अपडेट 
२०७९ पुष २८, बिहीबार ०७:५३

मधेश प्रदेशको मुख्यमन्त्रीमा बारा निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’बाट निर्वाचित सरोजकुमार यादव नियुक्त भएका छन् ।

बुधबार ६३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका ५१ वर्षीय यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले बुधबार नै नियुक्त गरेका छन् । वि.स.२०२८ माघ १० गते बाराको सिमरौनगढ नगरपालिका–३ मा जन्मिएका यादव निरन्तर पदमा रहदै आएका व्यक्ति हुन् । बुबा परमानन्दप्रसाद यादव र आमा सिकिल देवीको कोखबाट जन्मेका उनी प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन् । ०४८ सालबाट राजनीति सुरु गरेका यादव ०५४ सालमा बाराको तत्कालीन हरिहरपुर गाविसको अध्यक्ष बनेका थिए । ०६४ सालको निर्वाचनमा उनी बारा निर्वाचन क्षेत्र १ बाट तत्कालीन सद्भावना पार्टीबाट संविधानसभा सदस्य भएका थिए ।

त्यसपछि ०६६ सालमा माधव नेपाल नेतृत्वका सरकारमा उनी वाणिज्य तथा आपूर्ति राज्यमन्त्री र ०६८ मा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका थिए । सद्भावना पार्टीको ०६९ सालमा उनी महासचिव बनेका थिए । ०७३ सालमा सोही पार्टीमा उपाध्यक्ष भएका यादव तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) गठन हुँदा समेत उपाध्यक्ष नै थिए । ०७४ को प्रदेशसभा निर्वाचनमा राजपाबाट बारा निर्वाचन क्षेत्र १ को ‘ ख’बाट निर्वाचित भएका थिए । मधेशमा त्यतिबेला दोस्रो दल रहेको राजपाबाट उनी निर्विरोध सभामुख पदमा चयन भएका थिए । तर जसपाबाट महन्थ ठाकुर समूह अलग्गिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गर्दा उनी जसपा नै रोजेका थिए । अहिले जसपाबाट उनी मुख्यमन्त्री बनेका छन् ।

Comment

Related News