अपडेट 
२०७९ पुष २५, सोमबार ०७:१०

सिरहा जिल्लाको मिर्चैयास्थित एउटा विद्यालयको छात्राको मृत्युमा शिक्षिका दोषी देखिएकी छन् । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एकजना शिक्षिका र प्रिन्सिपललाई आइतबार नियन्त्रणमा लिएको छ ।

पक्राउ गरिएका प्रिन्सिपल र शिक्षिकालाई कारबाही गरिने प्रतिबद्धता प्रहरीले जनाएपछि पीडित परिवारले विद्यार्थीको शव बुझेका हुन् । मिर्चैया नगरपालिका ३ का १६ वर्षीया सिर्जना कुमारी महराको मृत्यु शनिवार मध्य राति भएको थियो । विद्यालयमा सिकिस्त भइ महरा शुक्रबार उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् । सगरमाथा उच्च माध्यमिक विद्यालयमा अध्ययनरत सिर्जनालाई पानी भनेर शिक्षिका अम्बिका लम्सालले ‘स्प्रिट’ दिएकी पुष्टि भएको छ । उपचारको क्रममा उनको मृत्यु भएको सिरहाका प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले बताएका छन् । उनका अनुसार शुक्रबार विद्यालयमा पेट दुख्दा औषधि खान सिर्जनाले शिक्षिकासँग खानेपानी मागेकी थिइन् । शिक्षिकाले ‘स्प्रिट’ दिँदा बिरामी भएकी सिर्जनाको शनिबार राति १२ बजे उपचारको क्रममा फुलकुमारी मेमोरियल अस्पतालमा मृत्यु भएको थियो । विद्यार्थीको मृत्युभएसँगै आइतबार बिहानदेखि विद्यार्थी र मिर्चैयाबासी आन्दोलित भएका थिए । मृतक सिर्जनाको आफ्न्तहरुले पूर्व– पश्चिम राजमार्ग अवरुद्ध गरी आन्दोलन गरेका थिए । आक्रोशित विद्यार्थीहरुले इलाका प्रहरी कार्यालय र सवारी साधनहरुमाथि ढुंगामुढा गरेका थिए । अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई फायर र १५ राउण्ड अश्रु ग्यास प्रहार गरेको डिएसपी वलीले बताए । प्रहरीले औषधि दिने शिक्षिका अम्बिका लम्साल र प्रिन्सिपल प्रदीप तिवारीलाई नियन्त्रणमा लिएको छ ।

मृतकका बुबा धर्मेन्द्रले दोषीमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी पनि दिएका छन् । आरोपि पक्राउ गरेको र प्रहरीले जाहेरी दर्ता गरेपछि परिवारले शव बुझेकोछ । पीडित परिवारले शवको अन्त्येष्टि गरेसँगै सडकको अवस्था सामान्य भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार पक्राउ परेकी शिक्षिका लम्सालले झुक्किएर पानीको बोलतको साटो स्प्रिटको बोतल दिएको स्वीकारेकी छन् । पीडित परिवारबाट ज्यान मारेको अभियोगसहितको किटानी जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ । सगरमाथा विद्यालय सिरहा जिल्लामै ख्याती कमाएको मानिन्छ । सो विद्यालयमा सिरहाका अतिरिक्त धनुषा, सप्तरी र उदयपुर जिल्लाका विद्यार्थीहरु समेत अध्ययन गरिरहेको बताइन्छ ।

Comment


Related News

Latest News

Trending News