अपडेट 
२०७९ पुष २५, सोमबार ०७:४३

जनकपुरधामबाट आइतबारदेखि पूर्व श्रम स्वीकृति तथा अन्तिम श्रम स्वीकृति दिने कामको सुरुआत भएको छ । यसअघि पुनः दर्ताको काम मात्र हुने गरेकोमा आइतबारदेखि सेवा विस्तार भएको छ ।

आर्थिक वर्ष ०७८÷७९ मा १८ हजार ६ सय ३६ जनाको पुनः दर्ताको काम भएको श्रम तथा रोजगार कार्यालयका निमित्त कार्यालय प्रमुख राम उद्गार अधिकारीले जानकारी दिए । नयाँ श्रम तथा अन्तिम श्रमको स्वीकृति यसै कार्यालयबाट सुरु भएपछि सेवाग्राहीको संख्या व्यापक रुपमा बढेको छ । प्रदेश र त्यसमा पनि धनुषा तथा महोत्तरीबाट भारी मात्रामा वैदेशिक रोजगारीका लागि युवाहरू गएका छन् । धनुषाबाट मात्र ४० हजारको संख्यामा युवाहरू वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका छन् । नेपालमा नै सबैभन्दा बढी धनुषाबाट रोजगारीका लागि युवाहरू खाडी मुलुक पुगेका छन् । मधेश प्रदेशबाटै श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृति मिलेपछि यस क्षेत्रका युवाहरू उत्साहित भएका छन् ।

अब घर नजिकैबाट स्वीकृति हुन थालेपछि समय तथा आर्थिक बचत हुने जनकपुरधाम उपमहानगरपालिका २५ का असिम कवाडीले बताए । जनकपुरधामस्थित श्रम तथा रोजगार कार्यालयले धनुषा, महोत्तरी, सर्लाही, सिरहा तथा सप्तरीका सेवाग्राहीलाई सेवा दिन सुरु गरेको छ । त्यस्तै, वीरगञ्जबाट रौतहट, बारा तथा पर्साका सेवाग्राहीलाई सेवा प्रदान सुरु गरिएको निमित्त कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News