अपडेट 
२०७९ पुष २६, मंगलवार १८:००

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गर्नुभएको छ ।

मंगलबार प्रतिनिधिसभामा भएको विश्वासको प्रस्तावको मतदानमा प्रधानमन्त्रीको पक्षमा २६८ र विपक्षमा दुई मत परेको थियो । बैठकमा कूल २७० सांसदले मतदान गरेका थिए । प्रचण्डले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिनुभएको हो । धारा ७६ उपधारा (२) अनुसार नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम त्यसरी नियुक्त भएको एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने उल्लेख छ ।प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले उक्त मत विभाजनको मतपरिणात सार्वजनिक गर्दै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त भएको घोषणा गर्नुभयो । साथै उहाले विश्वासको मत प्राप्त गरेकोमा प्रधानमन्त्रीलाई बधाई दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । प्रतिनिधिसभा सदस्यको यही मङ्सिर ४ गते भएको निर्वाचनमा ३२ सिटसहित माओवादी केन्द्र तेस्रो ठूलो दलका रुपमा सदनमा छ । प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांगेस, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।

Comment

Related News