अपडेट 
२०७९ पुष २९, शुक्रबार ०७:३७

मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भइसकेका छन् । नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ ।

मधेश भवनमा उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले सपथ ग्रहण गराउने छन् । मन्त्रालय भागबण्डाका विषयमा सत्तासाझेदार दलबीच बिहीवार अबेर राति सम्म सहमति जुटन नसकेपछि शुक्रवार मुख्यमन्त्रीले मात्रै सपथ ग्रहण गर्ने भएको छ । बैठकमा माओवादी केन्द्रलाई एक मन्त्री र एक राज्य मन्त्री दिने भएपछि बीच बैठकबाटै माओवादी केन्द्रका नेता भरत प्रसाद साह बाहिरिएका थिए । तर, जनमत पार्टीका संसदीय दलका नेता महेश यादवले सहमति जुटाउने प्रयास जारी रहेको बताएका थिए । नेताहरुले मुख्य चार मन्त्रालयमा एक/एक मन्त्रालय लिने गरी भागबण्डा मिलाएर शुक्रबार नै सपथ ग्रहण गर्ने प्रयास गरेका थिए । भौतिक पूर्वाधार, कृषि, सामाजिक विकास र उद्योग पर्यटन तथा वन मन्त्रालय बाँडफाँट गर्ने प्रयास गरेका थिए । तर, बैठकमा सहमति हुन नसकेको जनमत पार्टी प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादवले जानकारी दिए । मधेश प्रदेशमा १० मन्त्रालय छन् । मुख्यमन्त्री यादवले नियुक्ति कै दिन मन्त्रालयको संख्या बढाउने वा घटाउने काम नगरिने बताएका थिए । केन्द्रीय नेताहरूले मधेशका प्रमुख तीन पदको टुंगो लगाइसकेका छन् । सो अनुसार मुख्यमन्त्री जसपाले पाएको हो । सभामुख नेकपा (एमाले) र उपसभामुख जनमतले पाउने सहमति भएको छ । जनमतले उपसभामुखबाहेक तीन ‘ठूला’ मन्त्रालयमा दाबी गरेको छ । सो पार्टीको प्रदेश संसदीय दलका नेता यादवले आफूहरूले भौतिक पूर्वाधार र दुई वटा अन्य कुनै प्रशासनिक मन्त्रालय पाउनुपर्ने बताए । जसपाले मुख्यमन्त्रीबाहेक थप तीन मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ ।

जसपाले अर्थ र गृह तथा सञ्चार मन्त्रालय माग गरेको छ । माओवादी केन्द्रका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री भरतप्रसाद साहले सबै दलले एउटा÷एउटा ‘प्रमुख’ मन्त्रालय पाउने एक चरणको सहमति भएको बताए । माओवादीले ‘सन्तोषजनक’ मन्त्रालय नपाए केन्द्रीय नेताहरूले नै तय गर्ने उनी बताउँछन् । कत्ति र कुन मन्त्रालयमा दाबी गरिएको भन्नेबारे उनले खुलाउन चाहेनन् । मधेश प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमालेले अर्थ, भौतिक पूर्वाधार र अन्य एक मन्त्रालयमा पनि दाबी गरेका छन् । भौतिक पूर्वाधार, कृषि, वन तथा वातावरण र सामाजिक विकास मन्त्रालयमध्ये सत्तासाझेदारका प्रमुख दलहरूले एउटा÷एउटा पाउनेछन् । जनता समाजवादी पार्टी (जसपा) र एमाले तीन÷तीन, जनमतले दुई र माओवादी केन्द्रले एक मन्त्रालय पाउने सम्भावना छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि नव नियुक्त मुख्यमन्त्री सरोज कुमार यादवलाई सर्मथन गरिसकेका छन् । बाँकी रहेको एक मन्त्रालय लिएर लोसपा सरकारमा सहभागी हुन तयार देखिएको छ । बुधबार मुख्यमन्त्रीलाई समर्थन नगरे पनि विहीबार समर्थनपत्र प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष पठाइएको छ । मधेस प्रदेशसभामा लोसपाका नौ सांसद छन् । लोसपाले समर्थन गरे मुख्यमन्त्री यादवले ७२ सांसदको साथ पाउनेछन् । अहिले मुख्यमन्त्रीलाई एमालेका २३, जसपाका १६, जनमतका १३, माओवादीका सात, नेपाल संघीय समाजवादीका एक, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक, स्वतन्त्र सांसदद्वय अनुरुद्ध सिंह र सुरिता साहले समर्थन गरेका छन् । यहाँ माओवादीका नौ सांसद भए पनि दुईजनाको शपथ रोकिएको छ । लोसपाबाहेक नेपाली कांग्रेस र एक सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरेका छैनन् ।

Comment


Related News

Latest News

Trending News