अपडेट 
२०७९ पुष २२, शुक्रबार ०७:४९

सर्लाहीको लालबन्दी नगरपालिका–१५ शिरकालिन्जोरमा विद्युत प्रशारण लाइन विस्तार भएको छ । जिल्लाको दुर्गम भेग भनेर चिनिने शिरकालिन्जोरका वासिन्दाहरु वर्षौँदेखि टुकी बत्तीको सहारामा रात काट्दै आएका थिए ।

विद्युतको अभावमा शीरकालिन्जोरवासी अंध्यारोमा बस्न बाध्य बनेका थिए । चुरे पर्वत क्षेत्रमा बसोबास गर्ने उनीहरूमा अन्नबाली लगाउन वर्षा कुर्नुको विकल्प थिएन । बस्तीको तल्लो भाग भएर कालिन्जोर नदी बग्ने भए पनि त्यहाँको पानीको लाभ उनीहरूले बिजुली बत्ती नभएकै कारण लिन सकेका थिएनन् । जसको कारण उनीहरुलाई बिहान बेलुकीको छाक कसरी टार्ने भन्ने सम्मको चिन्ता थियो । बिजुली बत्ती गाउँसम्म पुगेपछि आफ्ना खेत बारीमा अन्न उत्पादन हुने र दुई छाक टार्न सजिलो हुने विश्वास गरिएको छ । लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारी र नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख सञ्जीव कुमार साहले संयुक्त रुपमा नयाँ जडान गरिएको ट्रान्सफर्मरमा बत्ती बालेर त्यहाँ विद्युत् सेवा शुभारम्भ गरेका छन् । विद्युत् विस्तारपछि आफूहरूको दैनिकीमा सहजता आएको स्थानीयवासीहरुले बताएका छन् । विद्युत् विस्तारपछि आफ्नो वडाका झण्डै ३ सय ५० घर परिवार लाभान्वित भएको वडाध्यक्ष गोरख बलले बताए । गत आर्थिक वर्षको प्रारम्भ देखिनै विद्युत् विस्तार थालिएको वडाध्यक्ष बलले बताए ।

वडामा ५ वटा २० केभीको ट्रान्सफर्मर जडान गरिएको छ । भौगोलिक विकटताको कारण वडाका सबै क्षेत्रमा अझै पनि विद्युत् विस्तार हुन सकेको छैन । अझै पनि बाहुनी डाँडा, फलाके, बादमारा, धापखर्क, माझखोला क्षेत्रमा विद्युत् विस्तार आवश्यक रहेको वडाध्यक्ष बलले बताए । लालबन्दी नगरपालिकाका प्रमुख अधिकारीले राज्यले मधेशका जिल्लामा पनि भौगोलिक विकटता छ भन्ने बुझ्नु पर्ने बताए । उनले लालबन्दी जिल्लाकै आर्थिक केन्द्र भए पनि भौगोलिक विकटका कारण सोचे जस्तो विकास हुन नसकेको बताए । राज्यले यस्ता क्षेत्रको पहिचान गरी भौतिक पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । मेयर अधिकारीले अवसर र चुनौतीको मिलेर सामना गर्न विद्युत् प्राधिकरण र सरोकारवाला निकायलाई आग्रह गरे । लालबन्दी वितरण केन्द्रका प्रमुख साहले विकट क्षेत्र भएकाले प्राधिकरणका कर्मचारीलाई त्यहाँ पुग्नै झण्डै २ घण्टा लाग्ने भएकाले कसरी सेवालाई निरन्तरता दिन सकिन्छ भन्ने चिन्ता लाग्ने गरेको बताए । उनले माग अनुसार क्षमता अभिवृद्धि गर्न प्राधिकरण तयार रहेको बताए ।

Comment


Related News