अपडेट 
२०७९ पुष २३, शनिबार ०८:०१

मधेश प्रदेशमा सरकार बनाउन पुस २८ गतेभित्र दाबी प्रस्तुत गर्न राजनीतिक दललाई आह्वान गरिएको छ ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले शुक्रबार सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख मिश्रले दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका सचिव राजेन्द्र पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकाले उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाको सदस्यलाई दाबी पेश गर्न विज्ञप्तिमा उल्लेख गरिएको छ । मुख्यमन्त्रीका लागि दाबी पेश गर्न पुस २८ गते अपराह्न ४ बजेसम्मको समय दिइएको छ ।

मधेश प्रदेशसभामा एक सय ७ सदस्य छन् । बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १६, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रका ९–९, नेकपा (एकीकृत समाजवादी) ७, नागरिक उन्मुक्ति, राप्रपा र नेपाल संघीय समाजवादीका एक– एकजना सांसद छन् । सरकार बनाउनका लागि प्रदेश प्रमुखले २८ गतेको समय दिए पनि मधेशका दुई दल जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले भने संसदीय दलको नेता पनि चुन्न सकेको छैन् ।

नेपाली कांग्रेसले कृष्णा यादव, नेकपा एमालेले सरोजकुमार यादव, जनमतले महेश प्रसाद यादवलाई संसदीय दलको नेता बनाइ सकेका छन् । तर, यी दुबै दलमा संसदीय दलका नेता बन्ने आकांक्षी बढी देखिएका कारण दलका नेता चुन्न सकस भएको छ । प्रदेश प्रमुखले सरकारमा दाबी गर्नका लागि आह्वान गरेपछि दलहरु भने सरकार बनाउने चाजोपाजोमा देखिएका छन् । मधेश प्रदेशमा पनि केन्द्र जस्तै गठबन्धनको सरकार बन्ने देखिए पनि कसले पहिलो पटक सरकारको नेतृत्व गर्ने भने विषयमा उनीहरुबीच सहमति हुन सकेको छैन् । हुन त मधेश प्रदेशमा जनता समाजवादी पार्टीले दाबी गरेका छन् तर, जनमत र जसपाबीचमा पहिलो नेतृत्व गर्ने बिषयमा कुराकानी नमिलेको नेताहरुको दाबी छ । तर, जनमतले दाबी छाडेकै कारण प्रदेश सांसद बसन्त कुशवाहालाई संसदीय दलको नेता नबनाएको एक नेताले बताएका छन् । जनमतले मुख्यमन्त्रीको दाबी छाडेका छन् उनले भने–‘ जनमत मुख्यमन्त्री नछाडेको भए संसदीय दलको नेतामा कुशवाहा हुने थिए । कुशवाहाको विकल्प खोजिएका कारण जनमतले संसदीय दलको नेताको दाबीवाट आउट भएको बुझ्न सकिन्छ ।’ जसपाले मुख्यमन्त्री पाउने पक्का भएपछि संसदीय दलको नेतामा सकस देखिएको सो नेताको दाबी छ ।

Comment

Related News