अपडेट 
२०७९ पुष ३०, शनिबार १३:०६

ओजोन तह केही दशकभित्र पुरानै अवस्थामा फर्कनसक्ने संयुक्त राष्ट्र सङ्घको एउटा प्रतिवेदनले देखाएको छ । ओजोन तह जोगाउन मानवजातिले चालेका कदमले काम गरिरहेको भन्दै संयुक्त राष्ट्र सङ्घीय प्रतिवेदनले केही दशकमा ओजोन तह यसअघिको अवस्थामा पुनर्स्थापित हुनसक्ने निष्कर्ष छ ।

सन् १९८७ मा भएको एउटा अन्तर्राष्ट्रिय सम्झौताले ओजोन तहलाई नष्ट पारिरहेका हानिकारक रसायनहरूको प्रयोगमा प्रतिबन्ध लगाएको थियो । एउटा प्रमुख समीक्षा प्रतिवेदनले यो कदम सफल रहेको निष्कर्ष निकालेको छ । सूर्यको घातक परावैजनी विकिरणबाट मानिसहरूलाई रक्षा गर्ने ओजोन तह यसअघिकै अवस्थामा फर्कने दिशामा रहेको वैज्ञानिकहरूले बताएका छन् ।

ओजोन तह पृथ्वीको वायुमण्डलको पातलो भाग हो जसले सूर्यको परावैजनी विकिरणको प्रायजसाे मात्रा सोस्छ । त्यो पातलिँदै जाँदा त्यस्तो विकिरण पृथ्वीको सतहसम्म आइपुग्छ, जसबाट मानव र अन्य सजीव तथा प्राणीहरूलाई घातक असर पर्न सक्ने हुन्छ । परावैजनी विकिरणले डीएनएलाई क्षति पुर्याउने, छाला डढाउनेजस्ता नोक्सानी पुर्याउन सक्छ, जसको असर क्यान्सरजस्ता दीर्घकालीन समस्याहरू गराउनेसम्मको हुन्छ । सन् १९७० को दशकदेखि ओजोन तह पातलो हुन थालेको थियो ।

ओजोन तहलाई त्यसरी कमजोर पार्नमा क्लोरोफ्लोरोकार्बन नामक रासायनिक यौगिकको भूमिका रहेको बताउने गरिएको छ । यो ग्यास स्प्रे क्यान, फ्रिज, फोमको इन्सुलेसन र एअर कन्डिशनरहरूमा भेटिन्छ । ओजोन तहमा ठूलो भ्वाङ रहेको तथ्य वैज्ञानिकहरूले सन् १९८५ मा पहिचान गरेका थिए । त्यसको दुई वर्षपछि ४६ वटा देशहरूले घातक रसायनहरूको प्रयोग हटाउँदै लैजाने प्रतिबद्धतासहित मोन्ट्रिओल प्रोटोकलमा हस्ताक्षर गरेका थिए ।

यो सम्झौता पछि गएर विश्वव्यापी रूपमा अनुमोदन हुने पहिलो राष्ट्र सङ्घीय सन्धि बन्न पुग्यो र ओजोनलाई पातलो बनाउने लगभग ९९ प्रतिशत रसायनहरूको प्रयोग अहिले बन्द भएको छ । एन्टार्कटिक क्षेत्रमाथि रहेको ओजोन तहको प्वाल सन् २००० सम्म विस्तार भइरहेको थियो । तर त्यसपछि त्यसको क्षेत्रफल र गहिराइमा बिस्तारै सुधारहरू देखा पर्न थाल्यो ।

फ्रिजजस्ता उपकरणमा रहने सीएफसीहरू क्रमैसँग हटाउने प्रयास सन् १९८७ मा भएको एउटा अन्तर्राष्ट्रिय सन्धिले गरेको थियो । अहिले संयुक्त राष्ट्रसङ्घ, अमेरिकी र युरोपेली सङ्घका निकायहरूले मिलेर निकालेको एउटा प्रतिवेदनले मोन्ट्रिओल प्रोटोकलले अपेक्षा गरेअनुसार काम गरिरहेको जनाएको छ ।

प्रतिवेदनले यदि अहिलेकै नीतिहरूलाई निरन्तरता दिइए ओजोन तह सन् १९८० कै तहमा अर्थात् त्यसमा प्वाल देखिनुभन्दा अघिको अवस्थामा पुग्न सक्ने उल्लेख गरेको छ । ओजोन तहको रक्षा गर्न चालिएका कदमले विश्वव्यापी तापमान वृद्धि रोक्नमा सकारात्मक असर पारेको पनि प्रतिवेदनमा उल्लेख छ । राष्ट्रसङ्घको प्रतिवेदन अनुसार ओजोन तहको क्षतिमा भएको कमीले विश्वव्यापी तापमान वृद्धिलाई केही हदसम्म न्यूनीकरण गरेको बीबीसीले उल्लेख गरेको छ ।

Comment


Related News