
मधेश प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरत साहले प्रदेश सरकारको मन्त्रालयमा राज्यमन्त्रीको आवश्यक्ता नरहेको बताएका छन् ।
मन्त्रालय छोड्नु अघि बिहीबार आफनो कार्यकालमा गरेका कार्यप्रगति विवरण सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री साहले प्रहरी र कर्मचारी प्रदेश सरकार मातहत नआएसम्म प्रदेश सरकार अधिकार सम्पन्न हुन नसक्ने र काम गर्न कठिनाइ भइरह्ने धारणा व्यक्त गरे । मन्त्री साहले प्रहरी प्रशासनलाई स्रोत साधन सम्पन्न बनाउन मन्त्रालयको तर्फबाट गरेको सवार ीसाधन, उपकरण सहयोगदेखि सञ्चार जगतका लागि गरेका कामहरुबारे जानकारी समेत दिए । प्रहरीचौकीहरुका लागि बनाइएको भवन सहितका भौतिक पूर्वाधारका कामहरु, प्रदेश सरकारको मुद्रणका लागि छापाखाना, प्रदेश एफ.एम. रेडियो तथा टेलिभिजन सम्बन्धी नियमावली निर्माणसमेत उनको प्रगति विवरणमा उल्लेख छ । मधेशी शहीद प्रतिष्ठानको गठन, शहीद परिवारलाई राहतसमेत देखाइएको प्रगति विवरणमा मन्त्रालयबाट आर्थिक वर्ष ०७८÷०७९ मा ६२.२० प्रतिशत र चालु आर्थिक वर्षको वितेको छ महिनामा ८.९७ प्रतिशत खर्च भइसकेको समेत समावेश गरिएको छ ।