अपडेट 
२०७९ पुष २१, बिहीबार ०८:२१

यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट सबैभन्दा ठूलो दल नेपाली काँग्रेस बनेको छ । नेपाली काँग्रेसको अध्यक्ष शेरबहादुर देउवा हुनुहुन्छ । पार्टीको यशअबजस अध्यक्षको नाताले शेरबहादुर देउवा कै टाउकोमा जान्छ । यस निर्वाचनमा जम्मा बार्हवटा पार्टी तथा पाँच स्वतन्त्र संसदमा प्रवेश पाएका छन् । यसमध्ये नेपाली काँग्रेस ८९ सिट ल्याएर सबभन्दा ठूलो पार्टी बनेको छ । यस्तै क्रमशः नेकपा (एमाले) ७८, नेकपा (माके) ३२, रास्वपा २०, राप्रपा १४, जसपा १२ र जनमत ६ ल्याएका छन् । यी पार्टीहरू रािष्ट्रय पार्टीका रूपमा संसदमा प्रवेश गरेका छन् । नेकपा (एस), नागरिक उन्मुक्ति पार्टी (नाउपा), लोसपा, राजने र नेमकिपा जस्ता पार्टीहरू राष्ट्रिय पार्टीको पंक्तिमा आउन सकेनन् । यसपालि स्वतन्त्र सांसदका सङख्या ५ रहेछन् । २०७४ सालमा भएको निर्वाचनबाट बनेका राष्ट्रिय पार्टीहरूमध्ये लोसपा यसपालि राष्ट्रिय पार्टी बन्न सकेन । यसपालिको निर्वाचनले कुनै एउटा पार्टीको सरकार बनाउन ५१ प्रतिशतको बहुमत दिएन । यी सबै पार्टीहरू दुई खेमामा जाँदा पनि माओवादीकेन्द्र बिना सरकार बनाउन न्यूनतम् संख्या पुग्दैन थियो । त्यसैले नेपाली काँग्रेस र नेकपा (एमाले) माओवादी केन्द्रलाई आ–आफ्ना पक्षमा ल्याउन प्रलोभन देखाउन थाले । उता नेपाली काँग्रेस र एमाले समीकरणको कुरा पनि उठेकै थियो, तर काँग्रेसले ओलीसँग सरकार बनाउने इच्छा प्रकट नगरेकोले दुबैको मिलिजुली सरकार बन्न सकेन । यता नेपाली काँग्रेसले आफूलाई सरकार बनाउन कुनै समस्या छैन भने बराबर उद्घोष गर्दै गरेको देखिन्थ्यो । राष्ट्रपतिबाट नेपालको संविधान अनुसार सात दिनको समय सीमा दिई सरकार बनाउने पार्टीहरूलाई आग्रह गरेका थिए । एकदिनमात्र बाँकी रहँदासम्म नेपाली काँग्रेस ढुक्क थिए कि हाम्रो गठबन्धनको सरकार बनाउनबाट कसैले पनि रोक्न सक्दैन । गठबन्धनका शीर्ष नेताहरू आपसी कुराकानीमा औपचारिक रूपले छलफललाई निरन्तरना दिएकै थिए । प्रचण्डले सरकार बनाउन चलेको छलफलमा आफूलाई अढाइ वर्षका लागि प्रधानमन्त्री पदमा राख्नुस् भन्दा देउवाले उत्तरमा भन्नुभयो अहिले मलाई दिनु अनि अढाइ वर्ष पछि तपाई लिनुहोला । त्यसपछि प्रचण्डको के आग्रह भयो भने तब मलाई राष्ट्रपति दिनुस् । देउवाले प्रधानमन्त्री तथा राष्ट्रपति दुबैमध्ये कुनै पनि दिन तयार हुनुभएन । यता गठबन्धनको बैठक बसी रहँदा उता ओलीको निवासमा अर्को बैठक चलि रहेको थियो । ओलीले प्रचण्डलाई प्रधानमन्त्री दिन तयार भए पछि प्रचण्डका मान्छेहरू तुरून्त फोन गरेर प्रचण्डलाई बोलाइए र प्रधानमन्त्री दिने कुरा विस्तारमा खुलस्त गरे । प्रचण्ड अहिले नेकपा (एमाले), नेकपा (माके), रास्वपा, राप्रपा, जसपा, जनमत लगायत केही स्वतन्त्र सांसदहरूको समर्थनमा प्रधानमन्त्री बनेका छन् । उता नेपाली काँग्रेसले हातमा आएको अवसरलाई गुमाएको छ । नेपाली काँग्रेसमा दुरदर्शिताको अभाव देखियो । नेपाली काँग्रेसलाई के लागेको थियो भने प्रचण्ड र ओली यति चारै एक ठाउँमा आउन सक्दैनन् । तर देउवा के कुरा बुझ्न सकेनन् भने राजनीतिमा कुनै कसैको शत्रु र मित्र हुँदैन । यसै कुरालाई मनन गरी प्रचण्ड ओली नजिक पुग्न तयार भए र अहिलेको सरकारको प्रधानमन्त्री बन्न अवसर समेत पाएका छन् । राजनीति बृतमा विभिन्न कुराको अडकलबाजी चल्न थालेका छन् । कतिको के भनाइ छ भने प्रचण्डले यति छिटो देउवासँग दूरी बढाउनु हुदैन्थ्यो । अर्का थरिको के भनाइ छ भने अवसर पाए पछि अवसरलाई हातबाट जान्न दिनु हुदैन थियो ।

यो एउटा दूरगामी सोच हुनसक्छ । जुन नेतामा दूरगामी सोच हुँदैन, उनले समयलाई समात्न सक्दैनन् र हातबाट पाएको अवसर समेत गुम्न बेर लाग्दैन । नेपाली काँग्रेसको के सोच थियो भने प्रचण्डलाई कुनै मेजर पद नदिए पनि गठबन्धनबाट बाहिर जान सक्दैनन् । यता राजनीतिको गणितलाई प्रचण्ड पनि राम्ररी बुझेर अगाडि बढ्न चाहन्थे । यदि देउवामा ठूलो पार्टी भएको कुरामा अहंकार नभएको भए अहिले प्रधानमन्त्री नेपाली काँग्रेसको हुन्थ्यो र राष्ट्रपतिमा प्रचण्डले कुनै नेतालाई बसाउने तयारीमा हुन्थे होलान् । अर्कोतिर देउवाले के विर्सनुभयो भने गठबन्धनबाट बन्ने सरकारमा सबैको महत्व उतिकै हुन्छ । पदीय दृष्टिले कोही माथि कोही तल रहनु एउटा बेग्लै कुरो हो । कहिले काँही त एउटै सांसदले सरकार ढाल्न सफल हुन जान्छ । यहाँ देउवाले यस्ता कुराबाट पर बसेर कुरा गरेको देखिए । यदि मिलिजुली सरकारको प्रकृतिलाई हेरेको भए सरकार हातबाट जाने कुरै थिएन । गणितीय हिसाबले हेर्दा यस देशमा बढी सिट त बामपन्थी कै देखिन्छ । यदि सबै बामपन्थी एकै ढिक्का भएर लडेको भए अहिले बामपन्थीकै दुई तिहाइको सरकार हुन्थ्यो । त्यसैले नेपाली काँग्रेस बरू उसैलाई जे जस्तो पद दिएर पनि बामपन्थीलाई पाँच वर्षसम्म फोडेर राख्नुमा बुद्धिमानी थियो । उनीहरूलाई एक ठाउँमा मिल्न देउवाले ठूलो मौका दिएको देखिन्छ । अर्कोतिर ओली त यसैको फिराकमा थिए । निर्वाचनभन्दा अघि ओली बहुमत पाउने कुरामा ढुक्क थिए । बहुमत न पाएर ओलीलाई निकै ठूलो छट्पट्टी देखिन्थ्यो । यस गठबन्धनबाट कम्तीमा सरकारका मात्र होइन संवैधानिक पदका शीर्ष पदहरूमध्ये अधिकांश पद पनि पाउने भए । हुनत ओलीले लिएको आडानबाट तल खस्किन गएका छन् । गठबन्धनको सरकारलाई सधैं जनमतको सरकार नभनेर परामादेशबाट बनेको सरकार भन्नेगर्थे । अर्कोकुरातिर लाग्दा जुन कुराका लागि ओली र प्रचण्डको बीचमा झगडा परेको थियो आज ओली त्यस कुरामा हारेका छन् र प्रचण्ड जितेका छन् । अर्कोतिर जुन जुन नेतालाई धपाउने कुरो गरेका थिए आज त्यही नेताहरू सरकारमा सामेल हुँदैछन् । एकातिर ओली आफ्ना धुत्र्याइले आंशिक सफल भएका छन् भने आंशिक असफल भएको देखिन्छ । कहिले काँही बढी धुत्र्याइले मान्छेलाई सही बाटोबाट बिचलित पनि बनाएको देखिन्छ । ओलीको सबैभन्दा ठूलो दुश्मनी प्रचण्ड तथा माधव नेपालसँग थियो । प्रचण्डलाई सरकारको प्रधानमन्त्रीमा ल्याएर प्रचण्ड र माधवको बीचमा दुरी बढाएर माधव नेपाललाई अझ साध्न खोजेका छन् कि ! यदि त्यस्तो हो भने अहिले नै प्रचण्डले माधव नेपालको बारेमा गहिरो रूपले सोच्ने बेला छ । आज माधव नेपाललाई तह लगाएर भोली प्रचण्डसँग बदला लिन बेर लाग्दैन । ओलीको प्रवृति राजनीति क्षेत्रमा सबैलाई थाहै छ । पार्टीको अध्यक्ष हुँदा पनि ओलीले पार्टीलाई हाँकेको तौरतरिका कसैबाट लुकेको छैन । कति नेतालाई तह लगाइ सकेका छन् । उहाँमा के एकहोरोपन रहेछ भने म जे भन्छु त्यही ठीक हो, पार्टीमा अन्य सदस्यको कुरालाई पनि स्थान दिनु राम्रो पक्ष भए पनि त्यसलाई वहाँ स्वीकार गर्न तयार हुनुहुनन् । माधव नेपाल, झलनाथ खनाल, भेटमणि चौधरी, विरोध खतिवडा लगायत नेताहरू अलग हुनुको कारण पनि त्यही थियो । नवनिर्मित सरकारतिर हेर्दा यस सरकारलाई लम्ब्याउनु त्यति सजिलो छैन । विभिन्न सिद्धान्तका मासिनहरू यसमा सहभागी छन् । रास्वपाका आफ्नै कुरा रहेछ भने राप्रपाको चरम दक्षिण पन्थी विचारलाई कसरी यसमा समावेश गराउने भने सोचका साथ यसमा सामेल हुन चाहन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गर्न खोजेको कामहरूमा विगतमा कतिपय शीर्षनेताहरू समेत पर्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन । रवि लामिछाने माथि आफ्नै नागरिकताको केस अदालतमा विचाराधिन रहेछ । अहिले आफै गृहमन्त्री छन् । अर्कोतिर जनमत पार्टीले जनताको बीचमा कबूल गरेका कुराहरू कृषकका लागि मलविउ प्रमुख कुरा छन् । यी कुराहरू पूर्ति गर्नु सामान्य कुरो छैन । त्यस्तै भ्रष्टाचारीलाई नियन्त्रण गर्ने कुरो छ । यसलाई कति नियन्त्रण गर्न सक्छन्, भविष्यले देखाउने हो । काठमाण्डौंको टुँडीखेलमा दिएको भाषणद्वारा जनताको सामुन्ने भ्रष्टाचार बारे दिएको बचनबद्धतालाई कसरी पालन गर्ने हो निकट भविष्यले नै देखाउँने हो । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजालाई पुनः गद्दीमा फर्काउने कुरालाई राखेर भोट पाएका छन् ।

राप्रपाले राजालाई फर्काउन सक्छ त ! यदि सकिएन भने यहीबाट उसको पनि सिद्धान्त कमल थापा जस्तै तपसिलमा जाँदैन र ! यता मधेसवादी पार्टीहरू मध्ये जनता समाजवादी पार्टी तराईको मुद्दालाई कति उठाउँछ ? हेर्न बाँकीनै छ । तराईमा जनताको आफ्नै समस्या रहेछन् । हिजो जुन नागरिकता विधेयकलाई ओलीले रोकेका थिए के अब त्यसलाई कार्यान्वयनमा ल्याउन सकिन्छ त ! यदि सकिएन भने भोलि तराईका जनताले त्यस पार्टीलाई कसरी हेर्ने होला विचारणीय प्रश्न छ नि ! यस्ता अनेकौं प्रश्नहरू पार्टीहरूका सामुन्ने उभिएर बसेका छन् । यता स्वतन्त्र सांसदहरूका पनि केही न केही माँग त पक्कै रहेको हुनुपर्छ । यी सबैका माँगहरू यस सरकारलाई पूरा गर्नु कम कठिन छैन । सबैभन्दा ठूलो पार्टीको हौसियतले नेकपा (एमाले) ले पनि आफ्ना गिरेका साखलाई उठाउन प्रचण्डलाई मोहरा बनाउन बेर लाग्दैन । त्यसर्थ प्रचण्डले पनि एउटा चतुर खेलाडीको भूमिकामा नआई हुँदैन । हुनत अहिलेसम्मको कामलाई हेर्दा प्रचण्ड सफल भएका छन् । विदेशतिरको भूमिका कस्तो हुन्छ त्यसमा पनि सरकारको आयु निर्भर हुन्छ । हाम्रो देश एउटा अल्पविकसित देश रहेको हुनाले हामी विदेशीको सहयोग बिना सरकार हाँक्न त्यति सजिलो छैन । नूनदेखि चूनसम्म छिमेकी कै भरमा रहेका हुनाले उनीहरू पनि केही खेल खेल्न पक्कै आ–आफ्ना सोच बनाएकै होलान् । उनीहरू पनि कमजोर सरकारलाई बढी चलाउन खोज्छन् । यस मामलामा पनि सतर्क नभइ हुँदैन । अहिले देशको आर्थिक अवस्था पनि त्यति बलियो छैन । देश विदेशको सहयोग हामीलाई चाहिन्छ । यस्ता सहयोग समयमै हामी ल्याउन सकेनौं भने भोली श्रीलंकाभन्दा पनि बतर हालत नेपालको हुनेमा कुनै शंका छैन । अहिले विश्वको अवस्था पनि ठीक छैन । कोरोनाले हैरान पारेका कारण देशहरू आफै कमजोर बन्दै गएका छन् भने रसिया र यूक्रेनको युद्धले भोलि विश्वयुद्धको रूप नलेला भन्न सकिन्न । निष्कर्षमा जे–जस्तो भए पनि देउवाको अहंकार र ओलीको धुत्र्याइले यो सरकार निर्माण भएको छ । प्रचण्डले यदि चतुर खेलाडीको भूमिका खेल्न सकेनन् भने असफल हुन बेर लाग्दैन । त्यसैले छिमेकी देशहरूमध्ये मूलतः भारत र चीनबीचको समान दुरीमा बसी कसरी दुबैको सहयोग लिन सकिन्छ । त्यसमा सदैव होशियार हुनै पर्ने हुन्छ, होइन भने समस्याले चारै तिरबाट घेर्न बेर लाग्दैन । अर्कोतिर भारतले हरफेको भूमिलाई कसरी फर्काउने ? विभिन्न राष्ट्रिय योजनाहरूका लागि कसरी सहयोग जुटाउने ? देशभित्र रहेका दलित, पीडित, सुकुम्बासी, मधेसी, थारू, मुस्लिम आदि समुदायका समस्या कसरी सम्बोधन गर्ने ? आफ्नै पार्टीभित्रका जनयुद्धबेलाका लडाकु तथा जनयुद्धबाट पीडित रहेका नागरिकका समस्यालाई कसरी समाधान गर्ने ? यस्ता यावत अनेकौ प्रश्नहरू प्रचण्डका सामुन्ने उभिएर कराइ रहेका छन् । हेर्दै गरौं भोलि यी सबै आन्तरिक तथा बाह्य समस्याहरू समयमै कसरी सम्बोधन हुनेछ । इतिश्री ।

Comment

Related News

Latest News

Trending News