अपडेट 
२०७९ पुष २७, बुधबार ०७:५१

एक साता यता शीतलहर चलेसंगै बढेको अत्यधिक चिसोले यहाँको जनजीवन कष्टकर बनेको छ । मंगलवार यहाँ यो वर्षकै सर्वाधिक चिसो महसुस गरिएको छ ।

बाक्लो हुस्सु र निरन्तर चलिरहेको चिसो हावाले स्थानीयको दैनिक जीवनयापन कष्टकर बनेको छ । मंगलवार यहाँको तापक्रम ८ देखि ९ डिग्रीमा झरेको मौसम राजविराज विमान स्थल कार्यालयले जनाएको छ । विहानै देखि चल्ने शीतलहर र हुस्सुका कारण घरबाट मानिस कमै निस्किदा सडकमा चहल पहल निकै घटेको छ भने अस्पताल तथा स्वास्थ्य चौकीहरुमा दम, झाडापाखा,रुघाखोकीका विरामीको चाप बढेको स्वास्थ्यकर्मी बताउँछन् । शीतलहर बढेपछि बजारमा दाउरा बालेर आगो ताप्ने दृश्य जताततै देखिएको छ । चिसोबाट विशेष गरी अतिविपन्न, मुसहर र दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवार सबैभन्दा बढी प्रभावित भइरहेका छन् ।मजदुरहरु काममा जान पाएका छैनन् भने घरमै बस्नु पर्दा हातमुख जोर्ने समस्या भइरहेको तिलाठी कोइलाडी गाउँपालिका ४ का बैजु सदाले बताए । यस्तै, छिन्नमस्ता गाउँपालिका ३ का सत्यनारायण मुखियाको पनि गुनासो रहेको छ ।

उनले भने “एकातीर शरीर ढाक्ने पर्याप्त न्यानो लुगा छैन भने अर्काेतीर अत्यधिक चिसोले काममा जान नपाउँदा हात मुख जोर्न समस्या भएको छ, गाउँघरबाटै संकलित गरेको दउराको भरमा जाडो झेलिरहेको छु ।’ अतिविपन्न मुसहर तथा डोम समुदायले जाडो छल्न अधिकाँश समय आगो तापेर वसिरहेका छन् । बाक्लो हुस्सुले भिजीविलीटी कम भएपछि पूर्वपश्चिम राजमार्गसहित बजार र ग्रामीण क्षेत्रको भित्री सडकमा चल्ने सवारी साधन विहान र दिउसै पनि बत्ती बालेर गुडिरहेका छन् । ट्राफिक प्रहरीले पनि यस्तो मौसममा सावधानी अपनाएर सवारी साधन गुडाउन अनुरोध गरिरहेको छ । यता जाडोबाट जोगिन न्यानो कपडा लगाउन, तातो झोलिलो खाने कुरा खान र अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन गजेन्द्र नारायण सिह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश साहले सुझाव दिएका छन् ।

Comment


Related News

Latest News

Trending News