अपडेट 
२०७९ पुष २७, बुधबार ०७:२८

वीरगञ्ज महानगरपालिकाले सडकमा जथाभावी फोहोर फाल्नेलाई कडा कारबाही गर्न थालेको छ । सडकका ठाउँठाउँमा खटिएका नगरप्रहरी र सफाइकर्मीले जथाभावी फोहोर फाल्नेलाई तत्कालै जरिवाना गर्ने गरेका छन् । सडकमा जथाभावी फोहोर फाल्नेमा यहाँका वित्तीय संस्था अघि देखिएका छन् ।

मंगलबार मात्रै ग्लोबल आईएमई बैंकलाई अहिलेसम्मकै धेरै ५ हजार रुपैयाँ जरिवाना गरिएको छ । पुरानो बसपार्क नजिकै रहेको बैंकले सडकमा फोहोर फालेकाले जरिवाना गराइएको महानगरका सरसफाई तथा वृक्षरोपण गरिएको संयोजक जयप्रकाश खेतानले बताए । यस्तै,शिखर इन्स्योरेन्सलाई १ हजार ५ रुपैयाँ र महालक्ष्मी फ् लावर पसललाई ५ सय रुपैयाँ जरिबाना गरिएको पनि संयोजक खेतानले बताए । फोहोरको प्रकृति र मात्राको आधारमा जरिवाना गर्ने गरिएको पनि उनले जानकारी दिए । पहिलो चरणमा सचेत अभियान चलाइएको भए पनि अटेर गरेर सडकमै फोहोर फाल्न नछाडेपछि अब जरिवाना गर्न लागिएको महानगरका सरसफाइ प्रमुख सरफुद्धिन मियाँले बताए । ‘सडकमा जथाभावी फोहोर नफालौँ भनेर माइकिंग गर्नुका साथै संचारमाध्यमबाट प्रचार प्रसार पनि गरियो,स्थलगत रुपमै पनि सचेतना अभियान चलाइयो,’ उनले भने, ‘तर पनि अटेर गरेपछि बाध्य भएर जरिवाना गर्दै छौँ।’ अहिले दैनिक जसो वित्तीय संस्था र पसललाई जरिवाना गरिदै छ ।

कृषि विकास बैंक र गगन बचत तथा ऋण सहकारी संस्थालाई पनि जरिवाना गरिएको छ ।महानगरपालिका का नगरप्रमुख राजेशमान सिंह निर्वाचित भएर आएसँगै नगर हरियाली र सरसफाइलाई प्राथमिकता दिँदै अभियान चलाइरहेका छन् ।

Comment

Related News