अपडेट 
२०७९ माघ २, सोमबार १७:४०

पोखरामा आइतबार दुर्घटना भएको यति एयरलाइन्सको जहाजमा सवार रहेकामध्ये थप एक जनाको शव फेला परेको छ।

सोमबार अपरान्ह थप एक शव भेटीसँगै जहाजमा सवार रहेकामध्ये ६९ जनाको शव फेला परेको छ। जहाजमा सवार ६८ जना यात्रु र चालक दलका चार जना गरी ७२ जना सवार रहेकोमा अब तीन जनाको अवस्था अज्ञात रहेको छ।

आइतबार साँझसम्म ६८ जनाको शव भेटिएको थियो। बाँकी चार जनाको अवस्थाका बारेमा सोमबार बिहानबाट खोजी सुरु गरिएकोमा अपरान्ह मात्रै थप एक शव भेटिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए।

दुर्घटनामा स्थलमा परिचालित सशस्त्र प्रहरीका गोताखोर टोलीले खोज्ने क्रममा नदीमा शव फेला परेको हो। उक्त शवलाई पनि पहिचान र पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।

भीरमा अड्किएको अवस्थामा रहेका शवहरू डोरीबाट गएको सुरक्षाकर्मीको टोलीले निकालेको थियो। नदीको खोँचमा छिर्ने तथा पानीभित्र खोजी गर्ने तालिम प्राप्त टोली आवश्यक परेपछि चितवनको कुरिनटारबाट सशस्त्र प्रहरीको विशेष टोली ल्याइएको छ।

बेपत्ता रहेका तीन जनाको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिरहेको छ।

Comment


Related News