अपडेट 
२०७९ पुष २८, बिहीबार ०७:५५

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको नेतामा अभिराम शर्मा सर्वसम्मत चयन भएका छन् । महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ को ‘ख’ बाट निर्वाचित शर्मा बुधवार दलको नेतामा निर्विरोध चयन भएका छन् ।

मंगलबार पाँच सांसदले समर्थनसहितको प्रस्तावपत्र केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष महन्थ ठाकुरलाई बुझाएको थियो । सोही पत्रको आधारमा बुधबार बसेको बैठकले उनलाई सर्वसहमतिमै चयन गरिएको छ । लोसपा प्रदेशसभामा प्रतिपक्षी दलको भूमिकामा छन् । अभिरामलाई सांसद रमेश पटेल, उपेन्द्र महतो, रानी शर्मा र रुपा यादवले समर्थन गरेका छन् । लोसपामा अर्का दाबेदार जितेन्द्र सोनल पनि पुनः दलको नेता बन्ने गृहकार्य गरेका थिए । तर पार्टी अध्यक्ष ठाकुर निकट मानिने उनी दलको नेता बन्न सफल हुन सकेनन् । सांसद सोनलको पक्षमा चार सांसद मात्रै उभिएका थिए । महोत्तरीका जयनुल राइन, सिरहाका रामबाबु यादव, र रमिता प्रधानले सोनललाई समर्थन गर्ने मनसायमा थिए ।

तर बहुमत सांसद नपुग्ने अवस्था भएपछि उनीहरुले निर्विरोध रुपमा अभिरामलाई चयन गरेका छन् । मधेश प्रदेशमा प्रतिनिधित्व गर्ने अधिकांश पार्टीले दलको नेता चयन गरिसकेका छन् । नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको नेता अझै चयन हुन सकेका छैनन् । अधिकांश दलले नेता चयन गरेसँगै सरकार गठनको प्रकृया तीव्र रुपमा सुरु भएको छ । यही पुस २९ गते प्रदेशसभामा सभामुख र उपसभामुख पदको लागि मनोनय दर्ता हुने समय तोकिएको छ । आगामी माघ २ गते प्रदेशसभा बैठक पनि राखिएको छ । सो बैठकमा सभामुख र उपसभामुख पदका लागि चयनको प्रस्ताव प्रस्तुत हुने कार्य सूची रहेको छ ।

Comment


Related News