
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता क्षेत्रलाई मर्यादित निष्पक्ष र सुरक्षित बनाउन आवश्यक सबै पहल थालिएको बताएका छन् ।
बुधवार प्रेस काउन्सिल नेपालद्वारा पत्रकार महासंघ सप्तरी शाखाको समन्वयमा राजविराजमा आयोजना गरिएको पत्रकार आचारसहिंता, मिडिया विकास कोष र पत्रपत्रिका वर्गिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले पत्रकारिता क्षेत्रका केही जटिल समस्या संसदबाट नै समाधान हुनसक्ने भएकाले त्यसतर्फ पनि पहल थालेका बताए । उनले काउान्सिल सबैसंगको समन्वयको आधारमा पत्रकारिता क्षेत्रको समस्या समाधान गर्न र स्वच्छ पत्रकारिताको मर्यादालाई कायम राख्न प्रयत्नशील रहेको चर्चा गर्दै पत्रकार र संचारमाध्यमले स्वस्थ, स्वच्छ, स्वतन्त्र र मर्यादित पत्रकारिताका लागि न्याय निरुपणमा प्रभाव पर्ने, सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सदभावमा खलल पुग्ने लगायतका कार्य नगर्न सहभागीहरु समक्ष १४ बुंदे सुझावपत्र समेत प्रस्तुत गरेका थिए । कार्यक्रमका सहभागीले जिल्लावाट संप्रेषित पत्रपत्रिका संचार माध्यमको विज्ञापनको कुनै ठोस श्रोत र आधार नरहेको कारण लोककल्याणकारी विज्ञापन वापत राज्यले उपलब्ध गराउदै आएको केही रकमले मात्रै धान्नु परेको भनी चिन्ता व्यक्त गरेका थिए ।
प्रेस काउन्सिल नेपालका सदस्य राम प्रसाद दाहालले पत्रकारिता क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन विभिन्न नीति निर्माण कार्य तीव्र गतिमा अघि बढेको बताए । कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द चौलागाइले जेष्ठ र वरिष्ठ पत्रकारहरुलाई भावी दिनमा पेन्शनको व्यवस्था लागुगर्न काउन्सिल र सरकारसंग समन्वय गरी अघि बढेको बताए । कार्यक्रममा पत्रकार महासंघ शाखा सप्तरीका सभापति श्रवण देव,मधेश प्रदेश आम संचार प्राधिकारणका अध्यक्ष श्यामसुन्दर यादव, प्रेस काउन्सिल नेपालका पूर्व सदस्य एवं वरिष्ठ पत्रकार अनिल कुमार अनल, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, पत्रकार महासंघ सप्तरीका पूर्व सभापति मुरली प्रसाद यादव, तिरहुत गाउँपालिकाका अध्यक्ष विजय कुमार यादव, रुपनी गाउपालिकाका अध्यक्ष दिनेश कुमार यादव लगायतले पनि पत्रकारिता क्षेत्रमा देखिएको समस्या र तीनको समाधानबारे आ आफनो धारणा राखेका थिए ।