अपडेट 
२०७९ माघ १, आईतवार ०६:१४

धानको मूल्य निर्धारण भएसँगै गत पुस महिनामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखाले करिब १३ हजार ८ सय ९० क्विन्टल धान खरिद गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखाका प्रमुख विकास कटुवालले यस वर्ष शाखाले प्रति क्विन्टल ३ हजार १ सय २८ रुपैयाँको दरले ४ करोड ३५ लाख रुपैयाँ बराबरको धान खरिद गरेको बताएका छन् । शाखाले पुस २२ गते नै धान खरिद बन्द गरेको भए पनि अहिले शाखा परिसरमा भित्रिएको धान तौलिने काम भइरहेको जनाइएको छ । यस वर्ष पर्साको पोखरिया नगरपालिकासहित विन्दवासिनी तथा जगरनाथपुर गाउँपालिकाका साथै बाराको फेटा गाउँपालिकाका किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा बढी धान बिक्री गर्न ल्याएको छ । शाखाले यस वर्ष सोना मन्सुली धान १० हजार र जिरा मसिनो धान २ हजार क्विन्टल गरी कुल १२ हजार क्विन्टल धान खरिदको कोटा पाएको थियो । संघीय सरकारले यस वर्ष सोना मन्सुली धानको समर्थन मूल्य प्रति क्विन्टल ३ हजार १ सय २८ रुपैयाँ निर्धारण गरेको थियो ।

यस वर्ष शाखाले किसानको न्यूनतम २५ देखि अधिकतम ६० क्विन्टलसम्म धान खरिद गरेको छ । गत वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखाले १७ हजार क्विन्टल सोना मन्सुली धान खरिद गरेको थियो ।

Comment

Related News