अपडेट 
२०७९ पुष २९, शुक्रबार ०७:२६

चिसोका कारण सर्वसाधारणको दैनिकी जीवन निक्कै कष्टकर बनेको छ । रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणी प्रसाद जयसवालले अत्ति गरिब तथा विपन्न समुदायका परिवारलाई बिहीबार न्यानो कम्बल वितरण गरेका छन् । मेयर जयसवालले गरुडा नगरपालिका–४ का गरिब तथा विपन्न समुदायका २५ जना ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेका हुन् ।

चिसो र शीतलहरका कारण सबभन्दा बढी मजदुर तथा गरिब परिवार समस्यामा परे पनि स्थानीय सरकारले न्यानो कपडा वितरण नगरेको भन्दै व्यापक जनगुनासो बढिरहेको बेला गरुडा नगर प्रमुख जयसवालले विपन्न वर्गका ज्येष्ठ नागरिकहरुलाई चिसोबाट बचाउन न्यानो कपडा वितरण गरेका छन् । केही दिन यता लगातार शीतलहर चल्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा मेयर जयसवालले कम्बल वितरण गरेपछि उनीहरुले थोरै भए पनि राहत महसुस गरेका छन् । चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ विपन्न परिवारको ज्येष्ठ नागरिकलाई कपडा वितरण गरिएको छ ।

चिसोले खासगरी गरिब परिवारका ज्येष्ठ नागरिकलाई बढी समस्या हुने भएकोले उनीहरुलाई चिसोबाट केही हदसम्म जोगाउन कम्बल वितरण गरेको मेयर साहले बताए ।अत्यधिक चिसो र शीतलहरका कारण ओढ्ने र ओछ्याउने कपडाको अभावमा यतिखेर सबभन्दा बढी मजदूर, किसान, अति गरिब, दलित तथा विपन्न समुदायका व्यक्ति समस्यामा परेका छन् भने वृद्धवृद्धा तथा बालबालिका जोखिममा छन् । चिसोमा कम्बल पाएपछि ज्येष्ठ नागरिक पनि खुशी भएका छन् । शीतलहर र चिसोका कारण प्रत्येक वर्ष तराईमा स्थानीयले कठ्याङ्ग्रिएर अकालमै ज्यान गुमाउने गरेका छन् । गरुडा नगरपालिकाका मेयर जयसवालले कम्बल वितरण गर्न शुरु गरे पनि माधवनारायण,देवाही गोनाही, राजपुर, दुर्गाभगवती लगायत स्थानीय तहहरुले अझै कपडा वितरण गर्न सकेका छैनन् ।

Comment

Related News