अपडेट 
२०७९ पुष २७, बुधबार ०७:१८

पृथ्वी नारायण साहलाई नेपालको इतिहासमा राष्ट्रिय एकताको प्रतीक मानिएको छ । नेपालको राजनैतिक इतिहास पढ्ने हो भने देशको निर्माणमा सबैभन्दा बढी योगदान पृथ्वी नारायण साहले नै दिएका छन् । कतिपयले त पृथ्वी नारायण साहले गोरखाको विस्तृतीकरण गरेका हुन्, नेपालको एकीकरण गरेका होइनन् भन्ने आरोप लगाउने गर्दछन् । पृथ्वी नारायण साह (अब यसपछि पृथ्वी मात्र उल्लेख गरिनेछ) ले एकीकरण नगरेका भए अहिले नेपाल कस्तो हुन्थ्यो होला ? विस्तृतीकरणको आरोपका पक्षधरहरुसित गरिने प्रश्नहरु यस्तै हुन्छन् । राष्ट्रियतासित जोडिने प्रश्नहरुमा सबैभन्दा बढी राष्ट्रवादीहरु चिन्तित हुन्छन् । पृथ्वीलाई एकीकरणकर्ता नमान्नेहरुले पनि आफूलाई देशबाहिर गएर नेपाली नै भन्नमा गर्व गर्दा हुन् । गर्नुपर्छ पनि । देश भन्नु मुख्य पहिचान हो । मुख्य पहिचानभित्र अन्य पहिचानहरु हुन सक्छन् । उदाहरणको लागि कोही हिमालको हिमाली नागरिक हौँला, कोही पहाडको पहाडी त कोही तराईको मधेशी । यसै गरी सात प्रदेशको वासिन्दाको हैसियतले पनि कोही एक नम्बरी हौँला, कोही मधेश प्रदेशबा मधेसी, कोही बागमती प्रदेशका बामतिया, कोही गण्डकी प्रदेशका गन्डकिया, कोही लुम्बिनी प्रदेशका लुम्बनिया, कोही कर्णाली प्रदेशका कर्नालीवासी त कोही सुदूरपश्मि प्रदेशका सुदूरपश्चिमेली होऔँला । प्रदेशवासीको पहिचानको नाम फरक भएर आउन सक्ला । यसै गरी हिमालमा बस्ने विभिन्न जातिहरु रहेका छन् । हिमालमा बस्ने विभिन्न जातिको आफ्नै पहिचान छ । पहाडमा बस्ने जातिहरु पनि केही हिमालसित मिल्ने छन् र केही हिमालभन्दा फरक छन् । हिमालभन्दा बढी जातिको बसोबास पहाडमा रहेको छ । पहाडका विभिन्न जातिहरुको आफ्नै नाम र पहिचान छ । साथै तराईको कुरा गर्ने हो भने तराईमा त झन् जातीय विविधता रहेको छ । तराईमा बस्नेलाई पहिलेदेखि मधेसी भन्दै आएको थियो । अब मधेसीमा पनि पहिचानको लडाईँ सुरु भएपछि मुस्लिम समुदाय र थारु समुदाय आफूलाई मधेसी मान्न तयार देखिएका छैनन् । मधेसमा पनि पहाडबाट धेरै मानिस बसाईँ सरेर आएका छन् । मधेशका रैथाने मधेसी र आगन्तुक मधेसी गरी दुई थरि मधेसीहरु रहेका छन् । उसो त बसाईँ सरेर जाने क्रम करिब नेपालभरि नै रहेका छन् । विभिन्न पेसाका कारणले आफ्नो सुविधाअनुसार गाउँबाट सहरतिर र एक ठाउँबाट अर्को ठाउँमा जाने क्रममा अब मधेसीहरु पनि लाखौँको संख्यामा काठमाडौँ उपत्यकामा पुगिसकेका छन् । जो जहाँबाट जहाँ बसाईँ सरे पनि दुई किसिमले बाँचिरहेका छन् । आफ्नो जातीय पहिचान र अस्तित्व बचाउन खोजिरहेका छन् र जहाँ नवागन्तुक बनेर बसेका छन्, त्यहाँको स्थानीय संस्कृतिलाई आत्मसात गरिरहेका छन् । यसले गर्दा संस्कृतिको अन्तर्घुलन भइरहेको छ । एकले अर्काको संस्कृतिलाई मान्ने प्रवृत्तिको विकास भइरहेको छ । एक किसिमले सांस्कृतिक विविधतामा पनि सांस्कृतिक एकताको बलियो उदाहरण हाम्रो समाज बन्दै गइरहेको छ । यसको प्रष्ट उदाहरण दशैँ, छठ, नयाँ वर्ष, तिलवासक्रात र अन्य पर्वहरु हुन थालेका छन् । आज छठ पबनी हिमालमा पनि मनाइन थालेको छ, पहाडका सबै सहरमा धुमधामका साथ मनाइने गरिन्छ छठ पबनी । यसै गरी हाम्रो तराईमा मनाइने दशैँको परम्परागत स्वरुपमा पहाडमा मानिने दशैँको प्रभाव हावी भइसकेको छ । यद्यपि हामी आफ् नो घरमा भने परम्परागत किसिमले नै दशैँ मान्ने मनाउने गरेका छौँ ।

अब पूर्व र पश्चिमको संस्कृतिमा पनि एकता देखिन्छ । यसरी जातीय विविधता, सांस्कृतिक अनेकता तथा भाषिक विविधताको बिचमा पनि हामी सबै किसिमले राष्ट्रिय एकताको सबालमा केन्द्रित हुन्छौँ अर्थात् हामी सबै अनेकतामा एक छौँ र एकताभित्र अनेक छौँ भन्ने तथ्यलाई स्वीकार गर्दछौँ । यहीँनेर पृथ्वीको एकीकरणलाई सार्थक भएको मान्दछौँ । आफूलाई अखण्ड नेपालको एक नागरिक हुनुमा गर्व गर्दछौँ । गर्वको अनुभूति गराउने विन्दूको खोजी गर्दै जाँदा पृथ्वीसम्म पुग्नै पर्दछ । पृथ्वीले एकताको बाटो बनाए र फराकिलो बाटोमा हिँड्दै हामी आज पनि उही एकताको बाटोमा सुगम यात्रा गरिरहेका छौँ । एक राष्ट्रवादी नागरिक जब देशको कुनै सुदूर कुनामा पुग्दछ र जब आफ्नो भाषा, भेष, परिवेश, संस्कृति तथा सांस्कृतिक पर्यावरणभन्दा निकै पृथक आफ्नो देशलाई पाउँछ तब आफ्नो देशप्रति आफूलाई फरक किसिमले गर्वको अनुभूति हुन्छ किनभने त्यस सांस्कृतिक परिवेशलाई पनि आफ्नै ठान्ने मनोभाव उत्पन्न भएको हुन्छ । मनको जुन कुनामा वा हृदयको कुनै कुनामा आफ्नो पनको भाव उत्पन्न हुन्छ, त्यो पनि एकताकै भाव हो, राष्ट्रिय एकताको भावना हो र राष्ट्रिय एकताको भाव र भावनाको विकास पृथ्वीबाट भएको भन्ने कुरामा शंका छैन । पृथ्वीले राष्ट्रिय एकीकरण अभियान नथालेको भए नेपालको एकीकरण हुने थिएन भन्ने भनाइ धेरैको रहेको छ । यो भनाइ शतप्रतिशत सही हो भन्ने मलाई लागेको छ । हाम्रो देश राजनैतिक दृष्टिकोणले निरन्तर आन्दोलन भइरहने देशको रुपमा रहेको छ । राणा शासनपछि यस देशमा धेरै आन्दोलनहरु भएका छन् । आन्दोलन त विचारको पनि हुन्छ । राजनीति जहिले पनि विचारले निर्देशित हुन्छ । कतिपय अवस्थामा राजनीतिको आन्दोलनमा पृथ्वीलाई नमान्ने र कतिपय आन्दोलनले पृथ्वीलाई मान्ने गरी विचारहरु प्रवाहित भइरहे । नेपालका अहिले विभिन्न संस्कृतिको बारेमा सबैलाई जान्ने र मान्ने अवसर पाउनुमा धेरै हदसम्म राजनैतिक आन्दोलनको परिणति हो । राजनैतिक प्रभावले नै जसको जहाँ जहिले पहुँच हुन्छ, आफूले मान्ने पर्वलाई राष्ट्रिय पर्वको रुपमा मान्ने वा त्यस दिन राष्ट्रिय पर्वको रुपमा देशमा विदा दिने गरिन्छ । केही वर्षपछि पुथ्वी जयन्ती अर्थात् राष्ट्रिय एकता दिवसको अवसरमा आजको दिन देशभर सार्वजनिक विदा दिइएको छ । पृथ्वी जयन्तको दिन देशमा सार्वजनिक विदा दिइनु अत्यन्त स्वाभाविक हो । पृथ्वी जयन्तीलाई नमाने पनि नेपाललाई त पक्कै मानेका छन् । नेपालको लागि यो दिन निकै महत्वपूर्ण छ । पृथ्वीको जन्म भएको दिन भएको कारणले पनि हामी नेपाली कहलिन पाएका छौँ । नेपाली कहलिनुमा पृथ्वीको भूमिका छ । पृथ्वीले चाहेका भए देशको राजधानी गोरखा बनाउन सक्थे । उनले गोरखा राजधानी बनाएनन् । उनले चाहेका भए देशको नाम गोरखा नै रहन दिन्थे । उनी गोरखाका राजा थिए । गोरखाको विस्तृतीकरण मान्नेहरुले यो बुझ्नु आवश्यक छ कि पृथ्वीले गोरखाको विस्तृतीकरण गरेका भए देशको नाम गोरखा नै राख्ने थिए तर उनले त्यसो गरेनन् । यसको अर्थ यो हो कि नेपालको एकीकरण गरेका हुन्, गोरखाको विस्तृतीकरण होइन । देशको नाम नेपाल राख्नु र देशको राजधानी काठमाडौँलाई बनाउनुमा पृथ्वीले देखाएको दूरदर्शिताले सबै किसिमका राजनैतिक आरोपहरुलाई खण्डन गर्ने सामथ्र्य राख्दछ । यसको अर्को उदाहरण, जब काठमाडौँलाई पृथ्वीले जिते तब काठमाडौँवासी एउटा पर्व मनाइरहेका थिए । पृथ्वीले उक्त पर्वलाई सांस्कृतिक दृष्टिकोणले मनाइरहन नै आदेश दिए । पर्वलाई रोक्न चाहेनन् र काठमाडौँवासीमा कुनै डर उत्पन्न नहोओस् भन्ने चाहे । यसरी पृथ्वीले एकता र एकीकरण गरेका हुन्, विस्तृतीकरण होइन । आजको सन्दर्भका पृथ्वी दिवस र राष्ट्रिय एकता दिवसको निकै ठूलो महत्व भएको छ । अहिले देश सात प्रदेशमा विभक्त भएको छ ।

पहिले पाँच विकास क्षेत्र भनेर पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चलमा थियो । अहिलेको प्रदेशको संरचना पनि कतिपयलाई मन परेको छैन । मन नपर्नुका पछाडि धेरै कारणहरु हुन सक्छन् तर अहिलेको यथार्थलाई स्वीकार्नु सबैको धर्म हो, कर्तव्य हो । यसै यथार्थको धरातलमा उभिएर हामीले पृथ्वीलाई एकताको प्रतीक मानिरहेका छौँ । अहिले जसरी हामी अनेकमा एक छाँै र एकभित्र अनेक छौँ भनिरहेका छौँ । एकताभित्र हाम्रो विभाजित पहिचानलाई कायम राख्न पनि राष्ट्रिय एकता दिवसको अन्तर्यलाई बुझ्नु जरुरी छ । विविधतालाई नै एकता गर्ने हो भन्ने मान्यतालाई सबैले मान्नु पर्दछ । यहाँ राष्ट्रिय एकता दिवसले भौगोलिक एकता, राजनैतिक एकता तथा सांस्कृतिक एकतालाई पनि दर्शाउँछन् । अहिलेको समयमा कोही पनि बाइसे चौबिसेको समयको कल्पना गर्न सक्दैन । कोही पनि त्यस्तो कल्पना गर्न सक्दैन । यदि कल्पना नै गर्दैन भने यसको अभ्यन्तरमा यो पनि छ कि यस एकतालाई अन्तर्हृदयमा स्वीकार गरेका छन् । यही नै हाम्रो एकताको विशिष्टता हो कि पृथ्वीलाई नमान्ने भनी ठान्नेले पनि पृथ्वीलाई हृदयदेखि सम्मान गर्दछन् । हिमालदेखि तराईसम्म र पूर्वदेखि पश्चिमसम्म अनेक विविधताबिच एकताको सन्देश दिने आजको दिनलाई हरेक नेपालीले श्रद्धाका साथ स्वीकार गर्नुपर्छ र हरेक नेपालीले पृथ्वीप्रति श्रद्धा देखाउनु पर्दछ । कतिपय कामकुरो तत्कालीन परिवेशअनुकूल गरिएको हुन्छ । कालान्तरमा परिवेश बदलिन्छ । परिवेश बदलिएपछि नयाँ परिवेशअनुसार पुरानो कामको मूल्यांकन गर्दछौँ । हुन त जुनसुकै परिवेशमा पनि जुनसुकै कामको मूल्यांकन गर्न सकिन्छ तर यस्ता राजनैतिक एकीकरणमा यस्ता कुरालाई अपवाद मान्नुपर्दछ । यद्यपि आजको परिवेशमा पनि पृथ्वीको एकता अभियानको सार्थकता रहेको छ । हामी सबै नेपालीले आफूप्रति नेपाली हुनुमा जसरी गर्व गर्दछौँ, त्यसै गरी नेपालीलाई एकता गराउने पृथ्वीप्रति गर्व र श्रद्धाको भाव पनि राख्दछौँ । यसका पनि केही अपवाद होलान् । अपवादको रुपमा केही समय कसैले नमान्लान् तर अन्तर्हृदयबाट सदैव सबै नेपालीले नेपालको इतिहासमा आजको दिनलाई विशेष र विशिष्ट दिन मानेर पृथ्वीलाई सम्झिनेछन्, सम्झिइरहने छन् ।

Comment

Related News

Latest News

Trending News