अपडेट 
२०७९ पुष २८, बिहीबार ०८:११

ध्रुब झा, जनकपुरधाम|

थोत्रा सवारीसाधनले कार्यालय परिसर भरिभराउ छ । जताततै गाडी थन्काइएको छ । सवारीहरु कवाडमा परिणत भएर भद्दा देखिन्छ । यो दृष्य हो, जनकपुरधाम उप–महानगरपालिका स्थित जनकपुर भन्सार कार्यालयको । यहाँ दुई वर्षदेखि अवैध कारोवारमा संलग्न हुँदा नियन्त्रणमा लिइएको सवारीहरु अलपत्र अवस्थामा छ ।

करिब पाँच सय सवारी साधन कार्यालय वरिपरि बेवारिसे अवस्थामा रहेको छ । लिलामी प्रक्रियामा ढिलाइ हुँदा सरकारको लाखौं राजश्व गुम्ने अवस्थामा पुगिसके पनि सरोकारवाला निकाय गम्भीर हुन सकेका छैनन् । विभिन्न मुद्दामा प्रहरीले नियन्त्रणमा लिइ भन्सारलाई बुझाएका साढे चार सय मोटरसाइकल तथा टेम्पु, जीप,एम्बुलेन्स गरी पचास वटा भन्दा बढी चारचक्के गाडी कार्यालयमै रहेको भन्सार कार्यालय जनकपुरधामका प्रमुख केशवराज ओलीले जानकारी दिए । उनका अनुसार लामो समयदेखि खुला आकाशमुनि राखिएको सवारी साधनहरु मध्ये दुई सय भन्दा बढी सवारी साधनमा खिया लागिसकेको छ । बाँकी सवारी साधनहरु पनि खिया लागेर नष्ट हुने जोखिम छ । नियन्त्रणमा लिइएका सवारी साधनहरुको चाप बढ्दै जानु र निलामीमा ढिलाई भएपछि सवारीमाथि नै सवारी थन्काउँदा थुप्रै मोटरसाइकलहरु कामै नलाग्ने अवस्थामा समेत पुगेको छ । झन्झटिलो प्रक्रियाका कारण लिलामीमा ढिलाई भएको कार्यालय प्रमुख ओलीले बताए । ढिलाइ भए पनि केही समय पछि लिलामी प्रक्रिया सुरु गरिने उनले बताए । सवारी साधनहरुको मोडेल पहिचान गर्नुपर्ने, मूल्याँकन समिति गठनगरी सवारीको मूल्याँकन गर्नु पर्ने लगायतका झन्झटिलो प्रक्रिया भएकोले लिलामी हुन ढिलाइ भएको उनले प्रष्ट गरे । सवारीको मोडेल पहिचान गर्नका लागि डिलरहरुमा पत्राचार गरिसकेको प्रमुख ओलीले जानकारी गराए पनि कुन–कुन डिलरलाई पत्राचार गरिएको भन्ने प्रश्नको जवाफ उनले दिएनन् । राजश्व संकलन तथा सवारी लिलामी नै भन्सार कार्यालयको मुख्य दायित्व रहेको स्विकार गरेका प्रमुख ओलीले भने,‘ म सरुवा भइ आएको दुई महिना मात्रै भएको छ । तर मैले लिलामी प्रक्रियालाई अगाडि बढाएको छुँ । अब डिलर हरुले कहिले जवाफ दिन्छन् त्यसकै प्रतीक्षामा छौ ।

’ लिलामी भएर बिक्री हुँदा कम्तीमा एउटा मोटरसाइकल ३० हजारसम्मको राजश्व संकलन भए ३० हजारको दरले दुई सय मोटरसाईकलको मूल्य जोड्ने हो भने ६० लाख रकम उठाउन सकिने राजश्व गुम्ने खतरा बढिरहेको एक कर्मचारीले नाम नखुलाउने शर्तमा बताए । उनले भने,‘अहिले सम्म प्रक्रिया अगाडि नै बढाइएको छैन । कसैलाई यसबारे वास्ता नै छैन । यदि सरकारी सम्पत्तिको सदुपयोग गर्न तर्फ कर्मचारीहरु संवेदनशील भएको भए यो अवस्था सृजना हुने नै थिएन ।’ सवारी साधनकै चापको कारण कार्यालय परिसर मात्र होइन कार्यालय अगाडिको मुख्य सडकमा पनि जाम लाग्ने गरेको छ । चार चक्के लाखौका गाडीहरु पनि खिया लागेर नष्ट भइरहेको छ । लिलामी प्रक्रियामा अझै ढिलाइ गरिए केही दिन भित्रै सबै सवारी साधन कामै नलाग्ने र लिलामी भए पनि न्यून मूल्यमा मात्रै लिलामी हुने निश्चित रहेको छ ।

Comment

Related News

Latest News

Trending News