अपडेट 
२०७९ माघ २, सोमबार ०८:०७

काम गरेवापतको ज्याला नपाएपछि सप्तरीको राजविराज–भारदह सडक निर्माण कार्यमा खटिएका १६ जना मजदुर बिचल्लीमा परेका छन् । साह निर्माण सेवाले ठेक्का पाएको उक्त सडक निर्माण कार्यमा मजदुरी गर्दै आएका १६ जना मजदुर पेटीदार सम्पर्कविहीन भएपछि बिचल्लीमा परेका छन् । बिचल्लीमा परेका मध्ये ५ महिला र ११ पुरुष रहेका छन् ।

ती सबै मजदुर दाङ र सल्यानबाट आइपुगेका छन् । विगत २० दिनदेखि ठेकेदार र पेटीदार सम्पर्कविहीन भएपछि आफूहरुको बिचल्ली भएको दाङका मजदुर रोशन मगरले बताए । सडक डिभिजन कार्यालय लहान अन्तर्गत उक्त सडकखण्ड निर्माणको ठेक्का पाएका साह निर्माण सेवाबाट समयमै ज्याला नपाउँदा भोकभोकै बस्ने अवस्था आएको ती मजदुरहरुको भनाइ छ । समयमै पैसा नपाउँदा उक्त सडक निर्माण कार्यमा खटिएका झापाका एक दर्जनभन्दा बढी मजदुर चार दिनअघि नै काम छोडि घर फर्के पनि आफूहरुसँग घर फर्किने भाडासमेत नभएकाले थप समस्यामा परेको अर्का मजदुर भागीरथ बुढाथोकीले गुनासो पोखे । गत कात्तिक ८ गतेदेखि ती मजदुरहरु उक्त सडक निर्माणमा काम गर्दै आएका छन् । होटलमा उधारो खाएको बक्यौता रकम बढी भएपछि थप उधारो खुवाउन नमानेको कारण भोकभोकै बस्नु परेपछि आइतबार जिल्ला प्रहरी कार्यालय पुगेका ती मजदुरहरुले ठेकेदार कम्पनीसँग बाँकी बक्यौता रकम असुल र उनी उपर कारबाहीको माग गरेका छन् । प्रहरीले साह निर्माण सेवाका संचालक संजीव साहलाई सोधपुछ गर्दा उनले ती मजदुरहरुलाई आफूले सोझै काममा नलगाएको भन्दै सागर लिम्बु नामका पेटीदारमार्फत काममा लगाइएको र ती मजदुर हरुले पाउने सबै रकम निज लिम्बुले नै लिएर गएको बताएका छन् ।

डिएसपी नरेशकुमार सिंहले मजदुर हरुले खाना खाए वापतको मात्रै विभिन्न होटलको ७ देखि ८ लाख रुँपैयासम्म बाँकी रहेको जानकारी प्राप्त भएको बताए । साह निर्माण सेवाका संचालक संजीवको बयानपछि सागर लिम्बुको खोजी कार्य तीव्र बनाइएको र बिचल्लीमा परेका मजदुरहरुलाई तत्काल उचित व्यवस्थापनका लागि आवश्यक पहल भइरहेको उनले जानकारी दिए । यसैबीच जाडोका कारण मजदुरहरु थप बिचल्लीमा परेको थाहा पाएपछि नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भंसालीले आइतबार नै आफू निजी लगानीमा एक एक थान कम्बल प्रदान गरेका छन् ।यस्तै,स्थानीयवासी अवधेश झालेसमेत ती मजदुर हरुलाई सहयोग जुटाउन आवश्यक पहल थालेका छन् ।

Comment


Related News

Latest News

Trending News