अपडेट 
२०७९ पुष २६, मंगलवार ०७:४०

उच्च अदालत जनकपुरमा स्थानीय निर्वाचनसँग सम्बन्धित ३१ वटा रिट दर्ता भएका छन् । पुनः मत गणनाको लागि २६ र निर्वाचन बदर गर्नुपर्ने मागसहित ६ वटा रिट दर्ता भएको छ । दर्ता भएको २२ वटा मुद्दामा पेशी चढिसकेका छन् भने ८ मुद्दा अझै सुनुवाई हुने प्रक्रियामा आएको छैन् । एक मुद्दामा पुनः गणनाको आदेश आइसकेको अदालतका रजिष्ट्रार खड्गराज अधिकारीले बताए । उनका अनुसार उच्च अदालत जनकपुरमा दर्ता भएको सबै मुद्दा धनुषा, महोत्तरी र सर्लाहीको मात्र रहेका छन् । महोत्तरी र धनुषाको ११/११ वटा रिट छन भने सर्लाहीको ९ वटा रहेका छन् । निर्वाचन सम्पन्न भएको आठ महिना बितिसकेको छ । तर सुनुवाईमा ढिलाई भइरहेको छ ।

यसअघि ०७४ को स्थानीय तहकै निर्वाचनमा महोत्तरीका मनरा सिस्वा नगरपालिका १० को पुनःमतगणना गर्दा चार वर्षपछि परिणाम पल्टिएको थियो । पराजित रमेश कुमार राय विजयी भएका थिए र विजयी घोषणा भएका कांग्रेसका अरुणकुमार चौधरी दुई मतले पराजित भएका थिए । यहाँ निर्वाचन अधिकृतले दुबै जनाको मत बराबर भएपछि गोलाप्रथाबाट चौधरीलाई विजयी घोषणा गरेपछि राय कानूनी बाटोबाट न्याय पाएका थिए ।

शुक्रबार पुनः मतगणनाको आदेश दिइएको हरिवन नगरपालिका ७ मा पनि सोही घटना जस्तो भएको जाहेरीवला पक्षको आरोप छ । वडाध्यक्ष पदमा यसअघिको नतिजा रद्द गरी पुनःमतगणनाका लागि आदेश दिइएको छ । यहाँ एक मतले नपाली कांग्रेसका टीका जंङ्ग थापा पराजित भएको निर्वाचन अधिकृतले घोषणा गरेका थिए । अब यहाँको मतपत्र मगाउने प्रक्रिया सुरु भएको रजिष्ट्रार अधिकारीले बताए । माघ २० गते अदालतमै पुनः मतगणना गर्ने अदालतको तयारी छ । यहाँ अहिले नेकपा एमालेका निरध्वज कार्की एक मतले निर्वाचित भइ कार्यरत छन् । निर्वाचन अधिकृतको कार्यालयको अनुसार कार्की ३७९ मत सहित विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टीकाजंग थापाले ३७८ मत पाएका थिए ।

सर्लाही धनकौल गाउँपालिकाका तीनवटा मतदानस्थलको निर्वाचन बदर गरी पुनः निर्वाचन गर्न माग गरिएको छ । नेकपा (माओवादी केन्द्र)बाट पालिका अध्यक्षमा उम्मेदवारी दिएका फकिरा महतोले निर्वाचन बदर गर्न माग गरेर मुद्दा दिएका छन् । महतोले धनकौल वडा नम्बर ५ मा उनी निकट रामआधार राय यादवले वडा नम्बर २ र वडा नम्बर १ मा भएको निर्वाचन रद्द गर्न माग गरेका छन् । यहाँको २ नम्बर वडामा बुथ कब्जा गरी नेपाली कांग्रेसका उम्मेदवारले मतपत्र छापेको आरोप लागेको छ । यहाँ वडाध्यक्ष पदमा १ हजार ४१९ मत ल्याएर नेपाली कांग्रेसका रामबहाद्र सहनी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी रामअधार राय यादवले मात्र ६ मत ल्याएका थिए । धनकौलको पालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार रामआश्रय साह निर्वाचित छन् । साहले महतोलाई एक हजार ९९ मतले पराजित गरेका थिए । साहले ४ हजार ४४४ मत ल्याए भने पराजित भएका महतोले तीन हजार ३७८ मत ल्याएका छन् । मलंगवा नगरपालिका ११ मा पनि पुनः मतगणना गर्न माग गरिएको छ । यहाँ पाँच मतले माओवादीका नन्दकिशोर राय निर्वाचित छन् । उनले जनता समाजवादी पार्टी (जसपा)का राजकिशोर यादवलाई पराजित गरेका छन् । पानो देवीले यस वडामा पुनः मत गणना गर्न मुद्दा दिएकी छन् ।

Comment

Related News

Latest News

Trending News