अपडेट 
२०७९ पुष २७, बुधबार ०७:०५

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ले प्रतिनिधिसभाबाट प्रचण्ड बहुमत प्राप्त गरेका छन् । उनले प्रतिनिधिसभाको २ तिहाइ बढी विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा मंगलवार भएको विश्वासको प्रस्तावको मतदानमा उनले २ सय ६८ मत प्राप्त गरे । उनको विपक्षमा २ वटा दलको २ मत परेको थियो ।

प्रधानमन्त्री प्रचण्डले प्राप्त गरेको विश्वासको मत हालसम्म संसदमा अन्य प्रधानमन्त्रीले प्राप्त गरेका थिएनन् ।प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको बेञ्चमा रहने बताइसकेको छ । संसदमा सबै भन्दा ठूलो कांग्रेस नै हो । प्रचण्ड प्रधानमन्त्रीका लागि दाबी गर्दा उनको पक्षमा १ सय ६९ जना सांसदहरुले हस्ताक्षर गरेका थिए । प्रधानमन्त्री बन्नका लागि हस्ताक्षर नगरेका नेपाली कांग्रेस, नेकपा एस, लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)लगायतले विश्वासको मत दिएका छन् । कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बनाउन अस्विकार गरेपछि एमाले लगायतका दलहरुको समर्थनमा उनी नयाँ गठबन्धन बनाएर प्रधानमन्त्री नियुक्त भएका थिए । प्रचण्डले कांग्रेस र नेकपा एससित विश्वासको मत दिन आग्रह गरेका थिए । बैठकमा ५ जना सांसद अनुपस्थित थिए । बैठकमा कुल २ सय ७० सांसद उपस्थित रहेका थिए । सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले उक्त मत विभाजनको मतपरिणाम सार्वजनिक गर्दै सो जानकारी दिए । सांसदहरू अम्बिका बस्नेत, किशोरसिंह राठौर र मनोरमा शेरचन सदनमा अनुपस्थित रहेका थिए । यस्तै सभाका ज्येष्ठ सदस्य जबरा सभा सञ्चालनमा रहेकाले मतदान प्रक्रियामा सहभागी भएनन् । फौजदारी अभियोग लागेका अर्का एकजना सांसद टेकबहादुर गुरुङ सभामा अनुपस्थित थिए ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नेपाली कांग्रेस र नेकपा एसले मंगलवार बिहान मात्र निर्णय गरेका थिए ।लोसपाले भने यस अघि नै निर्णय गरिसके पनि सार्वजनिक गरेको थिएन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाललाई पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । प्रतिनिधिसभा सदस्यको गत मंसिर ४ गते भएको निर्वाचनमा ३२ सिटसहित माओवादी केन्द्र तेस्रो ठूलो दलका रुपमा सदनमा रहेको छ । प्रचण्डले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् । धारा ७६ उपधारा (२) अनुसार नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम त्यसरी नियुक्त भएको एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेकोछ । प्रधानमन्त्री दाहाललाई नेपाली कांगेस, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र ३ जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।

Comment


Related News

Latest News

Trending News