अपडेट 
२०७९ पुष २९, शुक्रबार ०८:५१

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले चार वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएकोबारे आएको खबरमा ध्यानाकर्षण भएको जनाएको छ ।

केन्द्रले आज सूचना निकालेर बोलपत्रमार्फत्  प्राप्त  हुने  कागजको  नेपाल  गुणस्तर  तथा  नापतौल  विभाग,  बालाजुमा  परीक्षण गरिने, तोकिएको गुणस्तर अनुसारको कागज भएमा मात्र प्रयोग गर्ने, नभएमा कागज आपूर्तिकर्तालाई फिर्ता गर्ने काम नियमित प्रक्रिया भएको जनाएको छ ।

अस्ति बुधवार केन्द्रले  फिर्ता  गरेको  कागज  नै  आपूर्तिकर्ताले पुनः ल्याएकोबारेमा छानबिन गरी दोषी भएमा कारबाही गर्ने प्रतिबद्धता जनाएको छ । पुस्तक छपाइ गर्न गुणस्तरहीन कागज ल्याएको भन्दै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले फिर्ता गरेको कागज सप्लायर्स कम्पनीले पुनः जनक शिक्षामै ल्याएपछि प्रहरीले चार ट्रक कागज नियन्त्रणमा लिएको थियो ।

फिर्ता भएको कागज केन्द्रका पदाधिकारीको मिलेमतोमै पुनः केन्द्रमा आएको खबर सार्वजनिक भएको थियो । यसबारेमा हिजो शिक्षा मन्त्रालयको सहसचिवको टोलीसहित भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले केन्द्रको अनुगमन गरेर चासो समेत लिएको छ।

केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले केन्द्रमा आएको चार ट्रक कागजको गुणस्तर परीक्षण गर्न बाँकी रहेको र यसबारेमा मन्त्रालयसहितलाई छानबिन गर्न आग्रह गर्नुभएको थियो । ललितपुरको नेपाः हिमा ट्रेड लिङ्क प्रालिसँग गएको भदौ २७ गते एक हजार मेट्रिकटन कागज ३० दिनभित्र र थप पाँच मेट्रिकटन गरी कुल एक हजार पाँच मेट्रिकटन कागज आउँदो माघ ४ गतेसम्म ल्याइसक्नुपर्ने सम्झौता गरेको थियो ।

सम्झौता गरेको सप्लायर्सले जनकपुरको एभरेष्ट पेपर मिल्स प्रालिबाट कागज ल्याए पनि गुणस्तरहीन कागज ल्याएको प्रमाणित भएपछि गएको कात्तिक १७ गते फिर्ता गरेको केन्द्रले जनाएको छ । साथै केन्द्रले आउँदो शैक्षिक सत्र २०८० सालको पाठ्यपुस्तक समयमा नै छपाइ गर्ने प्रतिबद्धता समेत जनाएको छ । अहिले केन्द्रले तीन वटा नयाँ रङ्गिन छपाइ गर्ने वेब मेसिन जडान गरेको र कागजको आपूर्ति पनि सहजै भैरहेको हुँदा लक्ष्य अनुसार पाठ्यपुस्तक समयमै विद्यालयमा पुर्याउने जनाएको हो ।

Comment


Related News