
नेपाल परिवार नियोजन संघ धनुषाले निःशुल्क बन्ध्याकरण सेवा बन्द गरेको छ । बजेट अभावको कारण शुक्रबारदेखि निःशुल्क सेवा बन्द गरी अबदेखि संघले २ हजार शुल्क लिइ बन्ध्याकरण सेवा प्रवाह गर्ने जनाएको छ ।
तथ्यांक अनुसार चालु आर्थिक वर्षको गत मंसिरदेखि गत शुक्रबारसम्ममा संघले १ सय ५७ जना महिलाको बन्ध्याकरण गरेको छ । संघका प्रमुख मुरारी प्रसाद उपाध्यायले संघमा प्रत्येक दिन सेवाग्राहीहरु आउने गरेको भए पनि बजेट अभावको कारण निःशुल्क सेवा नदिइ उनीहरुलाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गर्ने गरेको जानकारी दिएका छन् । उनले भने नेपाल परिवार नियोजन संघ केन्द्रीय कार्यालयबाटै बजेटको अभाव देखाएर अहिलेलाई यो सेवा बन्द गर्न निर्देशन दिएको छ त्यसै अनुसार हामीले सेवा बन्द भएको सूचना नै जारी गरेका छौं।’ संघबाट बन्ध्याकरण गराउन चाहने महिलाहरुको लागि मिनिल्याप,डिपोप्रोभेरा,कण्डम,आयुसिडी लगायतका सेवा निःशुल्क रुपमा प्रदान गरिने र अप्रेशन गराउने महिलाहरुलाई सरकारी बजेटबाटै तीन प्रतिशत सेवाग्राही दिने व्यवस्थासमेत रहेको छ । तर,बजेट अभावको कारण अहिले बन्ध्याकरण सेवा औपचारिक रुपमा बन्द गर्न बाध्यता रहेको प्रम्ुख उपाध्यायले बताए । संघमा आउने सेवाग्राहीहरुले यहीँ अप्रेशन गराउँछु भन्नेलाई दुई हजारको दरले शुल्क लिएर बन्ध्याकरण गर्न सकिने सूचनासमेत जारी गरिएको जानकारी दिएका छन् ।
अप्रेशन गर्दा खेरि केमिकल सप्लाई,औषधि,क्लाइन्ट लिएर आउनेलाई दिइने कमिशन ,थिएटरमा काम गर्ने स्वास्थ्यकर्मीको भत्ता लगायतमा लाग्ने खर्च दिए पछि यहाँ पनि अप्रेशन गर्न सकिन्छ । दाताहरुको सहयोगमा चल्ने परिवार नियोजन संघको केन्द्रीय कार्यालयबाट अर्को आदेश नहुन्जेलसम्म बन्ध्याकरण काम बन्द नै रहने बताउँदै प्रमुख उपाध्यायले अर्को दाता अगाडि सरेपछि पुनः निःशुल्क सेवा सुचारु हुने बताए ।