अपडेट 
२०७९ माघ १, आईतवार ०६:३०

तस्कर र प्रहरीबीच विवाद हुँदा प्रहरी सहायक निरीक्षकसहित दुई प्रहरी घाइते भएका छन् । सीमा प्रहरी चौकी छतवाबाट खटेका प्रहरी गस्ती टोलीले विश्रामपुर गाउँपालिका–१ कल्याणपुर बोर्डर नजिकै भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेको सामान चेकजाँच गर्ने क्रममा शुक्रबार साँझ तस्करसँग सामान्य विवाद भएको थियो ।

विवादपछि सोही ठाउँका ३६ वर्षीय मनोहर पटेल, धर्मेन्द्र पटेललगायतका स्थानीले प्रहरी सहायक निरीक्षक विकरु मण्डल र प्रहरी हवलदार उमेश पण्डितलाई कुटपिट गर्दा उनीहरू घाइते भएको बारा प्रहरीले जनाएका छन् । घाइते प्रहरीको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । सो घटनापछि इलाका प्रहरी कार्यालय, प्रसौनी र प्रहरी चौकी मुसहर्वाबाट आएका थप प्रहरी टोलीले कुटपिट गर्ने मनोहर पटेल र धर्मेन्द्र पटेललाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कलैया बारामा ल्याइएको तथा घटनामा संलग्न रहेका अन्य सहयोगीहरूको खोज तलास भइरहेको प्रहरीले जनाएको छ । यसैगरी,प्रहरी चौकी कचोर्बाका प्रहरीमाथि भारतीय तस्करहरूले हातपात गरेका छन् । सिम्रौनगढ नगरपालिका ११ पिठुवास्थित बोर्डर नजिकै ड्युटीमा खटेका प्रहरीले पुस २७ गते साँझ ५ बजे भारतबाट भन्सार छलीगरी नेपालतर्फ ल्याउँदै गरेको समान चेकजाच गर्ने क्रममा सामान्य विवाद भएको थियो ।

सो घटनामा भारत बिहार राज्य मोतिहारी जिल्ला पूर्वीचम्पारण पूर्णहियाका ४५ वर्षीय सन्दीप यादव र रौतहट जिल्ला बौद्धीमाई नगरपालिका ७ का ३३ वर्षीय कासिम देवानले समान तस्करी गर्ने नम्बर नखुलेका एक थान मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिइएको छ । साथै घटना बारे खोजतालस भइरहेको प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

Comment


Related News