
धनुषाधामको पर्यटन क्षेत्रमा नियमित सरसफाई कार्यक्रम हुँदै आएको छ । शनिबार नियमित सरसफाइ अन्तर्गत ३२ औं वृहत सरसफाइ अभियान सम्पन्न भएको छ ।
वाणगंगा क्षेत्र एवम् साप्ताहिक सरसफाइ अभियानको आयोजनामा पौराणिक सुप्रसिद्ध धार्मिक तीर्थस्थलमा नियमित सफाइ हुँदै आएको छ । आयोजक संस्थाले “सफा, सुन्दर एवं पर्यटकमैत्री देवभूमि धनुषाधाम’’ नाराका साथ माघे संक्रान्तिको उपलक्ष्यमा सरसफाइ गरिएको अभियानको संयोजक प्रमोद कुमार यादवले जानकारी दिए । संयोजक यादवका अनुसार प्राचीन कालदेखि यस क्षेत्रमा मकर मेला लाग्ने गरेको छ । सो मेला आइतबारदेखि सुरु हुने भएको छ । मेलामा तीर्थालु तथा पर्यटकहरुको भीड लाग्ने गरेको छ । मेलामा शान्ति, सुरक्षा र बजार व्यवस्थित गरिदिन सरोकारवाला निकायलाई अभियानीहरुले अनुरोधसमेत गरेका छन् ।
यी क्षेत्र त्रेतायुगदेखि पर्यटन नगरी भए पनि सरोकारवाला निकायको बेवास्ताले यहाँको विकास ओझेलमा परेको छ । यहाँ पछिल्लो समय पर्यटक तथा श्रद्धालुको निकै भीड लाग्ने गरेको छ । धनुषाधाम मन्दिर दर्शन गर्न नियमित रुपमा भारतीय तथा देशकै विभिन्न स्थानबाट श्रद्धालुहरु आउने गरेका छन् ।