अपडेट 
२०७९ पुष २७, बुधबार ०७:३५

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको नेता बनाउन बहुमत सांसदले अभिराम शर्मालाई समर्थन गरेका छन् ।

मंगलबार पाँच सांसदले समर्थनसहितको प्रस्तावपत्र केन्द्रीय कार्यालयमा पठाएका छन् । सर्वसहमतिबाट नेता चयन गर्नका लागि पार्टी अध्यक्ष महन्थ ठाकुरलाई पाँच सांसदले हस्ताक्षर गरी दलको नेता अभिराम शर्मालाई बनाउन प्रस्ताव गरिएको लोसपाकै सांसद रुपा यादवले जानकारी दिइन् । उनका अनुसार पार्टीले बुधबार सम्म पत्रको जवाफ दिएपछि दलको नेतामा सर्वसहमतिका रुपमा अभिराम चयन हुने छन् । लोसपा महोत्तरीमा मजबुत दल छन् । मधेश प्रदेशमा लोसपाको कुल ९ सांसद छन् । जसमध्ये पाँच जना सांसद महोत्तरीबाट नै छ । यद्यपि महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ को ‘क’बाट निर्वाचित जयनुल राइन र महोत्तरीकै समानुपातिक रमिता प्रधानले अभिरामलाई समर्थन गरेका छैनन् । अभिरामलाई सांसद रमेश पटेल, उपेन्द्र महतो, रानी शर्मा र रुपा यादवले समर्थन गरेका छन् । सोनलतर्फ महोत्तरीका जयनुल राइन, सिरहाका राम बाबु यादव, र रमिता प्रधान मात्रै छन् ।

लोसपामा अर्का दाबेदार जितेन्द्र सोनल यसपटक पनि दलको नेता बन्ने कसरतमा छन् । तर उनलाई चार सांसदको मात्रै समर्थन रहेको देखिएको छ । बारा निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’बाट निर्वाचित सोनल पार्टी अध्यक्ष महन्थ ठाकुरको निकट मानिन्छ । उनी यसअघि पनि दलको नेता र सरकारमा सहभागी हुँदा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा थिए । सोनल पार्टीको प्रदेश अध्यक्षसमेत छन् । उनकै नेतृत्वमा पार्टी निर्वाचनमा होमिएको थियो । यसअघि ०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)ले २५ सिट जितेको थियो । मधेश प्रदेशमा लोसपा, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी प्रतिपक्षको भूमिकामा रहने लगभग निश्चित जस्तै छ । कांग्रेसले दलको नेतामा कृष्णप्रसाद यादवलाई चयन गरिसकेका छन् भने नेकपा (एस)को पनि नेता छनोट हुन सकेको छैन् ।

Comment


Related News

Latest News

Trending News