अपडेट 
२०७९ माघ ३, मंगलवार ०७:३४

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार विश्वासको मत लिने भएका छन् । सोमबार नै प्रदेश सभामुखको निर्वाचन पश्चात मुख्यमन्त्री यादवले विश्वासको मत लिने भनिए पनि आइतबार पोखरामा भएको विमान दुर्घटनापछि नेपाल सरकारले राष्ट्रिय शोकको सार्वजनिक विदा दिएका कारण उक्त कार्यक्रम स्थगित गरिएको थियो ।

सोमबार दिउँसो १ बजे नै प्रदेश सभामुखको निर्वाचन र त्यसपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यसूची रहेको थियो तर राष्ट्रिय शोकको विदा भएकोले मुख्यमन्त्री यादव र प्रदेशसभा अध्यक्ष गोविन्द न्यौपानेको समन्वयमा मंगलबार दिउँसो १ बजेको लागि कार्यक्रम निर्धारण गरिएको प्रदेश सभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिए । यसैबीच, मधेश प्रदेश सभामुखको लागि दुई जना बीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता गबठन्धन दल नेकपा एमालेबाट सांसद रामचन्द्र मण्डल र विपक्षी दल नेपाली कांग्रेसबाट जंगिलाल राय यादवले उम्मेदवारी दर्ता गराएका छन् । लोसपासहित मुख्यमन्त्री यादवलाई ७२ जना सांसदको समर्थन रहेको छ । ६३ जना सांसदको समर्थनमा प्रदेश प्रमुख हरिशंकर मिश्रले जसपाका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । त्यसपछि ९ जना सांसद रहेको लोसपाले पनि मुख्यमन्त्री यादवलाई समर्थन गर्दै प्रदेश प्रमुख मिश्रलाई पत्र पठाएका थिए । १०७ प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशमा सरकारलाई अहिले सम्म लोसपा सहित ७२ जना सांसदको समर्थन रहेको छ । प्रदेश सभामा कांग्रेसको २२ र नेकपा एसको ७ सांसद रहेका छन् । केन्द्र जस्तै प्रदेशमा पनि जसपा आफ्नो नेतृत्वको सरकारलाई कांग्रेसले सर्मथन गर्ने मुख्यमन्त्री यादवले अपेक्षा गरेका छन् । तर कांग्रेसका मधेश संसदीय दल समितिले यस विषयमा निर्णय गर्न सकेको छैन । कांग्रेसका एक सांसदले सत्ता गठबन्धन दलले प्रदेश सभामुखमा आफ्ना उम्मेदवारलाई सहयोग गरेको खण्डमा मात्रै सरकारलाई समर्थन गर्ने बताए ।

सरकारकै समर्थन गर्ने विषयमा जसपा र कांग्रेसबीच सोमवार विहान नै बैठक बस्ने तय भएको थियो । तर नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णा यादव जनकपुरधामबाट वाहिर रहेकोले सोमबार दिउँसो बस्न सकेनन् । कांग्रेसका एक नेताका अनुसार मंगलबार विहान जसपा र कांग्रेसका सांसदबीच समर्थनको विषयमा छलफल हुनेछ । यता, मुख्यमन्त्री यादवले पुस २९ मा नै पदभार ग्रहण गरे पनि अझै सत्ता गठबन्धन दलबीच मन्त्रालयको बाँडफाँट हुन सकेको छैन् । सत्ता गठबन्धन दलहरु आफ्नै अडानमा रहेकोले अझै मन्त्रालय बाँडफाँटमा सहमति हुन सकेको छैन । सत्ता गठबन्धन दल नेकपा एमाले र जनमतबाट एक/एक विना विभागीय मन्त्रीको रुपमा शपथ लिए पनि सत्ता गठबन्धन दल माओवादी केन्द्र, लोसपाबाट अझै एक जना पनि सरकारमा सहभागी हुन सकेको छैन् । जसपाले मुख्यमन्त्रीसहित ४ वटा मन्त्रालय, माओवादीले दुई मन्त्रालय, एमालेले सभामुख सहित ३ मन्त्रालय, जनमतले उप सभामुख सहित २ मन्त्रालय र लोसपाले दुई मन्त्रालयको दाबी गर्दै आएको छ । प्रदेशमा मुख्यमन्त्रीसहित १० वटा मन्त्रालय मात्रै रहेको छ । यसरी सत्ता गबठन्धन दलबीच मन्त्रालय बाँडफाँटमा सहमति नभएपछि दलहरुले मन्त्रीहरुको नाम पनि अहिले सम्म चयन गर्न सकेको छैन ।

Comment

Related News

Latest News

Trending News