मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले २८ पुस भित्र सरकार गठनको लागि दलहरुलाई आह्वान गरिसेकका छन् । तर प्रदेशसभामा रहेका केही दलहरुले अझै नेताको टुंगो लगाउन सकेका छैनन् । जनता समाजवादी पार्टीजसपा)ले दलका नेताको सोमवार चुनाव गर्दै छ ।
निर्वाचन समितिका संयोजक लालकिशोर साहले चुनावको कार्यतालिका आइतबार सार्वजनिक गरेका छन् । तर माओवादी केन्द्र, नेकपा एस र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले दलको नेताको चयन अझै गर्न सकेको छैन् । यस अघि नै नेपाली कांग्रेस, नेकपा एमाले र जनमत पार्टीले दलका नेता चयन गरिसकेका छन् । एमाले र जनमतले सर्वसम्मतिबाट र नेकांले चुनावबाट दलका नेता चयन गरेको हो । माओवादी केन्द्रमा भरत साहको विरोधमा बहुमत सभासदहरु देखिएपछि दलको नेता चयनको प्रक्रिया रोकिएको छ ।साहले आफ्नै दलकी समानुपातिक सांसद माला कर्णमाथि मुद्दा गराएको आरोप छ । नेकपा एसले पनि नेता चयनको प्रक्रिया थालेको छैन् ।एसका सभासदहरुले सर्वसम्मतिबाट नै नेता चयन गर्ने दाबी गरे पनि त्यसका लागि छलफल नभएको बताएका छन् । लोसपामा पनि दलको नेता चयन गर्न घम्साघम्सी छ ।मधेश प्रदेशका अध्यक्ष समेत रहेका जितेन्द्र सोनल पछिल्लो प्रदेश सभामा दलका नेता थिए ।उनी साढे ३ वर्ष भौतिक पूर्वाधार विकास मन्त्री रहँदा व्यापक भ्रष्टाचार गरेको र संगठनलाई ध्वस्त बनाएको आरोप लगाउँदै विकल्प दिने पक्षमा सांसदहरु रहेका छन् ।
गत शुक्रबार लोसपा संसदीय दलको बैठकमा नेताका लागि सहमति जुट्न नसकेपछि नेता चुन्ने जिम्मेवारी केन्द्रीय अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो । काठमाण्डुमा लोसपा कार्यकारिणी समितिको आइतबार सम्पन्न बैठकले दलको विधान बनाए पनि मधेश प्रदेश दलको नेता चयन गर्न सकेन् । लोसपा सांसद उपेन्द्र महतोले सोनलको विकल्प नदिए उनी विरुद्ध उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।‘सोनलकै कारण पार्टीलाई ठूलो क्षति भएको छ ’ उनले भने, फेरि पनि उनलाई नै दलको नेता मान्न सकिदैन् । मधेश प्रदेश सभामा १० वटा दल छन् । नेकपा एमाले (२३), कांग्रेस(२२), जसपा( १६) जनमत (१३), लोसपा (९), माओवादी केन्द्र(८), नेकपा एकीकृत समाजवादी (७), नेपाल संघीय समाजवादी पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टी (एक÷एक) रहेका छन् । एक जना मात्रै प्रतिनिधि रहेको पार्टीलाई दलको नेता त्यही प्रतिनिधि रहने छन् । जसपाको दलका नेतामा निवर्तमान सभामुख सरोज कुमार यादव, प्रदेश सभाका दोस्रो पटक निर्वाचित रामअशिष यादव, मुख्यमन्त्री लालबाबु राउत, सरोज कुमार सिंह कुशवाहा, समानुपातिक कोटामा निर्वाचित मनिष सुमन र सिरहाबाट पहिलो पटक निर्वाचित राजकुमार गुप्ताले दाबी गरेका छन् ।


