
बाराको जीतपुर स्थित नेपाली सेनाको आधार तालिमको अन्तिम दिन दलेल कवाज दीक्षान्त समारोह सम्पन्न भएको छ ।
बाहिनीको आयोजनामा भएको कार्यक्रममा तालिम प्राप्त गरी सेनामा नियुक्त भएका एक सय ४३ जना सिपाहीहरुले परेड तथा मार्चपास प्रदर्शन गरेका थिए । बाहिनीका बाहिनीपति प्रमुख सहायक रथी सानुकाजी थापाको उपस्थितिमा सम्पन्न कार्यक्रममा उनीहरुलाई सपथ समेत गराइएको थियो । नौ महिने तालिममा सिन्धुलीका भेष कुमार थापा सर्वोत्कृष्ट हुन सफल भएका छन् । कार्यक्रममा विएफ टि दौडतर्फ दिनेश बहादुर थिङ्ग , पाँच किलो दौडतर्फ लाल बहादुर कार्की, , फायरिङ्ग तर्फ दिपेन्द्र चौधरी, ड्रिल तर्फ छत्र रासकोटी, बाधापार तर्फ मनोज कुमार आले प्रथम भएका छन् ।

प्रथम हुनेहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल , पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल लगायत बारा र पर्सा जिल्लाका प्रहरी प्रमुख जनप्रतिनिधि, उद्योगी व्यापारी, सेनाका अधिकृत लगायतको सहभागिता रहेको थियो ।