अपडेट 
२०७९ माघ १, आईतवार ०६:२२

रौतहटमा पछिलो समय जनप्रतिनिधिहरु विकास निर्माणको काम गर्दा एउटै योजनामा अधिकतम् लाभ लिन आरसीसी ढलान भन्दा पिसीसी ढलान गर्ने प्रवृति बढेको पाइएको छ ।

भूँईमा छड राखेर गरिने ढलानलाई आरसीसी भनिन्छ भने छड नराखीकन नै गरिने ढलानलाई पिसीसी ढलान भन्ने गरिएको छ । भूँईमा छड राखेर गरिने ढलान टिकाउ हुने गर्दछ भने छड नराखीकन गरिने ढलान टिकाउ हुँदैन । आरसीसी ढलान गर्दा छड राख्नुपर्ने भएकोले त्यसमा निर्माण कम्पनी वा ठेकेदारलाई बढी फाइदा हुँदैन तर पिसीसी ढलानमा छडको आवश्यकक्ता नपर्ने भएको हुनाले त्यसमा बढी फाइदा हुने भएको हुँदा यहाँका अधिकांश जनप्रतिनिधिहरु बढी फाइदा हुने पिसीसी ढलान गर्नेतर्फ नै बढी ध्यान दिएको पाइएको छ । एउटै योजनामा ठूलो मात्रामा आर्थिक लाभ लिने उद्देश्यले स्थानीय सरकारका जनप्रतिनिधिहरु कम टिकाउ हुने पिसीसी ढलान गरी जनताको विकास बजेटको चरम दुरुपयोग गर्ने गरेको पाइएको छ । प्रदेश सरकारको २५ लाखको सडक ढलान कार्य योजनामा ठूलो रकम भ्रष्टाचार गर्न कटहरिया नगरपालिका–५ कटहरियाका वडा अध्यक्ष सर्फलाल गुप्ताले गुपचुप रुपमा सोही नगरपालिकाको वडा नं ४ बलिरामपुरमा भूँईमा छड नै नराखी सडक ढलान कार्य गराइरहेका छन् ।

मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय जनकपुरबाट यस चालु आर्थिक वर्षमा विनियोजित २५ लाख रुपैयाको लागतमा सडक ढलान तथा नाला निर्माण गर्ने जिम्मा पाएका वडा अध्यक्ष गुप्ताले ठूलो आर्थिक लाभ लिने उद्देश्यले आफनै खल्तीको मान्छेहरुलाई उपभोत्ता समितिमा राखेर समितिद्धारा काम गराइरहेका छन् । वडा अध्यक्ष गुप्ताले समितिमा राखेको व्यक्तिहरुलाई योजनाको बारेमा केही जानकारी नै नरहेको पाइएको छ । बजेट कहाँबाट ल्याइएको हो, लागत इस्टिमेट कत्ति हो लगायतका कुरा समितिका अध्यक्ष किफाइत मियासंग सोध्दा यस बारेमा आफूलाई केही जानकारी नै नरहेको बताए ।

गुप्ताले सो सडक ढलानमा गुणस्तरहीन सामग्री समेत प्रयोग गर्नुको साथै सामान्य मापदण्ड पनि पूरा नगरेको पाइएको छ । सडक ढलान गर्दा प्रयोग भइरहेको मसालाको घोल गुणस्तरीय र मापदण्ड अनुसार नभएको हुँदा लाखौंको लागतमा निर्माण भइरहेको सडक कमजोर र गुणस्तरहीन बनेर धेरै दिन टिक्न नसक्ने स्थानीयहरुको आरोप छ । सडक ढलान गर्दा मापदण्ड नपु¥याए पनि पूर्वाधार विकास कार्यालय गौर र कटहरिया नगरपालिकाले भने अनुगमन समेत गरेका छैनन । गुणस्तरहीन काम भइरहेको भनि केही पत्रकारहरुको टोली शनिबार योजना स्थलमा पुगेर योजनाको लागत इस्टिमेट समितिका अध्यक्ष मियासंग माग्दा उनले विभिन्न बहाना बनाउँदै इस्टिमेट दिन चाहेनन् । यस विषयमा वडा अध्यक्ष गुप्ताले समेत केही बोल्न चाहेका छैनन् । स्थानीय विवेक दासले भने, ‘ढलान गर्दा ग्राभेल र गिट्टीको प्रयोग गरिएको छ, सिमेन्ट र बालुवाको मात्रा न्यून छ, जसले गर्दा सडक धेरै समय नटिक्ने देखिन्छ ।’ लाखौंको सडक गुणस्तरहीन हुँदासमेत पूर्वाधार कार्यालयले निर्माण गराउने वडा अध्यक्ष गुप्तालाई कारबाही गर्न नसकेको उनले बताए । भूँईमा बिना छड राखी भइरहेको ढलान बढी दिनसम्म टिक्न नसक्ने र त्यसमा पनि गुणस्तरहीन सामग्री प्रयोग भइरहेको भन्दै वडा अध्यक्ष गुप्ताको स्थानीयहरुले विरोध गर्न थालेका छन् । गुप्ता जस्ता कयौं जनप्रतिनिधिहरु गुणस्तरीय र टिकाउ काम भन्दा पनि आफूलाई बढी फाइदा हुने काम मात्र गरेर अकूत सम्पत्ति आर्जन गर्नुका साथै जनताको विकास बजेटमा ब्रहमलुट मच्चाएका छन् ।

विकास निर्माणको कार्यमा अनियमितताको आरोप गुप्ता जस्ता कयौं जनप्रतिनिधिहरु गुणस्तरीय र टिकाउ काम भन्दा पनि आफूलाई बढी फाइदा हुने काम मात्र गरेर अकूत सम्पत्ति आर्जन गर्नुका साथै जनताको विकास बजेटमा ब्रहमलुट मच्चाएका छन् ।

Comment


Related News

Latest News

Trending News