अपडेट 
२०७९ पुष २३, शनिबार ०८:०६

जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को मधेश प्रदेशका संसदीय दलको नेता चुन्ने जिम्मा केन्द्रलाई दिइएको छ ।

जनकपुरधाममा दुबै पार्टीको शुक्रवार सम्पन्न बैठकबाट सर्वसम्मत संसदीय दलको नेता चुन्न नसकेपछि केन्द्रमा पठाइएको छ । जसपाको पार्टी कार्यालय बलवा टोलमा दुई दिनदेखि संसदीय दलको नेता चुन्ने प्रक्रिया चले पनि मुख्यमन्त्री लालबाबु राउतले संसदीय दलको नेताको अडानबाटपछि नहटेपछि सर्वसम्मत हुन सकेको थिएन् । जसपामा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोजकुमार यादव, रामअशिष यादवले संसदीय दलको नेतामा दाबी गरेका छन् । यी नेताहरुले दाबी नछाडेपछि प्रक्रिया जारी रहेको र विगतमा निर्धारण गरिएको प्रक्रिया अनुसारले नै केन्द्रले चुन्ने भएको छ । जसपामा संसदीय दलको नेतामा सरोज यादवको दाबी बलियो देखिए पनि मुख्यमन्त्रीको अडानका कारण यहाँ नेता चुन्न सकिएको छैन् । कुल १६ प्रदेश सांसद मध्ये १४ जनाले शुक्रवार केन्द्रलाई जिम्मेवारी दिनेमा हस्ताक्षर गरे पनि मुख्यमन्त्री राउतले निर्वाचन गराउने अडानमा थिए । एक जना सांसद बिन्दु यादव मुम्वइमा उपचारत छन् र उनी पनि केन्द्रलाई जिम्मादिनेमा सहमति जनाएका थिए । मधेश प्रदेशको मुख्यमन्त्रीमा फेरि जसपाले दाबी गरेकै कारण संसदीय दलको नेता बन्ने नेताहरुको आकांक्षा हुनु स्वभाविक रहेको एक नेताले बताए । केन्द्रीय सरकारमा सहभागी र प्रदेश बाँडफाँटमा मधेश प्रदेशमा जसपा र जनमतले दाबी गरेका छन् । पहिलो पटक जसपाले सरकारको नेतृत्व गर्ने भएपछि जसपामा संसदीय दलको नेता चुन्न सकस भएको छ ।

मधेश प्रदेशमा आधा आधा कार्यकाल जसपा र जनमतले सरकारको नेतृत्व गर्ने केन्द्रमा सहमति भएको छ । मधेश प्रदेशमा मुख्यमन्त्री राउत दोहोरिने दाउमा देखिएका छन् भने पूर्व सभामुख सरोज यादवले मुख्यमन्त्री बन्नकै लागि जसपा विभाजन हुँदा लोसपामा नगइ जसपालाई नै रोजेका थिए । जसपा विभाजन हुँदा पूर्व सभामुख यादवलाई मुख्यमन्त्री बनाउने प्रतिवद्धता आएपछि उनले जसपालाई नै रोजेका थिए । यता,लोसपामा पनि संसदीय दलको नेतामा विवाद देखिएको छ ।

लोसपामा देखिएको गुटबन्दी प्रदेशमासमेत देखिएको छ । यहाँ अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षबीच तानातान देखिएको छ भने अर्का नेता शरत सिंह भण्डारी भने निर्णायक देखिएका छन् । अध्यक्ष ठाकुर पक्षवाट जितेन्द्र सोनलले फेरि संसदीय दलको नेतामा दाबी गरेका छन् भने वरिष्ठ नेता महतोका भतिजो तथा प्रदेश सांसद उपेन्द्र महतोले संसदीय दलको नेतामा दाबी गरेका छन् । हुन त अध्यक्ष ठाकुर पक्षवाट अभिराम शर्माले पनि संसदीय दलको नेतामा दाबी गरेका छन् तर, उनी पछि हटने देखिएको छ । सांसद तथा संसदीय दलका नेतामा दाबी गरेका उपेन्द्र महतोले नैतिकताका आधारमा जितेन्द्र सोनलले संसदीय दलको नेतामा दाबी गर्न नहुने तर्क गर्दै उनले मधेश प्रदेशको अध्यक्ष पदबाट पनि राजिनामा दिनुपर्ने माग गरेका छन् । उनले मधेश प्रदेशमा सोनलकै कारण पार्टी कमजोर भएको बताउँदै संसदीय दलको नेता भएका पार्टीका अध्यक्ष रहेका र मन्त्रीसमेत भएकाले प्रदेशमा पार्टी कमजोर हुनुको जिम्मेवारी पनि लिनुपर्ने बताए । उनले शुक्रवारको बैठकमा संसदीय दलको विधान पास गरेको र केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट अनुमोदन गराउनुपर्ने प्रावधान रहेको जानकारी दिए । सोनलले संसदीय दलको नेतामा दाबी गरे आफ्नो दाबी पनि रहने तर, अन्य कुनैले दाबी गरे त्यसमा आफ्नो समर्थन रहने बताउँदै उनले पहिलो पटक २५ सांसद रहेका पार्टी, पार्टी विभाजन पछि १६ र सम्पन्न भएको निर्वाचनमा ९ वटा सांसदमा आएको आरोपसमेत लगाए ।

Comment


Related News