधिकृतको रुपमा काम गरिरहेका लेखा अधिकृत साहले नगरपालिकाको विशेष कामकाज प्रभावित भइरहेको बताउँदै निमित्तको हैसियतले गर्न सकिने कामकाज गरिरहेको जनाए । रकमको अनियमितताको बारेमा विवादित भएका माधव नारायण नगरपालिकामा नगर प्रमुख बैद्यनाथ यादवको कारण निमित्तको रुपमा शाखा अधिकृत मिश्रीलाल साहले कामकाज गर्दै आएका छन् । लेखा शाखाबाट भुक्तानीको सक्कल फाइल गायब भएको विषय लिएर नगरपालिका भित्र कार्यरत कर्मचारीबीच अंतरद्वन्द्व उत्पन्न भएको कारण नगरपालिकाको कामकाज नराम्ररी प्रभावित बनेको छ । पटक–पटक घरायसी विवाद देखि कार्यालयमा रकम अनियमितताको आरोप लाग्दै आएका शाखा अधिकृत साह निमित्त प्रमुख प्रशासकीय अधिकृत बन्नको लागि प्रयासरत रहेको बुझिएको छ । चंद्रपुर नगरपालिकामा सामाजिक शाखाबाट थाहा नगरपालिका गएका साह काज सरुवा गराएर माधव नारायण नगरपालिकामा हाजिर भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मंत्रालय स्थानीय तह कर्मचारी प्रशासन शाखाले अधिकृत सातौ मिश्री साहलाई २०७९ साल भाद्र २३ गतेमा मकवानपुर जिल्लाको थाहा नगरपालिकामा काज फिर्ता गरे पनि साह त्यहाँ नगइ माधव नारायण नगरपालिका मै बसेर निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउन नगरप्रमुख यादव सित मिलेर चलखेल गरिरहेको कार्यालय स्रोतले जनाएको छ । नगरपालिकाको योजना तथा जिन्सी फाँटका जिम्मेवारी सम्भालेका स्थानीय विकासका करार कर्मचारी कृष्णनन्ंदन यादवको मिलेमतोमा साह र नगर प्रमुख कार्य गरिरहेको कारण नगरपालिकाका कर्मचारीहरु दुई धारमा उभिएका छन् । योजना शाखाका यादव र काज फिर्ता भएका शाखा अधिकृत साह बढ़ी रकम हिनामिना गर्न खोजेकोले आन्तरिक विवाद उत्पन्न भएको स्थानीयहरुले आरोप लगाएका छन् । नगरपालिकामा भएको रकम अनियमिततामा ठूलो भूमिका यादव र साहको समेत रहेकोले छानविन गर्नका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाल सरकारले स्थानीय तहमा उपसचिव पठाउने भने पनि समयमा उपसचिव नपठाएको कारण पालिका निमित्तको भरमा सञ्चालन भइरहेको छ । स्वास्थ्य सेवा तथा प्राविधिक सेवाका अधिकृतको भरमा रौतहटका अधिकांश पालिका सञ्चालन भइरहेकोले राज्यको रकम चुहावट बढ़ी हुने गरेको छ ।

Comment

Related News