अपडेट 
२०७९ पुष २२, शुक्रबार ०७:३३

जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशको संसदीय दलका नेता चयन गर्न बिहीबार विधान बनाएका सांसदहरुले शुक्रबार नेताको चयन गर्ने भएका छन् । दलको नेता चयन गर्न गठित समितिका संयोजक रहेका राजनीतिक समितिका सदस्य लालकिशोर साहको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मतिबाट विधान पारित गरेको छ । संयोजक साहले जनाए अनुसार शुक्रबार विहान दलको नेता चयनका लागि सहमतिको प्रयास गरिनेछ । तर सहमति हुन नसके समितिले चुनावको कार्यक्रम सार्वजनिक गर्नेछ ।

मधेश प्रदेशमा जसपाकै मुख्यमन्त्री बन्ने निश्चित भएकाले दलको नेताका लागि तछाडमछाड भइरहेको छ । सभामुख रहिसकेका सरोज कुमार यादव, दलको उपनेता रहिसकेका रामअशिष यादव र मुख्यमन्त्री लालबाबु राउत दलको नेतामा दाबी गरिरहेका छन् । राउत पाँच वर्ष मुख्यमन्त्री रहँदा भ्रष्टाचार लगायतका अनेक विवादमा परेको आरोप विपक्षीहरुले लगाउने गरेका छन् । राउतको कार्यकाल असफल रहेको र मधेश प्रदेश सरकारको कारण स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनावमा पार्टीलाई क्षति पुगेको धारणा हालै सम्पन्न राजनीतिक समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवले राखेका थिए । जसपामा १६ जना सभासद छन् । दलको नेताका लागि दाबेदारी गरेका तीनै जनाले आफ्नो पक्षमा बहुमत देखाउने कसरतमा लागेका छन् । सर्वसहमतिबाट नेता चयनको पक्षमा मुख्यमन्त्री राउत नरहे पनि सभामुख सरोज कुमार र उपनेता रहेका रामअशिष यादव सहमतिबाट नै हुनुपर्ने धारणा राखेका छन् । मुख्यमन्त्री राउतले नेकपा एमालेका सचिव समेत रहेका मधेश प्रदेशका इञ्चार्ज रघुवीर महासेठसित बुधबार राति लामो बैठक गरी सहयोगका लागि आग्रह गरेको स्रोतले जनाएका छन् ।

नेता महासेठले चियाका लागि घरमा बोलाएकाले भेट्न गएको बताउँदै राउतले भने, जसपा संसदीय दलको नेताको विषयमा कुनै छलफल भएन् । तर दुबै जनाबीच लामो समय एक्लाएक्लै वार्ता भएको स्रोतले जनाए । दलको नेता छान्न जसपाका सभासदहरु प्रदेशको राजधानी जनकपुरधाममा जुटेका छन् । केही सभासदहरुलाई मुख्यमन्त्री राउतले रात्री भोज दिएको स्रोतले जनाए । चुनाव भए जित सुनिश्चित रहेको मुख्यमन्त्री निकट नेताहरुको दाबी छ । तर चुनाव हुने संभावना न्यून रहेको सभासदहरु बताउँछन् । राउत पनि सर्वसहमतिबाट नै दलको नेता चुनिएका थिए । त्यती बेला पनि नेताका लागि ४ जनाले दाबी गरेका थिए । संघीय गठबन्धनकै आधारमा जसपा, एमाले र माओवादी केन्द्रबीच भएको सहमति अनुसार जसपाले सरकारको नेतृत्व गर्ने पहिलो अवसर पाउने छ । संघीय सरकारमा जसपा हाल सहभागी भइसकेको छैन् । यद्यपि पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका लागि पेश गरेका सांसदहरुको सूचीमा जसपाको पनि समर्थन छ । जसपाको तर्फबाट अध्यक्ष यादवले नै हस्ताक्षर गरेका छन् । केन्द्रमा पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची प्रतिनिधि सभाको राखिएकोछ । त्यस अगाबै जसपाका अध्यक्ष यादवले मधेश प्रदेश सरकारको नेतृत्वमा सुनिश्चितता चाहेका छन् । प्रदेश सरकारको नेतृत्व गर्ने अवसर जसपाले पाउने निश्चित रहेकाले नै दलको नेताको आकर्षण बढेको छ ।

नेताको दौडमा रहेका सांसद नेताहरुले बिहीबार राति सांसदहरुलाई प्रभावित गर्न अनेक गतिविधि गरेको बताइन्छ । तर बहुमत सांसदहरुले जसपा केन्द्रीय अध्यक्ष यादवको लाइन (संकेत) लाई कुरिरहेका छन् । अध्यक्ष यादवको लाइन पाउने सांसद नै दलको नेता चयन हुने पक्का छ । सांसद सञ्जय यादवले भने, नेताको चयन सांसदहरुले नै गर्ने भएकाले अध्यक्षको कुनै लाइन आउने छैन् । पुस महिनाको दोस्रो हप्तामा अध्यक्ष यादवले सांसदहरुलाई स्वतन्त्र रुपमा आफ् नो नेता चयन गर्न निर्देशन दिइसकेको उनले बताए । नेता चयनका लागि हुने सांसदहरुको बैठकमा अध्यक्ष यादवको उपस्थिति रहने छैन् । चुनाव हुने संभावना नरहेको यादवले दाबी गरे । मधेश प्रदेश संसदीय दलको नेताका लागि नेपाली कांग्रेसमा मात्र चुनाव भएको छ । जनमत पार्टीले महेश यादव र नेकपा एमालेले सरोज यादवलाई सर्वसम्मतबाट नै दलको नेता चयन गरेकोछ ।

Comment

Related News