अपडेट 
२०७९ पुष २६, मंगलवार ०७:३४

मधेश प्रदेशमा जनता समाजवादी पार्टी(जसपा) संसदीय दलको नेतामा सरोज कुमार यादव सर्वसम्मतिबाट चयन भएका छन् ।

मुख्यमन्त्री लालबाबु राउतले उम्मेदवारी फिर्ता लिएपछि यादव सर्वसम्मतिबाट नेता चयन भएका छन् । राउतले निर्धारित समयमा नै पुगेर उम्मेदवारी दर्ता गराएका थिए । राउतको उम्मेदवारी दर्तापछि यादवले मनोनयन पत्र दर्ता गराएको चुनाव समितिका संयोजक लालकिशोर साहले जनाए । संघीय सत्तारुढ गठबन्धनमा सहभागी जसपाले मधेश प्रदेशमा सरकारको नेतृत्व गर्ने सहमति भइसकेको छ ।गठबन्धन दलका शीर्ष नेताहरुको आइतवार बसेको बैठकले मधेश प्रदेश सरकारको नेतृत्व जसपाले गर्नेमा सहमति जुटेको छ ।प्रदेश सभाको सभामुख एमाले र उपसभामुख जनमत पार्टीले पाएको छ ।

पुस २८ गते भित्र सरकार गठन गर्न प्रदेश प्रमुखले दलहरुका लागि सीमा निर्धारण गरेको छ ।प्रदेश सरकार गठनका लागि जसपालाई एमाले, जनमत, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र उन्मुक्ति पार्टीको समर्थन रहनेछ । ६० जना सभासदको समर्थनमा मुख्यमन्त्रीका लागि जसपा संसदीय दलका नेताले दाबी पेश गर्ने छन् । जसपा दलका नेता यादव मधेश प्रदेशको सभामुखको रुपमा सफलतापूर्वक कार्यकाल सम्पन्न गरेका छन् ।प्रदेशको नामकारण मधेश प्रदेश र जनकपुरधामलाई राजधानी कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।पहिचान सहितको नाम राख्न कांग्रेस, एमाले, नेकपा एस लगायतका दलहरु सकारात्मक नरहेको अवस्थामा सभामुख यादवले दोस्रो प्रयासमा दुई तिहाई बहुमतबाट निर्णय गराउन सफल भए । जसपामा नेता चयन गत विहीबार भएको प्रयास सफल हुन सकेन् ।सर्वसम्मतिबाट दलको नेता चयन गर्न सहमति नजुटेपछि निर्वाचन समितिले निर्वाचनको कार्यतालिका आइतबार सार्वजनिक गरेको थियो । चुनावका लागि बिहान मुख्यमन्त्री राउतले उम्मेदवारी दर्ता गरेका थिए ।उनलाई चुनावबाट जित्ने विश्वास थियो । उम्मेदवारी दर्ता गरेपछि राउतले सोंचे जस्तो रामअशिष यादवले उम्मेदवारी दिएनन् ।राउत र यादवबीच सोझो प्रतिस्पर्धा हुनेपछि चुनावमा जान उपयुक्त नहुने निष्कर्षमा पुगेका राउतले उम्मेदवारी फिर्ता लिएको उनी निकटका एकजना सांसदले बताए । मुख्यमन्त्री राउतले सञ्चारकर्मीहरुसितको संक्षिप्त प्रतिक्रियामा सभामुख यादवलाई नेता बनाउने सहमति पहिले नै भएको बताउँदै आफू पार्टी संगठन निर्माणमा सक्रिय हुने बताए ।‘सहमति अनुसार नै दलको नेता चयन भएका हुन्’ राउतले भने, अब सरकार चलाउने काम यादवले गर्ने र म संगठन निर्माणमा लाग्ने छु ।

मधेश प्रदेशमा जसपाका १६ जना सांसद छन् । दलको नेताका लागि मुख्यमन्त्री राउत, सभामुख यादव र दलको निवर्तमान उपनेता रामअशिष यादव भीडेका थिए ।सर्वसम्मतबाट नेता चयन गर्न रामअशिष यादवले उम्मेदवारी नदिने घोषणा गरेपछि राउतले उम्मेदवारी फिर्ता लिएका थिए । राउतका प्रस्तावकमा रामसिंहासन साह कलवार र समर्थकमा शेख अब्दुल कलाम आजाद(फुलबाबु) रहेका थिए ।यादवको प्रस्तावकमा ललिता देवी दास र समर्थक सहिदा खातुन रहेकी थिइन् । यादवको समर्थक र प्रस्तावकले पनि राउतको चुनाव लड्ने मनोबल खसाएको थियो । मुख्यमन्त्रीको रुपमा राउतको कार्यकाल विवादास्पद र पार्टीको हित विपरीत रहेको आरोप सांसदहरुले लगाउँदै दलको नेता परिवर्तन गर्न पार्टीका राष्ट्रिय अध्यक्षसम्म दबाब बनाएका थिए । सर्वसम्मतबाट दलको नेता चयन भएपछि मुख्यमन्त्री राउतको सहयोगबाट सहमति भएको बताउँदै यादवले भने, उहाँको अनुभवबाट सरकार सञ्चालन गर्दै मधेश प्रदेशको समग्र विकासमा दत्तचित भएर लाग्ने छु । नेताको चुनाव नगरी १६ जना मध्ये १४ जना सांसदले सर्वसम्मतिबाट नेता छान्ने सम्पूर्ण अधिकार राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई दिएका थिए । मुख्यमन्त्री राउतले अध्यक्ष यादवलाई अधिकार दिने निर्णयमा हस्ताक्षर गरेनन् ।बिन्दु यादव उपचारको क्रममा भारतमा रहेकी छन् । जसपाले मुख्यमन्त्री पाउने निश्चित भएपछि त्यसमा राउतको आकर्षण बढेको थियो ।

चुनाव भए जित्ने विश्वासमा रहेका राउतले गठबन्धन दलको सहयोग लिन नेकपा एमालेका सचिव समेत रहेका मधेश प्रदेशका इञ्चार्ज रघुवीर महासेठसित उनको आवासमा गोप्य बैठक गरेका थिए । राउत निकट एकजना मन्त्रीले उम्मेदवारी दर्तापछिको स्थिति बिग्रेको बताए ।‘चुनावमा रामअशिषको उम्मेदवारी नहुनु र यादवको प्रस्तावकमा दास र समर्थकमा खातुन भएपछि समीकरण विरोधमा बनेको आभाष भएको थियो’ उनले भने, जित्न नसक्ने चुनाव लड्नुको औचित्य नभएकाले उम्मेदवारी फिर्ता लिएको हो ।

हाल सम्म दलको नेता चयन गर्ने पार्टीहरु मध्ये नेपाली कांग्रेस बाहेक सबैमा सर्वसम्मति भएको छ ।कांग्रेसमा चुनावबाट दलको नेतामा कृष्णा यादव विजयी भए ।नेकपा एमाले दलको नेतामा सरोज राय र जनमत पार्टीको दलको नेतामा महेश यादव सहमतिबाट चुनिएका हुन् । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)मा नेता चुन्न घमासन छ ।माओवादी केन्द्रमा पनि विवाद र नेकपा एसमा पनि सहमति जुट्न सकेको छैन् । लोसपाले दलको नेता चयन गर्ने अधिकार राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ ।माओवादी र एसमा हाल सम्म स्थिति प्रष्ट भइसकेको छैन् ।

Comment

Related News