अपडेट 
२०७९ माघ १, आईतवार ०६:५३

प्रभावकारी न्यायसम्पादनका लागि अपराध अनुसन्धान र अभियोजन अभ्यासमा नै व्यापक सुधारको खाँचो औल्याइएको छ ।

शनिबार जनकपुरधाममा आयोजित नेपाल कानून व्यवसायी परिषद्को २९ औं स्थापना दिवश एवं परिषद्को वार्षिक गतिविधि, प्रस्तावित संशोधित ऐन, आचारसंहिता तथा ड्रेसकोड सम्बन्धी एक दिवसीय अन्तक्रिया कार्यक्रममा उक्त खाँचो औल्याइएको हो । सो अवसरमा महान्यायाधिवक्ता डा.दिनबन्धु पोखरेलले गम्भीरतापूर्वक अपराध अनुसन्धान पद्दति र अभियोजन अभ्यासमा तत्काल सुधार नगरे थप समस्या आउने सक्ने धारणा व्यक्त गरे । उनले न्याय सम्पादनमा ढिलासुस्ती, राज्यमाथि थपिने व्ययभार र निर्दोष व्यक्तिको सुरक्षाका लागि पनि अहिलेको अभ्यासमा सुधार अपरिहार्य रहेकोले आफूले प्राथमिकताका साथ त्यसमा बहस सुरु गरिसकेको जानकारी दिए । “मैले महान्यायाधिवक्तामा नियुक्त भएपछि प्रधानन्यायाधीससंग पनि यस विषयमा कुरा गरिसकेको छु, उहाँ पनि सकारात्मक हुनुहुन्छ”, डा.पोखरेलले भने,“सबैभन्दा पहिले सरकारी महान्यायाधिवक्ता कार्यालय मातहतका निकायबाटै यस विषयमा गम्भीर समीक्षासहित सुधारको पहल हुन्छ र न्याय सम्पादनसँग जोडिएका सबै पक्षले पनि सहयोग गर्न जरुरी छ ।” डा.पोखरेलले दक्ष, व्यवसायिक र प्रतिस्पर्धी कानून व्यवसायीको अभावमा सक्षम न्यायपालिकाको परिकल्पना गर्न नसकिने भएकोले यसमा पनि सबैले ध्यानदिनुपर्ने बताए । उनले कानून व्यवसायी सक्षम नहुँदा पेशागत मर्यादाका लागि नभइ जीवीकोपार्जन गर्न मोलमोलाई र विचौलिया प्रवृति बढ्ने भएकोले पेशागत दक्षता अभिवृद्धिका लागि बार र नेपाल कानून व्यवसायी परिषद्ले विशेष जोड्दिनुपर्ने बताए ।

नेपाल बार एशोशिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले न्याय क्षेत्रको समष्टिगत सुधारका लागि न्याय सम्पादनसँग जोडिएका सबै पक्षमा सुधार गनुपर्ने धारणा राखे । उनले न्याय सम्पादनसँग जोडिएका प्रहरी प्रशासन, सरकारी वकिल, अदालत, कानून व्यवसायी र बार गरी पाँच वटै क्षेत्र एकाकार भएर लागे हालदेखिएका समस्या समाधान गर्न सकिने बताए । “हाम्रो क्षेत्रमा प्रणालीगत समस्या छैन, मुख्य समस्या सुशासन नै हो”, घिमिरेले भने,“सक्षम न्यायालय र न्याय प्रणालीलाई केही व्यक्तिले बद्नाम गर्न खोजे । त्यसैले सम्माननीय कायममुकायम प्रधानन्यायाधीश कार्की नेतृत्वको समितिले तत्कालीन समयमा औल्याएका समस्या समाधानमा लाग्नुपर्छ ।” कार्यक्रममा परिषद्का केन्द्रीय सदस्य एवम् वरिष्ठ अधिवक्ता श्याम कुमार मिश्र , नेपाल वार एसोसिएसन जनकपुरका अध्यक्ष बलराम सुवेदीले जसरी न्याय पालिकामा शुद्धीकरणको आवश्यकता भएझै कानून व्यवसायीमा पनि व्यापक शुद्धीकरणको खाँचो आंैल्याएका थिए ।

कार्यक्रममा कानूनविद् डा. चन्द्रकान्त ज्ञवाली, उच्च अदालत जनकपुरका कायममुकायम मुख्य न्यायाधीश गुणराज ढंगेल, जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेललगायतले उल्लेखित विषयमा आ—आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

Comment


Related News

Latest News

Trending News