अपडेट 
२०७९ पुष २५, सोमबार ०८:१०

रौतहटको परोहा नगरपालिकाका मेयर शेख वकिलले शिक्षा बिना देश अथवा कुनै पनि समाजको विकास असम्भव भएको बताएका छन् ।

शिक्षाको विकास बिना देश र समाज अगाडि बढ्न नसक्ने भएकोले आफ्नो पालिकाको समग्र विकासका लागि आफूले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको मेयर वकिलले बताए । परोहा नगरपालिका–६ बसन्तपट्टिमा अवस्थित अन्होतिलाल माध्यमिक विद्यालयमा आइतवार नवनिर्मित भवनको उद्घाटन गर्दै मेयर वकिलले नगरलाई समृद्ध र विकसित बनाउन शिक्षा क्षेत्रको चौतर्फि विकास गर्न आफू लागि परेको बताए । शिक्षाको विकास बिना अन्य क्षेत्रको विकासको परिकल्पना गर्न नसकिने बताउँदै उनले गुणस्तरीय शिक्षा नै आजको आवश्यक्ता भएकोले शिक्षाका लागि भौतिक पूर्वाधारले महत्व राख्ने धारणा राखेका थिए । शिक्षा मानव जातिको तेस्रो नेत्र भएकोले आजको युगमा देशको आर्थिक रुपान्तरणमा निकै ठूलो महत्व रहेको छ ।

शिक्षा विना मानिस अन्धो नै हुन्छ । शिक्षा आजका दिनमा मानवको एक महत्त्वपूर्ण सम्पतीको रुपमा रहेकोले यसको महत्व व्यापक रहेको चर्चा गर्दै उनले शिक्षाको स्तर सुधारका लागि आफूहरु गम्भिर रहेको बताए । जिल्लामा रहेको १८ वटा स्थानीय तहहरु मध्ये परोहा नगरपालिकाले शिक्षामा सबै स्थानीय तहभन्दा बढी बजेट बिनियोजन गरेको बताउँदै उनले नगरपालिका भित्रको सम्पूर्ण सामुदायिक विद्यालयमा कक्षा १ देखि १२ कक्षासम्म अध्ययनरत छात्रछात्राहरुलाई केही दिनमै नगरपालिकाको तर्फबाट विद्यालय पोसाक निःशुल्क वितरण गर्ने व्यवस्था गर्न लागेको बताए । शिक्षाका साथै स्वास्थ्य, कृषि, सडक, भौतिक पूर्वाधार निर्माण लगायत कार्यमा विशेष जोड दिएको र विकास निर्माण कार्यमा परोहा नगरपालिकाबासीले पनि कुनै रोकावट नगरी खुलेर साथ दिएको उनले बताए ।

Comment


Related News