अपडेट 
२०७९ पुष २२, शुक्रबार ०७:३६

मधेश प्रदेशमा नेकपा माओवादी केन्द्रका समानुपातिक सांसदको विवाद सल्टिएको छैन् । अन्तिम नामावलीका दुई सांसदमाथि परेको रिट सर्वोच्च अदालतमा लम्बिदै गएको छ ।

पार्टीले निर्वाचन आयोगमा निर्वाचित गराउन पठाएका सप्तरीका माला कर्ण र महोत्तरीका रज्जी हैदरमाथिको मुद्दा संवैधानिक इजलाशमा पुगेको अधिवक्ता उमेश प्रसाद साहले जानकारी दिएका छन् । उनका अनुसार माओवादीकै समानुपातिक बन्दसूचीको क्रम संख्या नम्बर ५ मा रहेकी खजान्ती महतो नुनियाले सुरुमा आफूलाई अल्पसंख्यक कोटामा समाहित गर्नुपर्ने भन्दै रिट निवेदन दिएकी थिइन् । यी मुद्दाको सुनुवाइ नसक्दै पार्टीले क्रम संख्या अनुसार तल रहेको उम्मेदवारलाई निर्वाचित गराउन आयोगमा पठाएका थिए । पार्टीले पठाएको आधारमै आयोगले धनुषाबाट सुनिता यादव, सप्तरीबाट मालाकुमारी कर्ण, धनुषाबाट शारदा दास र महोत्तरीबाट मोहम्मद रज्जी हैदरलाई निर्वाचित भएको घोषणा पनि गरेका थिए । सुनिता र माला मधेशी समूह, शारदा दलित र रज्जीको नाम मुस्लिम समूहको कोटाबाट पठाइएको थियो । त्यसपछि पुनः खजान्तीले अनुसूची अनुसार आफू निर्वाचित हुनुपर्ने भन्दै उत्प्रेषण मुद्दा दिइन् । निवदेक खजान्ती क्रम संख्याको ५ नम्बरमा छन्, माला १४ र रज्जी ३९ नम्बरमा छन् । सो मुद्दामा अदालतले गत मंसिर २९ गते माला र रज्जीलाई शपथ ग्रहण नगराई संसदको काम कारबाहीमा पनि सहभागी नगराउन आदेश दिएको थियो ।

उनीहरुको शपथ ग्रहण पनि रोकिएको छ । त्यसपछि न्यायाधीश सपना प्रधान मल्ल र नकुल सुवेदीको संयुक्त इजलाशले यही पुस ७ गतेको पेशीमा मुद्दा संवैधानिक इजलाशमा पठाएका थिए । संवैधानिक इजलाशले अहिले दुबै मुद्दासँगै राखेर हेर्न भनेर आदेश दिएका छन् । निर्वाचन आयोगले माला कर्ण र रज्जी हैदरलाई निर्वाचित भएको घोषणा गरे पनि प्रमाणपत्र दिएको छैन् । अर्को पेशी तोकिएकोबारे जानकारी नभएको अधिवक्ता साहले बताए । यस्ता मुद्दाको सुनुवाई सर्वोच्च अदालतमा बुधबार र शुक्रबार सातामा दुई दिन हुँदै आएको छ । पार्टीको आन्तरिक कलहका कारण मुद्दा परेको माला कर्णको टिप्पणी छ । तर मुद्दाका अर्का प्रतिवादीले आफूलाई पनि बिना कारण मुद्दामा मुछिएको बताए ।

‘मुद्दा दिएका उम्मेदवार मेरो कल्सटरमा छैनन् । उहाँ अल्पसंख्यक कोटामा हुनुहुन्छ । मलाई त जवर्जस्ती यस मुद्दामा मुछिएको छ,’उनले भने,‘मुस्लिम कोटाबाट मेरो नाम पहिलो नम्बरमै छु । म कानून अनुसार नै निर्वाचित छु ।’ विवादमा पार्टीको त्रुटि देखिएको छ । निवेदन दिएकी खजान्तीको नाम सुरुमै पार्टीले पूरा थर नखुलाइ पठाउँदा विवाद बल्झिएको नेताहरुको विश्लेषण छ । खजान्ती महतो नुनिया अल्पसंख्यक कोटामै पर्छन् । तर सुरुमा पार्टीले खजान्ती महतोलाई मात्रै आयोगमा पठाएका थिए । जसकारण खजान्ती अल्पसंख्यक नभएको बुझिएको थियो । पछि मधेशी कोटाबाट दुई जना, एक जना मुस्लिम र एक जना दलित कोटामा सांसद बनाउन आयोगमा पठाएका थिए । अहिले खजान्तीले अल्पसंख्यक र अनुसूची दुबै अधारमा आफू नै सांसद बन्नुपर्ने दाबी गरेकी छन् । पार्टीभित्रको समूहगत राजनीति गर्ने व्यक्तिले बखेडा गरेको बताइएको छ । सोही समूहगत विवादका कारण पार्टीको मधेश प्रदेश संसदीय दलको नेतासमेत छनोट हुन सकेको छैन् । दलको नेताका लागि पार्टीभित्र दुई वटा समूहले दाबी गरिरहेका छन् ।

Comment


Related News

Latest News

Trending News