अपडेट 
२०७९ पुष २२, शुक्रबार ०७:५५

रौतहटको गरुडा नगरपालिकाले प्रधानाध्यापकहरुको सरुवा गरेको विरोधमा विद्यार्थीहरू बिहीबार प्रदर्शन गरेका छन्।

नगरपालिकाले एकैपटक तीन वटा विद्यालयका प्रधानाध्यापकहरुलाई आफूखुशी सरुवा गरेको भन्दै विद्यार्थीहरुले प्रधानाध्यापक सरुवाको निर्णय तत्काल फिर्ता लिन माग गर्दै गरुडामा रहेको नगरपालिकाको कार्यालय अगाडि विभिन्न प्ले कार्डसहित विरोध प्रदर्शन गरेका छन्। गरुडा नगरपालिकाले नमुना माध्यमिक विद्यालय गरुडाका प्रधानाध्यापक प्रभु पटेल, माध्यमिक विद्यालय श्रीपुर नयाँ गम्हरियाका प्रधानाध्यापक रामाधार पासवान र माध्यमिक विद्यालय गेडहिगुठ्ठीका प्रधानाध्यापक जंग बहादुर ठाकुरलाई सरुवा गरेको छ ।

उक्त सरुवा अविलम्ब बदर गर्न माग गर्दै तीनवटै सामुदायिक विद्यालयका बालबालिकासहित शिक्षकहरू प्रदर्शन गर्दै नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु यादवलाई ज्ञापन पत्र बुझाएका छन्। ज्ञापनपत्र बुझाउँदै नगरपालिकाले प्रधानाध्यापक सरुवाको निर्णय अविलम्ब फिर्ता नलिए आफूहरु शैक्षिक हडतालमा उत्रिन बाध्य हुने चेतावनीसमेत प्रदर्शनकारीहरुले दिएका छन्। त्यस्तै,आफूहरुलाई गरिएको सरुवाको निर्णय तत्काल फिर्ता लिन माग गर्दै गरुडाका प्रधानाध्यापक प्रभु पटेल,, श्रीपुर नयाँ गम्हरियाका प्रधानाध्यापक रामाधार पासवान र गेडहिगुठ्ठीका प्रधानाध्यापक जंग बहादुर ठाकुरको नेतृत्वमा नगरका विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुले बुधबार नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवाललाई ज्ञापनपत्र बुझाएका थिए । दुई दिन भित्रमा सरुवाको निर्णय बदर गर्न उनीहरूले नगर प्रमुख जयसवाललाई अल्टिमेटम दिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । बिहीबारसम्म नगरपालिकाले निर्णय नसच्याए शुक्रबारदेखि नगर भित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा पठन–पाठन अनिश्चित कालका लागि बन्द गर्न बाध्य हुने चेतावनी दिइएको ज्ञापनपत्रमा जनाइएको छ । प्रचलित शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा उल्लेख गरिएको शिक्षक सरुवा प्रक्रिया विपरीत विभिन्न विद्यालयमा गरिएको गैर कानूनी सरुवाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको मावि गरुडाका प्रधानाध्यापक प्रभु पटेलले बताए । यता गरुडा नगरपालिकाले सरुवाको निर्णय कुनैपनि हालतमा फिर्ता नलिने जनाएको छ ।

नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले प्रअहरु शैक्षिक अवस्था तहस–नहस पारेको, विद्यालयलाई राजनीतिक अखाडा बनाएको तथा माफियातन्त्र लाद्न खोजेकाले शुद्धिकरण अभियान अन्तर्गत सरुवा गरिएको बताए । आफ्नो स्थानीय स्तरमा शिक्षा ऐन बनाई जिल्लाको मौलापुर, देवाहि गोनाहि, गरुडा, यमुनामाई लगायतका पलिकहरुले शैक्षिक वातावरण बिगार्ने गरी विभिन्न विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूको मनोपोली ढंगले सरुवा गरी शिक्षकहरूलाई आतंकित बनाउने काम गरेको भन्दै नेपाल शिक्षक महासंघ रौतहटमा आवद्ध शिक्षक र पेशागत संघ संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ । शिक्षकहरूलाई सरकारद्वारा बढाइएको तलब नदिए र जथाभावी सरुवा गर्ने कार्य अविलम्ब नरोके आफूहरु कडा भन्दा कडा चरणबद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ ।

Comment


Related News

Latest News

Trending News