अपडेट 
२०७९ पुष २३, शनिबार ०८:२५

सप्तरीको डाक्नेश्वरी नगरपालिकाका एक व्यवसायी जग्गा बन्धकी राखेर चर्को मिटर व्याज असुली गर्ने गरेको आरोपमा पक्राउ परेका छन् ।

सर्वसाधारणको जग्गा र सुन चाँदी राखेर चर्को मिटर व्याजमा ऋण दिने र कतिपयको सावाँ व्याज लिइसके पनि धितो फिर्ता नगरेको आरोपमा डाक्नेश्वरी नगरपालिका १ कविलासाका ५५ वर्षीय चन्द्रकान्त साह पक्राउ परेका छन् । पक्राउ परेका साहलाई सप्तरी जिल्ला अदालतबाट शुक्रवार ठगी तथा अपराधिक विश्वासघात मुद्दामा म्याद थपेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी नरेश कुमार सिंहले जानकारी दिएका छन् । पछिल्लो पटक सोही नगरपालिका १ का स्व. मो. युसुफका छोरा मो. अफताब आलमको जाहेरीको आधारमा व्यवसायी साहलाई पक्राउ गरिएको उनले जानकारी दिए । उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखी थप अनुसन्धान थालिएको छ । सोही मुद्दाका अर्का आरोपि जगरनाथ साहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । मिटर व्याज पीडित आफताब आलमका अनुसार अत्यावश्यक काम परेर उनका बुवा युसुफले आफ्नो ५ कठ्ठा १४ धुर जग्गा धितो राखेर २०७३ साल फागुन १ गते चन्द्रकान्त सँग १० लाख रुपैयाँ ऋण लिएका थिए । ऋण दिँदा साहले दोब्बर रकमको कागज मात्र गराएनन, आफताबले भने – “५ कठ्ठा १४ धुर जग्गा मालपोत कार्यालय राजविराजमा लिखत पास नै गराए ।” बुवाले लिएको ऋण चर्को ब्याजसहित सावाँ समेत बुझाइसक्दा पनि साहले ऋण लिँदा बखत गरिएको कागज र धितो वापत राखिएको जग्गा फिर्ता गर्न नमानेपछि न्यायका लागि प्रहरी शरणमा पुगेको आफताबले बताए । आफूहरुले विश्वास गरेर ऋण लिदा साहले भने जस्तै कागज गरिदिए, उनले भने – “अहिले फसेर घर न घाटका भएका छौ ।” यसअघि मिटर ब्याजीहरुकै कारण सप्तरीको छिन्नमस्ता गाउँपालिकाका २५ वर्षीय संजीव मिश्रले आत्महत्या नै गरेका थिए । जिल्लाकै अर्को मिटरब्याजी खडक नगरपालिकाका साहुकार रामदेव साहको मिटर ब्याजमा फसेर घरवारविहीन भएकाहरु अहिले पनि दिनहूँ जसो सडक प्रदर्शन गर्दै आएका छन् ।

सप्तरीमा मिटर ब्याजमा फसेकाहरुको सूची लामो बन्दै गएको छ । सक्नेले सामाजिक स्तरमै कुरा मिलाउछन भने नसक्नेहरुले यसरी नै सडकमा आएर न्याय खोज्ने गरेको पाइएको छ । समस्यामा परेकाहरुबाट जग्गादेखि सुन चाँदी धितो राख्ने तथा ऋण दिएको भन्दा दोब्बर तेब्बर रकमको कागजसमेत बनाइ चर्को ब्याज असुली गरेर उठीवास नै गराउने कसूरमा हाल ३ जना मिटरब्याजी पक्राउ परेका छन् । जसमध्ये २ जना पुर्पक्षका लागि राजविराज कारागारमा छन,भने एक जना अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News