अपडेट 
२०७९ पुष २८, बिहीबार ०७:२३

मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) का सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले जसपा संसदीय दलका नेता यादवलाई बुधवार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मधेश प्रदेशका ६३ जना सभा सदस्यको समर्थनसहितको पत्र बुझाएपछि यादवलाई संविधानको धारा १६८ को उपधारा (२)बमोजिम मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो । उनलाई नेकपा एमाले, जसपा, जनमत पार्टी, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी सहित २ जना स्वतन्त्र सांसदले समर्थन गरेका हुन् । मुख्यमन्त्रीमा यादवलाई नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाहेकका सबै दलले समर्थन गरेका छन् । नेकपा (एमाले)का २३, जसपाका १६, जनमत पार्टीका १३, नेकपा (माओवादी केन्द्र)का ७, राप्रपाका १, नागरिक उन्मुक्ति पार्टीका १, स्वतन्त्र सांसदद्वय सुरिता साह र अनुरुद्ध प्रसाद सिंहले समर्थन गरेका हुन् । माओवादी केन्द्रको ९ जना सांसद भए पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको कारण २ जना सांसदको शपथ ग्रहण हुन सकेको छैन् । प्रदेश प्रमुख मिश्रले विहीबार अपरान्ह ४ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी गर्ने समय दिएका थिए । मधेश प्रदेशसभामा कुल १ सय ७ सांसद छन् । बहुमतको सरकार बनाउन कम्तीमा ५४ सांसद आवश्यक पर्छ । तर नव नियुक्त मुख्यमन्त्रीलाई ६३ सांसदको समर्थन छ । कांग्रेसको २२, लोसपाको ९, नेकपा (एस)को ७ र अन्य स्वतन्त्र सांसदले मात्रै उनलाई सर्मथन गरेका छैनन् । मुख्यमन्त्रीमा नियुक्त भएसँगै उनको शपथ ग्रहणको तयारी तीव्र रुपमा भइरहेको छ । मधेश भवन भित्र पण्डाल सजाउने काम भइरहेको छ । शुक्रवार सवा १२ बजे उनको शपथ ग्रहण कार्यक्रम राखिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु यादवले जनाए अनुसार मुख्यमन्त्रीसँग १ जनाले मात्र मन्त्री पदको शपथ लिने छन् ।सत्तागठबन्धनका दलहरुबीच मन्त्रालयको बाँडफाँट बाँकी रहेकाले १ जना मन्त्रीले मात्र शपथ लिने छन् । ‘मन्त्रालयको टुँगो लगाउन र मन्त्रीको नाम सिफारिस गर्न दलहरुलाई केही समय चाहिएको छ ’ । मधेश प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने संघीय गठबन्धनमा सहमति भएको छ ।सरकारको पहिलो नेतृत्व जसपाले गर्ने र प्रदेश सभामा उपसभामुख जनमत पार्टीले पाउने सहमति भएको एमालेका एकजना सभासदले जनाए । सभामुख भने ५ वर्षको पूर्ण कार्यकाल एमालेको रहने सहमति भएकोछ । नेपाली कांग्रेसले जसपालाई ५ वर्ष नै सरकारको नेतृत्व गर्ने गरी समर्थन गर्ने प्रस्ताव गरेको जसपाका अध्यक्ष यादवले बताए ।तर गठबन्धनका शीर्ष नेताहरुबीच मधेश प्रदेशमा पद बाँडफाँटमा सहमति भइसकेकाले त्यसै अनुसार हुने उनले बताए । कांग्रेसको समर्थन नरहेको मधेश प्रदेश सरकारलाई विश्वासको मत पनि नदिने कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले जनाए ।‘कांग्रेसको समर्थनमा सरकार बनाएको भए जसपालाई पूर्ण समय दिन सकिन्थ्यो ’ उनले भने, अब कांग्रेस प्रमुख प्रतिपक्षको रचनात्मक भूमिका निर्वाह गर्नेछ ।

नवनियुक्त मुख्यमन्त्री यादवले सहमति अनुसार नै मन्त्रीमण्डल गठनका साथै ‘हाल कायम रहेको १० वटा मन्त्रालय नै रहनेछ’ । ‘मधेश प्रदेशमा भ्रष्टाचार हुन दिने छैनौ’ उनले भने, भ्रष्टाचार गर्नेहरुलाई कारबाहीको दायरामा ल्याइनेछ ।

Comment

Related News