अपडेट 
२०७९ माघ १, आईतवार ०६:२५

धनुषामा अवैध रुपमा सञ्चालित एक दर्जन भन्दा बढी क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र बन्द गराइएको छ ।

जिल्लाको विभिन्न स्थानमा अवैध रुपमा सञ्चालनमा रहेको १६ वटा क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र बन्द गराइएको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिएका छन् । बन्द गरिएका उद्योगहरु मध्ये बढी जसो नवीकरण नगराइएको र मापदण्ड विपरीत सञ्चालन हँुदै आएकोले बन्द गरिएको उनले बताए । घरेलु तथा साना उद्योग कार्यालय धनुषामा क्रसर उद्योग र वालुवा प्रशोधन केन्द्र गरी २२ वटा उद्योग दर्ता गरिएको देखिएको छ । सो मध्ये दुई वटा पहिला नै बन्द भइसकेको छ भने ४ वटा केही महिना अघि बन्द गराएको छ । धनुषा सुभाष क्रसर,स्टोन क्रसर, कमलामाई क्रसर, महादेव क्रसर, घोड्घासका जय माता दी क्रसर, मिथिला क्रसर एण्ड केक्रिट उद्योग प्रा.लि, साह गिट्टी उद्योग, कुमारी माँ गिट्टी उद्योग लगायतका उद्योगहरु बन्द गराएको छ । धनुषा जिल्लाको पूर्वी क्षेत्र चुरेको फेदमा रहेको गणेशमान चारनाथ नगरपालिकाको तल्लो गोदारमा सञ्चालित कमला स्टोन क्रसर उद्योगसमेत मापदण्ड विपरीत बिना नवीकरण लामो समयदेखि सञ्चालन हँुदै आएको थियो । सो उद्योग वन निकुञ्ज, खोला,बस्तीबाट हुनुपर्ने दूरीको मापदण्ड पूरा गरेको छैन् ।

जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डलका अनुसार जिल्लामा एउटै नाममा दुई तीन वटा क्रसर उद्योगहरु संचालनमा रहेको छ । अवैध रुपमा संचालित क्रसर उद्योगलाई बन्द गर्न अनुगमन गर्दा बन्द गराउँछौ, उनले भने पछि स्थानीय प्रहरी प्रशासनको मिलेमतोमा फेरि त्यो क्रसर संचालन हुन्छ, हामीले कसरी बन्द गराउने ? अब केन्द्रबाट नै निर्देशन आएकोले आफूहरु पुनः सक्रियतापूर्वक लाग्छौ ।’ उनले दुई तीन दिनमा फेरि अनुगमन गरिने र त्यसमा अवैध देखिने अथवा प्रक्रिया पूरा नगरेका उद्योगहरु तत्काल बन्द गराउने जानकारी दिएका छन् । अनियन्त्रित रुपमा सञ्चालनमा रहेको क्रसर उद्योगहरुले नदीजन्य पदार्थहरुको दोहन भइ चुरे क्षेत्रमा बग्ने नदी तथा खोलामा बाढी आउनु सहितका अल्पकालीन समस्या देखिएको छ भने अर्को तर्फ धनुषा महोत्तरीसहितका चुरे पहाडसंग प्रत्यक्ष जोडिएका नदी र खोलामा जलको स्तर घटेर मधेश रेगिस्तान बन्ने सम्भावनासमेत बढेर गएको छ ।

Comment


Related News

Latest News

Trending News