अपडेट 
२०७९ पुष २९, शुक्रबार ०६:५५

मधेश प्रदेशका गृह तथा संचारमन्त्री भरत प्रसाद साहले प्रदेश जनलोकपाल आयोगसहितका विभिन्न संस्थाहरुले प्रदेश सरकारको अनावश्यक खर्च बढाएको भन्दै त्यसलाई बन्द गर्नुपर्ने बताएका छन् ।

मधेश मिडिया काउन्सिलले बिहीबार आयोजना गरेको वार्षिक बुलेटिन विमोचन कार्यक्रममा मन्त्री साहले प्रदेश जनलोकपाल आयोगको प्रदेशमा कुनै काम नगरेको भन्दै त्यसलाई बन्द गर्नुपर्ने बताए । भष्ट्राचार, अनियमितता सम्बन्धी कार्य निगरानी र अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदा हँुदै त्यही प्रकृतिका जनलोकपाल गठन गर्नु आवश्यक नै थिएन । मन्त्री साहले भने,‘ जनकपुरमा जनलोकपालको कार्यालय छ र अख्तियारको कार्यालय बर्दिवासमा छ । त्यसमा के फरक छ, मान्छे बर्दिवासमा गए पनि उजुरी दर्ता गराउन सक्छन् । जनलोकपालमा उजुरी दर्ता गराए पनि त्यसमा आखिर अन्तिममा उक्त फाइल अख्तियारलाई बुझाउने हो । भनेपछि जनलोकपालको के काम भयो ? त्यसकारण अब यो गठन हुने सरकारले यो विषयमा गम्भीर हुनु आवश्यक छ ।’ त्यसैगरी, मन्त्री साहले मिडिया काउन्सिल, आम सञ्चार प्राधिकरण र चलचित्र विकास बोर्डलाई एउटै संस्थामा गाभ्नुपर्नेमा जोड दिएका थिए ।

ती संस्थाले प्रदेश सरकारको अनावश्यक खर्च बढाएको छ, मन्त्री साहले भने,‘ तीन वटा संस्थालाई एउटैमा गाभेर एउटा बलियो निकाय गठन गरेपछि त्यसले प्रभावकारी काम पनि गर्न सकिन्थ्यो । अहिले कर्मचारीको पनि अभाव छ,त्यसको यी संस्थाहरुले प्रभावकारी काम पनि गर्न सकिरहेको अवस्था छैन।’ कार्यक्रममा काउन्सिलका अध्यक्ष कैलाश दास,मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोष कापडि, गृह तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतो, पत्रकार तथा साहित्यकार रमेश रंजन झा,रोशन जनकपुरी, अनिल कर्णसहिको सहभागिता रहेको थियो ।

Comment

Related News

Latest News

Trending News