अपडेट 
२०७९ पुष २९, शुक्रबार ०७:२२

यस क्षेत्रबाट लोपोन्मुख हुँदै गएको चकेवा चरो लामो समयपछि ठूलो संख्यामा देखापरेको छ । धनुषाधाम तथा वरपरका सिमसार क्षेत्रमा पुस १६ गतेदेखि जारी रहेको चरा गणनाको क्रममा चकेवा–चकेवी ठूलै समूहमा देखापरेको मिथिला वाइल्ड लाईफ ट्रष्टका प्रमुख देवनारायण मण्डलले जानकारी दिएका छन् ।

धनुषा र सिरहाको सीमामा पर्ने पुरन्दाहा स्थित कमला नदी तथा धनुषाधाम स्थित पोखरीमा चकेवा देखापरेको उनले बताए । धनुषाधाम स्थित पोखरीमा चार वटा तथा कमला ब्यारेज नजिकै नदीमा १२ वटा भन्दा बढीको समूहमा चकेवा–चकेवी देखापरेको उनले स्पष्ट पारे । पानीको मुहान ÷स्रोतहरु सुक्दै गएपछि साइबेरिया लगायतका मूलुकबाट चिसोको बेला बसाईँसराई गरी धनुषाधाम क्षेत्रमा आउने चकेवाको संख्या अत्यन्त न्यून हुँदै गएको थियो तर यस वर्ष भने चकेवाको संख्यामा ह्वात्तै वृद्धि भएको प्रमुख मण्डलले बताए । यस अघि गत आर्थिक वर्षमा भएको गणनाको क्रममा चार वटा चकेवा मात्रै देखापरेकोमा यस वर्ष चकेवाको संख्या वृद्धि भएर दर्जन भन्दा बढी पुग्नु यस क्षेत्रको चरा पर्यटकहरुको लागि अत्यन्त खुशीको कुरो रहेको प्रमुख मण्डलको कथन थियो । प्रत्येक वर्ष अन्तर्राष्ट्रिय स्तरमै जनवरी महिनामा ’एसियन वाटरवर्ड काउन्ट’ भनेर चिनिने गणना कार्यक्रम धनुषाधाम ,धनुषा र सिरहाको सीमामा रहेको कमला नदी,जनकपुरधामका विभिन्न पोखरी तलाउ,परशुराम तलाउ लगायतको स्थानमा चराको गणना गर्ने गरिएको छ । जनकपुरधाम,कमला नदी,धनुषाधाम स्थित पोखरी तलाउ ,परशुराम तलाउ लगायतको क्षेत्रलाई धनुषाधाम सिमसार क्षेत्र अन्र्तगत राखिएको छ । गणनाको क्रममा बुधबारसम्ममा विभिन्न २६ प्रजातिको चराहरु रेकर्ड गरिएको जानकारी दिँदै उनले भने,‘ग्रे हेरनबकुल्लोको प्रजाति),लिटल प्mलोभर ,कमन कुट लगायतका आगन्तुक चरा सहितका चराहरु उल्लेख्य संख्यामा देखापरेको छ ।’ बसाइँसराई गर्ने र पानीमा बस्ने चराहरूको गणना प्रजनन् नहुने, समयमा गणना तथा अनुगमन गरी संख्यासहित सिमसार क्षेत्रको अवस्थाका बारेमा जानकारी पाउनु, पानीमा बस्ने चरा र सिमसार क्षेत्रको महत्व, स्थानको संरक्षण तथा व्यवस्थापनमा आमनागरिकलाई सहभागी तथा जानकारी गराउन चरा गणना गर्ने गरिएको छ । ‘बसाइँसराइ गर्ने चराको प्रजनन नहुने समयमा गणना तथा अनुगमन गरी संख्या पत्ता लगाउने काम उक्त गणनाले गर्नेछ । यस्ता कार्यले सिमसार क्षेत्रको अवस्थाको बारेमा जानकारी हुने र त्यस्ता क्षेत्रको संरक्षण तथा व्यवस्थापनमा सहज हुने मुख्य उद्देश्य हो ।’,प्रमुख मण्डलले स्पष्ट पारे । विश्वमा पाइने चरारहरु मध्येको ९ प्रतिशत चरा नेपालमा पाइन्छ ।

नेपालमा कम्तीमा आठदेखि नौ सय प्रजातिका चराहरू पाइन्छन् । पछिल्लो समय चराका बासस्थान मासिँदा, सिमसार क्षेत्र सुक्दा, वन विनाश र डँढेलो तथा जैविक विविधता मासिँदा चराको संख्या घटेको छ भने आगन्तुक चराहरुले पनि सुरक्षित वासस्थान पाउन गाहै हुने गरेको चरा विज्ञहरुको कथन छ । गणनाबाट चरा तथा सिमसार क्षेत्रको संरक्षणमा योगदान पुग्ने, पानी र पानीमा बस्ने चराको बारेमा जनचेतना अभिवृद्धि गराई संरक्षणमा सहकार्य गर्न समेत टेवा पुग्ने उद्देश्यले चराको गणना गर्ने गरिएको छ । यस क्षेत्रमा चराको गुणस्तर, बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेती बालीमा बढ्दो विषादीको प्रयोग र मानवीय क्रियाकलापले चराको संख्या बर्सेनि घट्दै गएको बताउँदै प्रमुख मण्डल भन्छन्,‘धनुषाधाम क्षेत्र तथा वरपरकै सिमसार क्षेत्रको संरक्षण सम्वद्र्धन गर्न सकिए यो क्षेत्र चरा पर्यटन विकासमा धेरै अगाडि बढ्न सक्ने पर्याप्त सम्भावना छ तर यस प्रति राज्य अझै गंभीर देखिएको छैन भने आम नागरिकमा पनि चेतनाको अभाव छ ।’ करिब एक दशक पूर्व जनकपुरधाम स्थित पोखरी सरोवरहरुलाई बासस्थान बनाएर प्रत्येक वर्ष चिसोको मौसममा साइबेरिया,आयरल्याण्ड लगायतका मुलुकबाट हजारौंको संख्यामा आगन्तुक चराहरु आउने गरेका थिए तर बढ्दो शहरीकरण,ध्वनि प्रदूषण लगायतका कारणले चराहरुले बासस्थान फेरेका छन् । धनुषाधाम सिमसार क्षेत्रलाई अझै व्यवस्थित गर्न सकिए भविष्यमा यस क्षेत्रलाई चराको लागि सुरक्षित बासस्थानको रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना भए पनि सम्बन्धित निकायहरुले गंभीरता देखाउन सकेका छैनन् । नेपालमा पछिल्लो तथ्यांकअनुसार ८ सय ९२ प्रजातिका चरा रहेको र सो मध्ये दुई सय चरा पानीमा आश्रित छन् ।

धनुषाधाममा जारी रहेको चरा गणनामा प्रमुख मण्डल सहित छ जनाको टोली सहभागी भएका छन् । गणनामा टोलीमा गणेश साह,राजेन्द्र मण्डल,राजनीश शर्मा,सीता पौडेल तथा मुकेश राउतको सहभागिता रहेको छ ।

Comment

Related News

Latest News

Trending News